यी स्थानमा एक हप्ता दैनिक चार घण्टा विजुली अवरूद्ध हुन्छ

काठमाडौं । काठमाडौंका विभिन्न स्थानमा आइतबार (आज) देखि सात दिनसम्म बिजुली अवरूद्ध हुने भएको छ ।

विद्युत् प्राधिकरण अन्तर्गतको काठमाडौं उपत्यका पश्चिम वितरण प्रणाली सुदृढीकरण आयोजनाले सार्वजनिक गरेको सूचना अनुसार काठमाडौंका विभिन्न वितरण केन्द्र अन्तर्गतका विभिन्न स्थानहरूमा दैनिक चार घण्टा बिजुली अवरूद्ध हुने भएको हो ।

आयोजनाले विद्युतीय लाइन भूमिगत गर्ने कार्यका लागि ती क्षेत्रहरूमा बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत आपूर्ति बन्द हुने जनाएको छ । आज (आइतबार) जोरपाटी वितरण केन्द्रको डाँची फिडर अन्तर्गत मूलपानी पीपलबोटदेखि बाबा चोकसम्मको क्षेत्रमा विद्युत् अवरूद्ध हुनेछ ।

सोमबार कुलेश्वर वितरण केन्द्रको कालीमाटी फिडर अन्तर्गत रविभवनदेखि कलंकी मन्दिरसम्मको क्षेत्रमा विद्युत् अवरूद्ध हुनेछ । मंगलबार वानेश्वर वितरण केन्द्रको कोटेश्वर फिडर अन्तर्गत तीनकुने पुलदेखि महादेव खोला पुलसम्मको क्षेत्रमा विद्युत् अवरूद्ध हुनेछ । बुधबार कीर्तिपुर वितरण केन्द्रको कीर्तिपुर फिडर अन्तर्गतका पाँगा सडक क्षेत्रमा विद्युत् अवरूद्ध हुनेछ ।

विहीबार कुलेश्वर वितरण केन्द्रको ताहाचल फिडर अन्तर्गतका कालीमाटी चोक क्षेत्रमा विद्युत् अवरूद्ध हुनेछ । शुक्रबार वानेश्वर वितरण केन्द्रको बौद्ध क्षेत्रमा महाकाल फिडर अन्तर्गत पर्ने स्थानमा विद्युत् अवरूद्ध हुनेछ ।

शनिबार कीर्तिपुर वितरण केन्द्रको रोपवे र मच्छेगाउँ फिडर अन्तर्गतका नगाउँ क्षेत्रमा विद्युत अवरूद्ध हुने आयोजनाले जनाएको छ ।

विद्युत् प्राधिकरणले पनि आइतबार अर्को सूचना जारी गरेर बलम्बू वितरण केन्द्रको मातातिर्थ फिडर अन्तर्गत पर्ने मातातिर्थ क्षेत्रमा बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म विद्युत् अवरूद्ध हुने जानकारी दिएको छ ।

ती क्षेत्रमा हाइटेन्सन लाइन मर्मत र कन्डक्टर स्तरोन्नतिका लागि फिडर सटडाउनमा राख्नुपर्ने भएकाले विद्युत आपूर्ति बन्द रहने प्राधिकरणले जनाएको छ । समय अगाडि नै काम सकिएको अवस्थामा ५ बजेभन्दा अगाडि नै विद्युत् आपूर्ति सूरू गरिने प्राधिकरणले जनाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर