• २०८१ श्रावण ८ मंगलबार
  • Tuesday, 23 July, 2024

सरकारी अस्पतालको जड: अनुदानका उपकरण गोदाममा, बिरामी महँगो अस्पतालमा 

काठमाडौं । सरकारी बजेट र दातृ निकायको अनुदानबाट खरिद गरी मुलुकका १ सय १२ वटा अस्पताल र स्वास्थ्य केन्द्रमा वितरण गरिएका साढे चार सयभन्दा बढी स्वास्थ्य उपकरण प्रयोग नै नभई वर्षौंदेखि थन्किएका छन् । स्वास्थ्य सेवा विभागले विभिन्न अस्पतालमा वितरण गरेका भेन्टिलेटर, हेमोडायलसिस, मनिटर, इन्डोस्कोपी, अक्सिजन प्लान्ट, मोबाइल एक्स–रे, अटोक्लेप, इन्फ्युजन पम्प, बेबी वामर, पोर्टेबल यूएसजी, आईसीयूका सहित २० थरीका उपकरण प्रयोगविहीन बनेका हुन् ।

दाताले दिएका र सरकारले खरिद गरेका १८९ भेन्टिलेटर, ५१ हेमोडायलसिस मेसिन, ८७ सीपीएपीरबीआईपीएपी (भेन्टिलेटर) लगायत ४५३ उपकरण विभिन्न अस्पतालमा प्रयोगविहीन, निजी अस्पताल जान नसक्ने बिरामी महिनौं लाइनमा ।

विभागले २०७६ देखि २०८० सम्म सातवटै प्रदेशका प्राथमिक स्वास्थ्य केन्द्र, जिल्ला, प्रदेश र ठूला अस्पतालमा वितरण गरेका स्वास्थ्य उपकरण अलपत्र परेका हुन् । कतै उपकरण थन्किएका छन् भने कतै बिरामीको उपचारमा उपकरण अभाव देखिएको छ ।

रुकुम पश्चिमस्थित जिल्ला अस्पतालमा दुई शय्याको भेन्टिलेटर र ६ शय्याको आईसीयू जडान गरिएको छ । दुई विशेषज्ञ चिकित्सक र ११ मेडिकल अधिकृत कार्यरत अस्पतालमा दैनिक ३ सय बिरामी आउँछन् । दैनिक ७ जनासम्म बिरामी भेन्टिलेटरमा राखेर उपचार गर्ने खालका आउँछन् । तर दक्ष जनशक्ति अभावमा ती उपकरण थन्किँदा बिरामीलाई अन्यत्र रेफर गर्नुपर्ने बाध्यता रहेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष टेकबहादुर कुसारीले बताए ।

‘भेन्टिलेटरमा राख्ने खालका बिरामी त आउँछन्, तर त्यसले काम दिइरहेको छैन,’ उनले भने, ‘जटिल समस्याका बिरामीको संख्या बढेको बढ्यै छ, तर उपकरण भएर पनि थन्क्याउनुपरेको छ ।’ कतै दक्ष जनशक्ति तथा पूर्वाधार अभाव, कतै नियमित सञ्चालन तथा मर्मत नभएको, केही स्वास्थ्य निकायमा पुरानो उपकरण दिइएको र केही स्वास्थ्य केन्द्रमा बढी उपकरण जडान गर्दा प्रयोगमा आउन नसकेका हुन् ।

विभागको तथ्यांकअनुसार १ सय ८९ वटा भेन्टिलेटर, ५१ हेमोडायलसिस, ४ एक्स–रे, ९ बायोकेमेस्ट्री एनालाइजर, ४ पोर्टेबेल यूएसजी, ६ इन्डोस्कोपी, ६ फोटोग्राफी मेसिन, ८७ सीपीएपीरबीआईपीएपी ९भेन्टिलेटर०, ८ अटोक्लेप मेसिनलगायतका उपकरण प्रयोगविहीन छन् ।

वीर अस्पतालमा ५६, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ७, झापाको दमक अस्पतालमा ५, इलाम जिल्ला र कोशी अस्पतालमा २र२, डडेलधुराको जोगबुडा अस्पताल, मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर र सोलुखुम्बु अस्पतालमा १र१ वटा भेन्टिलेटर प्रयोगविहीन अवस्थामा छन् ।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र भेरी अस्पतालमा ७र७, भरतपुर अस्पतालमा ५, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, दमक अस्पताल, कोशी अस्पताल, पर्साको ठोरी गाउँपालिका र काभ्रेको मेथिनकोट अस्पतालमा २र२, जाजरकोटको छेडागाड नगरपालिका, इलाम जिल्ला अस्पताल, सर्लाहीको लालबन्दी नगरपालिका, जाजरकोटको नलगाड नगरपालिका र लुम्बिनीको गौतम बुद्ध अस्पतालमा १र१ वटा पोर्टेबल भेन्टिलेटर थन्किएका छन् ।

त्रिवि शिक्षण अस्पतालमा ८, सुदूरपश्चिमको सेती प्रादेशिक अस्पताल र काठमाडौंको सिभिल अस्पतालमा २र२, कोशीको दमक अस्पताल र सप्तरीको गजेन्द्रनारायण सिंह अस्पतालमा १र१ वटा आईसीयू भेन्टिलेटर अलपत्र छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ३ वटा केयर भेन्टिलेटर पनि प्रयोगमा आउन सकेको छैन ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ६, वीर, डडेलधुरा अस्पताल, धनकुटा अस्पताल, संखुवासभा जिल्ला अस्पताल, मोरङको रंगेली र कैलालीको टीकापुर अस्पतालमा ५र५, बाराको महागढीमाई नगरपालिका, बाराकै सिम्रौनगढ नगरपालिकामा ३र३, कान्ति बालमा २, सोलुखुम्बुको सोताङ गाउँपालिका र बर्दिया जिल्ला अस्पतालमा १र१ वटा हेमोडायलसिस मेसिन प्रयोगविहीन अवस्थामा छन् ।

थन्किएर बसेको हेमोडायलसिस मेसिन सिभिल अस्पतालले भने सोमबारदेखि सञ्चालनमा ल्याएको छ । सिभिल अस्पतालका निर्देशक डा। विधाननिधि पौडेलले स्थापना गर्न समय लागेकाले सञ्चालनमा ल्याउन ढिलाइ भएको बताए ।

त्यस्तै, बागलुङ अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, भरतपुर महानगरपालिका, बर्दियाको राजापुर र ठाकुरबाबा नगरपालिका, स्याङ्जाको गह्रौं घ्याङ्लिङ प्राथमिक स्वास्थ्य केन्द्र, नवलपरासीको दुम्कौली प्राथमिक स्वास्थ्य केन्द्र र वाग्मती प्रदेशको विष्णुदेवी अस्पतालमा अटोक्लेप मेसिन अलपत्र छन् । बबई गाउँपालिका दाङ, मिक्लाजुङ गाउँपालिका पाँचथर, पाख्रीबास आधारभूत अस्पताल धनकुटा र लुम्बिनी प्रदेशको श्रीगाउँ प्राथमिक स्वास्थ्य केन्द्रमा मोबाइल एक्स–रे थन्किएका हुन् ।

मेसिन थन्किँदा सामान्यदेखि दीर्घ तथा घातक रोग लागेका बिरामीसम्मले उपचार पाउन सकेका छैनन् । जिल्लामै उपचार गराउन सक्ने बिरामीहरू प्रदेशस्तरीय तथा राजधानीका अस्पतालसम्म धाउन बाध्य छन् । दुवै मृर्गौलामा खराबी देखिएर उपचारका लागि काठमाडौं आएका दैलेखका जोगबहादुर शाही डायलसिस गराउन वीर अस्पतालमा तीन दिनदेखि पालो कुरिरहेका छन् । आइतबार हेमोडायलसिस युनिटमा भेटिएका उनले भने, ‘यसअघि बिग्रिएको फिस्टुला बनाउन आउँदा पनि चापका कारण सास्ती खेप्नुपर्‍यो, अहिले पनि समयमा डायलसिस गराउन नसकेपछि वाकवाकी लाग्ने, खाना नरुच्ने, सास फेर्न गाह्रो हुन थालेको छ ।’ वीरमै डायलसिसका ६ वटा मेसिन थन्किएका छन् ।

वीर अस्पताल प्रशासनका अनुसार शाही जस्तै अस्पतालमा डायलसिस गराउन पालो कुर्ने मृर्गौलापीडित करिब २ सय छन् । रेफरल अस्पतालका रूपमा रहेको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र त्रिवि शिक्षण अस्पतालमा पनि डायलसिसका लागि शय्या पाउन कठिन छ ।

वीर अस्पतालका निर्देशक डा। सन्तोष पौडेलले जनशक्ति अभावका कारण भेन्टिलेटर, हेमोडायलसिस मेसिन सञ्चालनमा ल्याउन नसकेको बताए । ‘६० बेडका सबै आईसीयू सञ्चालनमा ल्याउन सकेको भए भेन्टिलेटर प्रयोगमा ल्याउन सकिन्थ्यो,’ उनले भने, ‘२५ बेडको आईसीयू मात्र सञ्चालनमा छ ।’ उनले करारमा केही नर्सिङ जनशक्ति थपेर प्रयोगविहीन उपकरण सञ्चालनमा ल्याउने तयारी भइरहेको बताए ।

त्रिवि शिक्षण अस्पतालका निर्देशक डा. दिनेश काफ्लेले विभागबाट प्राप्त भेन्टिलेटर पुरानो मोडेलको भएको र सञ्चालनमा ल्याउन सबै मेसिनरी सामान पनि नभएकाले समस्या भएको बताए । ‘अपरेसन गरिसकेका बिरामी राख्न भेन्टिलेटरको प्रयोग बढी हुन्छ,’ उनले भने, ‘२र४ वटा ब्याकअपका लागि पनि चाहिन्छ, तर मेसिन जडान गर्नै समस्या छ ।’ कतिपय अस्पतालमा आवश्यकभन्दा बढी उपकरण रहेकाले ती उपकरण फिर्ता ल्याएर अभाव भएका अस्पतालमा वितरण गर्न स्वास्थ्य सेवा विभागले पहल गर्नुपर्ने उनको सुझाव छ ।

स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाका निर्देशक डा. श्रवणकुमार थापाले विभिन्न कारणले उपकरण प्रयोगविहीन भए पनि अस्पतालले हस्तान्तरण गर्न नमानेको बताए । ‘नचलेको ठाउँको उपकरण आवश्यक परेको ठाउँमा पठाउन कार्यविधि बनाउने तयारीमा छौं,’ उनले भने, ‘चलाउन सक्ने क्षमता भएका कतिपय अस्पताललाई सञ्चालनमा ल्याउन पत्राचार गरिसकेका छौं ।’

कर्णालीका २ अस्पतालमा मात्रै आईसीयू–भेन्टिलेटर

एकातिर धेरै स्वास्थ्य उपकरण विभिन्न अस्पतालमा थन्किएर रहेका छन् भने विकट कर्णालीका २ अस्पतालमा मात्र आईसीयू–भेन्टिलेटर छ । रुकुम पश्चिमस्थित जिल्ला अस्पतालमा २ शय्याको भेन्टिलेटर र ६ शय्याको आईसीयू छ । अस्पतालमा दैनिक ३ देखि ७ जना बिरामी भेन्टिलेटरमा राखेर उपचार गर्ने खालका आउँछन् । सल्यान जिल्ला अस्पतालमा पनि २ करोड ५८ लाख रुपैयाँमा जडान गरिएको ६ शय्याको भेन्टिलेटर र २ शय्याको आईसीयू अलपत्र परेको झन्डै ३ वर्ष बित्यो ।

‘आईसीयू र भेन्टिलेटर सञ्चालनका लागि दुई जना मेडिकल अफिसर र दुई नर्सलाई एक साताको तालिम दिए पनि पर्याप्त भएन,’ अस्पतालका प्रमुख डा. अर्जुन बुढाले भने, ‘उपकरण पनि पर्याप्त छैनन् ।’ उनका अनुसार कोरोना महामारीका बेला केही भेन्टिलेटर र आईसीयू सञ्चालनमा ल्याइएको थियो । सल्यानबाट पनि सातामा १० जनासम्म जटिल अवस्थाका बिरामी रेफर भइरहेका छन् ।

कोरोना महामारीमा कर्णाली सरकारले जिल्लाहरूमा ६२ आईसीयू र २६ भेन्टिलेटर स्थापना गरेको थियो । तर प्रदेश अस्पताल सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाबाहेक कर्णालीका ८ जिल्लाका उच्चस्तरीय प्रविधि र उपकरण अहिले प्रयोगविहीन छन्, जसका कारण बिरामी रेफर गर्नुको विकल्प नभएको सल्यान अस्पताल प्रमुख डा। बुढाले बताए । ‘भेन्टिलेटर र आईसीयू सञ्चालनका लागि त्यसअनुसार औषधि पनि चाहिन्छ,’ उनले भने, ‘भेन्टिलेटरमा स्वास्थ्यकर्मी र चिकित्सक चौबिसै घण्टा खटिनुपर्ने हुन्छ, तर जनशक्ति पर्याप्त छैन ।’ भेन्टिलेर तथा आईसीयू सञ्चालन नहुँदा सरकारी बजेट दुरुपयोग भएको सल्यान खलंगाका कमल शर्माले बताए । ‘जिल्लामै उपचार सेवा प्रभावकारी नहुँदा ऋण लिएरै भए पनि उपचारका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता छ,’ उनले भने ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार जुम्लास्थित प्रतिष्ठानको शिक्षण अस्पताल र सुर्खेतस्थित प्रदेश अस्पतालमा विभिन्न जिल्ला अस्पतालबाट दैनिक ४० जनासम्म बिरामी रेफर भएर आउँछन् । ‘त्यत्तिकै संख्यामा नेपालगन्ज र काठमाडौंमा पनि बिरामी रेफर भइरहेका छन्, जनशक्ति व्यवस्थापन हुन सके दुर्घटनाका गम्भीर घाइतेबाहेक अरूको उपचार जिल्लामै गर्न सकिन्छ,’ प्रदेश स्वास्थ्य निर्देशक डा। रविन खड्काले भने, ‘प्रदेशमा स्वास्थ्यतर्फका ५० प्रतिशत कर्मचारीको अभाव छ ।’ निर्देशनालयका अनुसार स्वास्थ्य सेवातर्फ कर्णालीमा ९ सय ८ जनाको दरबन्दी भएकोमा ४ सय ६३ जना मात्र कार्यरत छन् । १ सय ८४ चिकित्सकको दरबन्दी रहे पनि (करारबाहेक) ३२ दरबन्दी मात्र पूर्ति भएको छ ।

जाजरकोटमा पनि भेन्टिलेटर सञ्चालन नभएकाले जटिल अवस्थाका बिरामीलाई रेफर गर्नुको विकल्प नभएको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी कृष्ण खत्रीले बताए । कोरोना महामारीअघि आइसोलेसन, आईसीयू र भेन्टिलेटर सेवा प्रदेश अस्पताल सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाबाहेक अन्यत्र थिएन । अहिले प्रदेश अस्पतालमा २५ आईसीयू र १० भेन्टिलेटर छन् भने प्रतिष्ठानमा १० आईसीयू र ६ भेन्टिलेटर छन् । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार कालीकोट, दैलेख, मुगु र हुम्लामा २–२ भेन्टिलेटर छन् भने ३ देखि ६ शय्याको आईसीयू पनि स्थापना गरिएको छ । ‘कतै चिकित्सक र स्वास्थ्यकर्मी अभाव छ त कतै उपकरणको,’ सामाजिक विकासमन्त्री वीरबहादुर शाहीले भने, ‘यसबारे कार्ययोजना निर्माण गरिरहेका छौं ।’

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर