• २०८१ श्रावण ८ मंगलबार
  • Tuesday, 23 July, 2024

ललितकलाको महाउत्सव 

नेपाली ललितकला क्षेत्रमा राष्ट्रिय ललितकला प्रदर्शनीको विशेष महत्त्व रहेको छ । यसलाई नेपाली ललितकलाकर्मीहरूले उत्सवका रूपमा मनाउने गरेको पाइन्छ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको स्थापनादेखि गणना गर्ने हो भने मिति २०८१ जेठ १५ गते गणतन्त्र दिवसका दिनबाट सुरु भएको राष्ट्रिय ललितकला प्रदर्शनी १४ औँ राष्ट्रिय ललितकला प्रदर्शनी हो । १४ औँ राष्ट्रिय ललितकला प्रदर्शनीको छोटो चर्चा गर्ने प्रयास तल गरिएको छ । 

लेखक

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान ऐन २०६४ बाट स्थापित नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले ललितकलाको संरक्षण, संवर्धन, प्रवर्धन, प्रचार–प्रसार, अध्ययन–अनुसन्धान, गोष्ठी, अन्तक्र्रिया, कार्यशाला, प्रदर्शनीलगायतका कार्यहरू गर्दै आएको देखिन्छ । यही सन्दर्भमा नेपाली मौलिक कलाको संरक्षण, संवद्र्धन, प्रचार–प्रसार, कला र कलाकारको खोज, कला सिर्जनालाई स्थानीय तह, प्रदेश र केन्द्र हुँदै अन्तर्राष्ट्रिय तहमा समेत पहुँच कायम गर्ने र कला सिर्जनालाई सिपसँग जोड्दै रोजगार सिर्जना गरी उत्पादन बढाई देशको अर्थतन्त्रमा समेत योगदान पु¥याउने प्रतिष्ठानको रणनीतिक योजनाअनुरूप ‘सामाजिक रूपान्तरण ः ललितकलाको अभियान’ भन्ने मूल भावमा रही देशका सातै प्रदेशमा प्रादेशिक ललितकला प्रदर्शनी २०८० भएको थियो । सो प्रदर्शनीबाट छानिएर आएका र अप्रतियोगी कलाकारका कलाकृतिसमेत गरी ४८२ कलाकारका ५२२ कलाकृति राष्ट्रिय ललितकला प्रदर्शनी २०८१ मा राखिएको देखिन्छ । 

कला सशक्त विचार अभिव्यक्तिको माध्यम हो । लयात्मक, सिर्जनात्मक विधा कलामा चिन्तन र चेतना प्रकटीकृत हुन्छ । समाज र संस्कृति कलाविना अपुरो हुन्छ । यसैको जगमा समाज र संस्कृतिको निर्माण भएको पाइन्छ । कला केवल कलाका लागि मात्र होइन कला जीवनका लागि हुनुपर्छ भन्ने सैद्धान्तिक विचारमा अडिग रही प्रतिष्ठानले प्रादेशिक ललितकला प्रदर्शनी २०८० र राष्ट्रिय ललितकला प्रदर्शनी २०८१ को मूल नारा नै ‘सामाजिक रूपान्तरण ः ललितकलाको अभियान’ भन्ने राखेको देखिन्छ । 

कला सिर्जना केवल सौन्दर्यका लागि मात्र नभई कला यथार्थपरक, सामाजिक हितकर, गतिशील, लयात्मक पनि हुनुपर्छ अर्थात् कलाले मानवजीवनलाई सुन्दर बनाउन सक्नुपर्छ । समाजमा सकारात्मक परिवर्तन गर्न सक्नुपर्छ । यसै सन्दर्भमा प्राज्ञिक सिर्जनशील वर्ग ललितकलाकर्मीले पनि ललितकलाका मार्फत सामाजिक रूपान्तरणमा अग्रसर हुनुपर्छ भन्ने विचारलाई ‘सामाजिक रूपान्तरण ललितकलाको अभियान’ भनी जार्गन नै बनाई त्यही भावमा कलाकृति समावेश गर्न सार्वजनिक सूचनासमेत गरिएको थियो ।

राष्ट्रिय ललितकला प्रदर्शनी २०८१ लाई मिहिन ढङ्गले बुझ्न नेपालको तराई–मधेस, पहाड र हिमालमा विकसित विभिन्न संस्कृति, परम्परा र बहुजाति बहुभाषी नेपालीका विभिन्न संस्कार, संस्कृति, परम्परा, रीतिरिवाज, लोकपरम्परा, जनजीवन र तीसँग जोडिएका मिथक र किंवदन्तीका बारेमा थोरबहुत जानकारी हुनु वाञ्छनीय देखिन्छ । 

ललितकलाका परम्परागत चित्रकला÷मूर्तिकला, काष्ठकला, लोककला, हस्तकला, वास्तुकला तथा अन्य सिर्जनात्मक बहुआयामिक कला, समसामयिक मूर्ति तथा चित्रकला आदि कलाका विधामार्फत नेपाली समाज र विश्व परिवेशका विविध विषयवस्तुको चित्रण राष्ट्रिय ललितकला प्रदर्शनी २०८१ मा भएको छ । प्रदर्शनीमा हिन्दु, बौद्ध धर्म–दर्शनका दार्शनिक चिन्तनमा आधारित परम्परागत थाङ्का, पौभा चित्र,  परम्परागत काष्ठकला, मूर्तिकला, धातुकलाका साथै नेपालका राउटे, थारु, नेवार, किरात, लिम्बू, मैथिल, भोजपुरी, अवधी आदि समुदायका संस्कार, संस्कृति, जीवनपद्धति, कृषि, समाज, रीतिरिवाज, परम्परासँग जोडिएको मिथिला, थारु, अवधि, भोजपुरी, जैती, किरात, नेवार, तामाङलगायतका लोककला एवं हस्तकला एकातिर देख्न पाइन्छ भने अर्कातिर विश्व परिवेशका विविध विषयवस्तुका साथै समसामयिक नेपाली समाजका सामाजिक, आर्थिक, सांस्कृतिक, राजनीतिक, शैक्षिक, पारिवारिक, विकृति विसङ्गतिलाई हास्य व्यङ्ग्यात्मक रूपमा कार्टुन, समसामयिक चित्रकला तथा समसामयिक मूर्तिकलामार्फत प्रस्तुत गरिएको छ । 

समग्रमा प्रदर्शनीको  विषयवस्तुमा आधारित हुँदा हिन्दु तथा बौद्ध धर्मदर्शनमा आधारित विभिन्न देवीदेवताका चित्र तथा मूर्तिहरू परम्परागत चित्रकला तथा मूर्तिकला, काष्ठकलामा देख्न सकिन्छ । समसामयिक चित्रकला, मूर्तिकला, लोककला, वास्तुकला तथा अन्य सिर्जनात्मक (बहुआयामिक) कलामा नेपालका विभिन्न जातजाति, भाषाभाषीका विभन्न संस्कार, संस्कृति, सभ्यता, जनजीवन, पर्यावरणसँग जोडिएका विषयवस्तुहरूको उठान भएको छ । क्यारिकेचरमा प्रसिद्ध व्यक्तिहरूको क्यारिकेचर गरिएको छ भने कार्टुनमा नेपालको सामाजिक, सांस्कृतिक, धार्मिक, राजनीतिक, आर्थिक, शैक्षिक विकृतिविसङ्गति, अन्याय, अत्याचार, लैङ्गिक, जातीय विभेद आदिलाई हास्यव्यङ्ग्यात्मक रूपमा प्रस्तुत गरिएको छ । प्रदर्शनीमा वर्गीय असमानता, लैङ्गिक विभेद, पारिवारिक वियोग, वैदेशिक यात्रा, रित्तिँदो गाउँबस्ती, बाँझो खेतबारी, पर्यावरणीय सचेतना, आजको वैज्ञानिक उन्नतिले देखापरेका जटिलभन्दा जटिल मानसिक तनाव, अशान्ति, दुःख, सङ्घर्ष, पश्चात्ताप, मानसिक पीडा सभ्यता, संस्कृति, राष्ट्र, राष्ट्रियता, मातृत्व, कोरोना कहर र बाध्यता, अभिव्यक्ति स्वतन्त्रतामा बन्देज, अमूर्त चिन्तन, शस्त्रअस्त्र, युद्धजन्य पीडा, आतङ्कजस्ता विषयवस्तुमा केन्द्रित कलाकृति प्रदर्शनीमा राखिएको छ । 

फोटोग्राफीमा कलाकारहरूले पर्यावरणीय स्वच्छता, महिला सशक्तीकरण, निरङ्कुश चरित्रको भत्र्सना एवम् अभिव्यक्ति स्वतन्त्रता, अतिले निम्त्याउने खती, नेपाली महिलाका पहिरन, वेशभूषा, आभूषण, ग्रामीण परिवेश, तनाव मुक्तिका लागि प्रकृतिको शरण, आस्था, प्राकृतिक स्वर्ग, अध्ययनप्रतिको रुचि र प्रविधिसँगै शिक्षामा आएको परिवर्तन, कृषि तथा ढुवानीका लागि गोरुगाडाको प्रयोग, झोलुङ्गेपुल र पर्यावरणीय सौन्दर्य, जीवनपद्धति, वैदेशिक अध्ययन तथा रोजगारको यात्राले भरिभराउ एयरपोर्ट, रुखका हाँगासँग सङ्घर्ष गर्दै गरेका सुदूरपश्चिम, कर्णालीका आमाहरूका कथा, जीवन सङ्घर्ष, श्रमिक मजदुरका व्यथा, गङ्गेटिक डल्फिन, स्वतन्त्रता र भय, आत्मचित्रण, संस्कार÷संस्कृति, बन्धन, नेपाली संस्कृतिलगायतका विषयलाई स्थान दिएका छन् । 

प्रतिस्थापन कलामा कलाकारहरूले भिन्न भिन्न भाषाको आफ्नै वैशिष्ट्य, भाषाद्वारा स्थापित पहिचान, धार्मिक÷सांस्कृतिक आस्था, जीवनपद्धति, डुङ्गा र सिक्कासँग जोडिएका जीवनका स्मृतिहरू, सीमा नाकाहरूमा हराउँदै र खुम्चिँदै गएको दशगजाका खम्बालाई एक बरफिलो विलापद्वारा प्रस्तुति, मरिलानु के छ र ? शीर्षकको प्रतिस्थापन कलामा वेदान्त दर्शनको ब्रह्म सत्यं जगत् मिथ्याको सिद्धान्त अवलम्बन गरिएको छ । शरीर क्षणभङ्गुर, नाशवान् रहेको वस्तुसत्य देखाइएको छ । इच्छा, ज्ञान र प्रयासले मानिसलाई गतिशील बनाए तापनि मानिसको जीवन कहाँ कसरी टुङ्गिन्छ थाहा हुँदैन । ईष्या, मोह, आशक्ति, घमण्ड, अहङ्कार, धनसम्पत्ति, पद, उपाधि, मान–सम्मान र पुरस्कारको रबाफ देखाउनु बेकार छ ।

अनात्म शरीरमा आत्मबुद्धि र सांसारिक भोगका लागि दुष्कर्म त्याज्य छ । संसारमा धेरैभन्दा धेरै आर्थिक, भौतिक उन्नति गरेका मानिसहरू पनि अन्ततः मरेर गएका छन् । मृत्युको कुनै समय रेखा देखिँदैन । यसले बाल्य, यौवन र वृद्ध केही पनि भन्दैन । तसर्थ सप्रेम, सद्भावयुक्त जिन्दगी जिउनुपर्छ र जीवनलाई सार्थक गर्नुपर्छ भन्ने भाव उक्त कलाकृतिमा प्रस्तुत भएको छ । 

पर्फमेन्स आर्टमा मानिसका अन्तर्निहित महत्तम वस्तुहरूको खोजी, जीवनका लागि पर्यावरणीय स्वच्छताको वकालत तथा आत्मदृष्टि, समभावको चिन्तन प्रस्तुत गरिएको छ । क्यारिकेचरमा समाजका प्राज्ञिक, धार्मिक क्षेत्रका विशिष्ट महानुभावहरूको चित्रण छ भने कार्टुनमा राजनीति पहुँचका आधारमा अस्तव्यस्त बन्दै बएको न्यायलय, औद्योगिक प्रदूषण, धुलो, धुवाँ आदिका कारण कालापत्थर हुँदै गएका हिमाल, जलवायु परिवर्तन, संस्कृतिको क्षयीकरण, अभिव्यक्ति स्वतन्त्रतामा लागेको बन्देज, चाप्लुसी लोकप्रियतावाद, वैदेशिक रोजगारमा जानुपर्ने बाध्यता, युवाशक्तिको पलायनमा चासो र चिन्ता नभएको नेतृत्व वर्ग, स्वार्थमुखी नेता, बेरोजगारी र वैदेशिक यात्रा, भ्रष्टाचार, माफिया, बिचौलिया, दलालले देशको अर्थतन्त्रमा पु¥याएको क्षति, मिटरब्याजी, सहकारी पीडितका व्यथा, आकासिँदो बजार भाउ जस्ता विषयवस्तुले स्थान पाएका छन् । 

समसामयिक चित्रकलामा कलाकारहरूले नेपाली समाजको चित्रण, हिन्दुु, बौद्ध धर्मका धार्मिक देवीदेवताको चित्रण, प्रसिद्ध ऐतिहासिक मठमन्दिर, गुफा चैत्य आदिको चित्रण, नेपालका पर्यटकीय क्षेत्रहरूको चित्रण, पर्यावरणीय सौन्दर्य, नेपलाका विभिन्न जातजातिका संस्कार, संस्कृतिसँग सम्बन्धित दृश्यचित्र÷पात्र÷नाच आदिको चित्रण, आशा, मातृस्नेह, जीवनका सङ्घर्ष, निश्चल ज्ञान, शान्ति, कलाकार र कलाकारिता, अस्तित्व, शक्ति÷ऊर्जा, मानव सृष्टिका चरण, महिला हिंसा, आत्मपहिचान, खुसीको हरण, धार्मिक आस्था, प्राकृतिक सौन्दर्य, श्रम र रोजगारका लागि युवाशक्तिको वैदेशिक यात्रा, रित्तिँदो गाउँ, हराउँदो संस्कार, संस्कृति र मौलिकपन, बालापनका स्मृतिहरू,  कुमारी÷महिलाप्रतिको सम्मान त्यससँग जोडिएको रीतिरिवाज, नेपालीका विभिन्न जातजातिका जीवनशैली, वेशभूषा र संस्कृति, पशुपन्छीमा रहेको प्रेम, मातृप्रेम, सामाजिक सञ्जालको दुरुपयोग, धूमपान, मद्यमान, वासनाजन्य प्रेमले निम्त्याएको जटिल मानसिक विचलन, सामाजिक जागरण, श्रम र श्रमिकप्रतिको सम्मान, अभिव्यक्ति स्वतन्त्रता, शिक्षा, वैदेशिक यात्राले रित्ता भएका गाउँघर र लोप हुँदै गएको स्वकीय मौलिकता, उत्साह, जागरण, नेपाललाई विश्वमाझ चिनाउने जीव, जनावर, पशुपन्छी, मानसिक एकाग्रता, द्वैधचरित्र, महिला सशक्तीकरण, भाषा एवं लिपिको महत्ता, बुढ्यौली अवस्था, अमेल सामाजिक, राजनीतिक वातावरण र असीमित आकाङ्क्षा, प्रकृति, अभिव्यक्ति स्वतन्त्रतामा बन्देज एवं आवाज दबाइनु, अस्थिर एवं अस्पष्ट छायाचित्र, प्रेम, सिप, श्रम र श्रमिक, सिर्जना, उत्पादन, स्वतन्त्र न्यायप्रणाली, विभिन्न नेपाली वाद्यवादन, शक्तिसङ्घर्ष, स्वदेश, स्वसंस्कृति, स्वभाषा स्वकलामा फर्कनका लागि आह्वान, आजको पुस्ताको रबाफिलो जीवनशैली, पर्खाको निराश जिन्दगी, उत्पादनमा ह्रास, खाद्य सङ्कट, कुपोषण, दार्शनिक चिन्तन, ग्रामीण जनजीवन, विचलित मानसिकता, अमूर्तपनजस्ता विषयवस्तुलाई रङ र रेखाका माध्यमबाट चित्रण गरेका छन् । 

नेपालका विभिन्न जातजाति र भाषाभाषीका संस्कार, संस्कृति, रीतिरिवाज, परम्परासँग जोडिएका मिथिला, थारु, अवधी, भोजपुरी, जैती, किरात, तामाङ, नेवारलगायतका लोककलाहरू चित्रण भएका छन् । जसमा मिथिला समाजका जनजीवन, रामसीता विवाह, मत्स्य अरिपन, नारी सौन्दर्य, महिला हिंसा, महिला सशक्तीकरण, जनकपुत्री सीताको महत्ता, ग्रामीण जीवन, मोक्ष, सीता वनवास, अस्टिम्की, पर्यावरण, महिलाशक्ति, मधेसी विवाह, परम्परा, दशावतार, मिथिला मण्डल, राधाकृष्ण, हात्ती (पुलु किसी), लेखा द्वा (द्वार), करवाचौथ, विभिन्न वाद्यवादन, जीवजनावर, पशुपन्छी, सीताजन्म, कृषि, गोवद्र्धन पर्वत, सोहरही, जैतीका विषयवस्तु चित्रण भएका छन् । 

हस्तकलामा नेपालका हिन्दु, बौद्ध धर्म दर्शनका चिन्तनमा आधारित विभिन्न  सन्दर्भ  र नेपालका विभन्न जातजाति, भाषाभाषीका संस्कार, संस्कृति, परम्परा, रीतिरिवाज, चाडपर्वसँग जोडिएका किरात, तामाङ, मिथिला, थारु, अवधी, भोजपुरी, नेवारलगायतका नेपाली मौलिक रैथाने हस्तकलाहरू चित्रण भएका छन् । यी हस्तकलाहरू सौन्दर्यका लागि मात्र नभई उपयोगिता र अर्थोपार्जनका दृष्टिले समेत महत्त्वपूर्ण मानिन्छन् । कालचक्र, झुमर, अन्टी पानस, छत्री, डलिया, अल्लो, काँसको ढकिया, मण्डला, छवाली निर्मित जानकी मन्दिर, काँसको डेलवा र चकटी, थाकालको पात निर्मित ब्याग, टोपी आदि, अल्लो निर्मित बेल्ट, पर्स, मास्क, काँस निर्मित ज्वेलरी, बक्स र गमला, छवाली निर्मित सिर्जना, ढकिया, बोराए, पन्छोप्नी, सिरक्टा, घेन, सल, चोया निर्मित बुनछत, थारु संस्कृतिका हस्तकला, विजय सालका ठेकी, कलात्मक ऐना, टङ्गी, डेलवा, कताक्षर, बेतवाँस, दुल्हा बेना र टुकली नुइया, डोली, काँस निर्मित चप्टामार, झोपा, बेरा, चक्रसंवर, तोङ्वा, लेहँगा र कुर्ता, काँसको मुज, घाँघरिया, दियो, नेपाली कागज निर्मित देवीदेवता, ढकनी, पेन होल्डर, बाबियो निर्मित सारस जोडी यस्ता नेपालका विभिन्न जातजातिका स्वकीय संस्कार, संस्कृतिमा प्रयोग हुने हस्तकला र दैनिक उपयोगीमूलक कलात्मक हस्तकलालाई नेपाली ब्रान्ड बनाएर विश्वबजारमा लैजाँदा एकातिर प्लास्टिकजन्य वस्तुले पर्यावरणमा पारेको असरलाई केही हदसम्म न्यूनीकरण गर्न सकिन्छ भने अर्कातिर नेपाली कलाको मौलिकपन बच्नुका साथै रोजगारी सिर्जना भई देशको अर्थतन्त्रमा सहयोगसमेत पुग्ने छ । 

परम्परागत चित्रकला (थाङ्का÷पौभा) तथा मूर्तिकलामा हिन्दु, बौद्ध धर्मदर्शनका दार्शनिक चिन्तनका साथै विभिन्न देवीदेवताको चित्रण भएको छ । शास्त्रीय सिद्धान्त, विधिपद्धतिलाई अनुसरण गरी यस किसिमको चित्र÷मूर्ति बनाइन्छ । यसमा अलङ्कार, रूपप्रधानता, वर्णन, प्रतीकका साधनहरूलाई विशेष ख्याल गरिन्छ । विशेषतः परम्परागत चित्र तथा मूर्तिमा प्रतिमालक्षण, वाहन, गहना, आयुध, मुद्रा, जीवजन्तुका प्रतीकको अर्थसन्दर्भ, दिशाआदिलाई विशेष ख्याल गरिएको पाइन्छ । यस प्रदर्शनीमा प्रदर्शित चित्र तथा मूर्तिमा पनि सो सचेतता देखाइएको छ । परम्परागत चित्र तथा मूर्तिका सवालमा शास्त्रीय ज्ञान  अनिवार्य चाहिन्छ तर नेपाली सन्दर्भमा यस्ता परम्परागत चित्र तथा मूर्ति शास्त्रीय ज्ञानभन्दा पनि पुख्र्यौली वंश ज्ञानपरम्परामा आजसम्म आइरहेको पाइन्छ । यसलाई नेपालका ललितकला शिक्षणका निकायहरू, ललितकला प्रज्ञा–प्रतिष्ठान र कलासरोकारी सङ्घसंस्था र व्यक्तिव्यक्तित्वहरूले गहन ढङ्गबाट छलफल गरी शास्त्रीय सिद्धान्तलाई पनि पुनः सबलीकृत गर्नु आवश्यक हुन्छ । 

समसामयिक मूर्तिकलामा कलाकारहरूले ध्यान, मनोविज्ञान, आत्म निरीक्षण, अन्तरसम्बन्ध, सुन्दर सृष्टि र मिसाइल, गन्र्धव संस्कृति, प्रकृति, वैदेशिक रोजगारले निम्त्याएका जटिलता र मृत्यु, नारी शक्ति, सङ्घर्ष, सौन्दर्य, भूकम्प पीडतका दर्दनाक पीडा, ऐतिहासिक पात्र र सन्दर्भ, बन्धन, नेपाली परिवेश, कृषि, सामाजिक सञ्जाल, आजको पुस्ता र अध्ययनको यथार्थ पाटो, चरा, जीवन सङ्घर्ष, कोरोना कहरको सन्दर्भ, जात्रा, नेपाल आमा, देशभक्ति, गन्तव्यहीन यात्रा, सहयात्रा जस्ता विषयसन्दर्भलाई कलात्मक ढङ्गबाट देखाएका छन् । 

प्रदर्शनीको क्युरेटिङ प्रतिष्ठानका प्राज्ञसभा सदस्य प्रदीप शाक्यका समूहले गरेका हुन् । प्रतिष्ठानको अरनिको कक्ष, चन्द्रमान मास्के हल, नयाँ हल र खुला चउर गरी चार स्थानमा फैलिएको प्रदर्शनीलाई क्युरेटिङ समूहले प्रदर्शनीको मूल भावमा आधारित भई स्वस्तिक आकारमा निर्माण गरेका छन् । शाक्यले स्वस्तिकका चार कोणलाई साधना र साधन, स्वरूपान्तरण, सामाजिक रूपान्तरण, अनन्त रूपान्तरणका रूपमा हेरेका छन् । 

प्राज्ञसभा सदस्य प्रदीप शाक्यद्वारा नमुना निर्मित राष्ट्रिय ललितकला प्रदर्शनी २०८१ को प्रतीक चिह्न लोगोमा सातओटा रङको प्रयोग भएको छ । जसबाट देशको सातै प्रदेशको सहकार्यात्मक सम्बन्धलाई देखाइएको छ । नेपाली ललितकलाको विकास सातै प्रदेशको ललितकलाको विकासबाट मात्र सम्भव छ । प्रदेशभित्र छरिएर रहेका ललितकलाको खोज, अध्ययन, अनुुसन्धानविना नेपाली ललितकलाले समग्र विकास हुन नसक्ने र विश्व परिवेशमा समेत नेपाली कलाको पहुँच स्थापित हुन सक्दैन । तसर्थ नेपाली कलालाई स्थानीय तह, प्रदेश र केन्द्र हुँदै अन्तर्राष्ट्रिय बजारमा समेत पहुँचयुक्त बनाउनुपर्ने चिन्तनलाई लोगोमार्फत प्रकट गरिएको छ ।  

आवरण पृष्ठबाहेक २२२ पृष्ठमा कलाकारको परिचय र कलाकृति, सम्मानित पुरस्कृत व्यक्तिहरूको सङ्क्षिप्त विवरणसहित राष्ट्रिय ललितकला प्रदर्शनी २०८१ को क्याटलग प्रकाशित भएको छ । जसमा विभागीय भनाइका साथै उपकुलपति एवं राष्ट्रिय ललितकला प्रदर्शनी २०८१ का कार्यकारी समितिका संयोजक लालकाजी लामाको पुनर्जागरणको यात्रा शीर्षकको प्रदर्शनीसम्बन्धी विचार र प्रतिष्ठानका प्रमुख संरक्षक, संरक्षक र कुलपतिको शुभकामना सन्देश रहेको  छ । 

सर्वोत्कृष्ट राष्ट्रिय ललितकला पुरस्कार, विधागत राष्ट्रिय ललितकला पुरस्कार, प्रादेशिक उत्कृष्ट पुरस्कार, प्रादेशिक विधागत पुरस्कार, प्रादेशिक विद्यार्थी ललितकला पुरस्कार, अरनिको राष्ट्रिय ललितकला प्रज्ञा–सम्मान, ललितकला प्रर्वधन सम्मान, राष्ट्रिय ललितकला लेखन पुरस्कार, सहिद कलाकार अनिल लामा स्मृति पुरस्कार, सहिद कलाकार बाबुराम लामा स्मृति पुरस्कार, राष्ट्रिय ललितकला पत्रकारिता पुरस्कार गरी ६६ ओटा पुरस्कार राष्ट्रिय ललितकला प्रदर्शनी २०८१ मा प्रदान गरिएको देखिन्छ । जसबाट नेपाली ललितकलाको क्षेत्रमा लामो समयदेखि अध्ययन–अनुसन्धान, खोज, गर्नेहरूप्रति सम्मान र नयाँ पुस्ताका ललितकलाकर्मीमा हौसला, प्रेरणा बढ्ने देखिन्छ । 

परम्परागत मूर्तिकला तथा चित्रकला व्यावसायिक हिसाबले आज पनि अब्बल छ तर सांस्कृतिक र पुख्र्यौली परम्परामा हुर्किरहेको र आजसम्म रहिरहेको परम्परागत शास्त्रीय चित्रकला र मूर्तिकलाका पाटामा विशेष सैद्धान्तिक ज्ञानसहितको प्रशिक्षण आवश्यक देखिन्छ नत्र नेपाली मौलिक, रैथाने ज्ञान, कला, सिप, सिर्जनालाई जीवन्त बनाउन सकिँदैन ।  

समसामयिक चित्रकलामा शीर्षकअनुरूपका कतिपय चित्रहरू बन्न सकेका छैनन् । रङ र रेखाका माध्यमबाट कुनै पनि समाजको विषयवस्तुको चित्रण गर्नुपूर्व त्यस समाजका बासिन्दाका विस्तृत विवरण संस्कार, संस्कृति, सभ्यता, जनजीवन, पर्यावरण, जीवनशैली, रहनसहन आदिको वस्तुसत्यतालाई बुझ्नुपर्दछ । अन्यथा कलाकृति भद्दा हुन पुग्छ । कसैको संस्कार, सभ्यता र संस्कृतिमाथि चोट पुग्न सक्छ । नकारात्मक धारणा निर्माण हुन सक्छ । यस विषयमा ललितकलाकर्मी स्वयम् सचेत हुनुपर्छ । 

निष्कर्षतः राष्ट्रिय ललितकला प्रदर्शनीले बहुजाति, बहुभाषी, बहुसंस्कृति मुलुक नेपालमा रहेका विभिन्न लोककला, परम्परागत चित्र तथा मूर्तिकला, हस्तकला, काष्ठकला, धातुकला, वास्तुकलालगायका कलामा पुनर्जागरण ल्याउने काम गरेको छ । दूरदराजमा कलासाधना गरिरहेका भुईँमान्छेका कलालाई मूलधारमा ल्याउने प्रयत्न गरेको छ । सिप र सिर्जनालाई तादात्म्य गरी नेपाली मौलिक कलाको जर्गेना गर्ने र त्यसबाट रोजगारी सिर्जना गरी उत्पादन वृद्धि गर्ने र देशको अर्थतन्त्रमा योगदान पु¥याउने कार्यमा पनि यस प्रदर्शनीको विशेष भूमिका रहने वस्तुसत्यलाई नकार्न मिल्दैन । प्रदर्शनीमा नवपुस्ता र विद्यार्थीहरूको धेरैभन्दा धेरै सहभागिताले पनि आगामी नेपाली ललितकलाको यात्रा समृद्धि उन्मुख भएको देखाउँछ तर कलाशिक्षालाई व्यवस्थित र सुलभ बनाउन नेतृत्व वर्ग लाग्नुपर्ने देखिन्छ ।

मूलतः कलामार्फत सामाजिक जागरण, संस्कार, संस्कृतिको रक्षा, नेपाली मौलिक सिप र सिर्जनालाई स्थानीय तह, प्रदेश र केन्द्र हुँदै विश्वबजारमा पहुँचयुक्त बनाउन र ब्रान्डिङ गर्न, सबै प्रकारका विभेद एवम् अन्याय, अत्याचार, कुरीति, कुनीति, भ्रष्टाचार, विकृतिविसङ्गतिका विरुद्ध क्यानभास, रङ, रेखा, माटो, धातु, काठ आदि विविध ललितकलाका साधनद्वारा सभ्य, सुसंस्कृत र पारस्परिक सद्भावयुक्त राष्ट्र निर्माणका लागि राष्ट्रिय ललितकला प्रदर्शनी २०८१ ले सशक्त भूमिका खेलेको छ ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर