लुम्बिनीको बजेट बहुमतले पारित

बुटवल । लुम्बिनी प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट प्रदेशसभा बैठकबाट बहुमतले पारित भएको छ । चौथो अधिवेशनको बुधबार बसेको २३ औं बैठकले आर्थिक मामिला तथा योजनामन्त्री चेतनारायण आचार्यले असार १ गते प्रस्तुत गरेको बजेट बहुमतले पारित गरेको हो । 

बुधबार बजेटमाथिको छलफल सकिएर आर्थिक मामिलामन्त्रीले बजेटका विषयमा उठेका प्रश्नको जवाफ दिएका थिए । मन्त्री आचार्यले जवाफ दिएपछि प्रदेशसभा नियमावली २०७९ को नियम १४२ को उपनियम ६ बमोजिम प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्ताव कार्यान्वयन गर्न बनेको विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रदेशसभामा पेस भएको थियो ।

आर्थिक मामिलामन्त्री आचार्यले पेस गरेको प्रस्तावलाई सभामुख तुलाराम घर्तीले निर्णयार्थ प्रस्तुत गरेका थिए । प्रस्तावको पक्षमा ध्वनी मतमा बहुमत देखिएपछि सभामुख घर्तीले आगामी आर्थिक वर्षको बजेट बहुमतले पारित भएको घोषणा गरेका हुन् । बजेटको पक्षमा एमाले, माओवादी, नागरिक उन्मुक्ति, जसपा र नेकपा एकीकृत समाजवादीले ध्वनी मत दिएका थिए ।

कांग्रेसले विपक्षमा र जनमत, राप्रपा, लोसपा तटस्थ बसेपछि बजेट बहुमतले पारित भएको हो ।

बजेटमाथि आइतबारदेखि निरन्तर छलफल भएको थियो । मंगलबार र बुधबार प्रदेशसभाको सेवा र कार्यका लागि प्रदेश संचित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि मन्त्रालयगत छलफल भएको थियो । बुधबारको बैठकमा मन्त्रालयगत छलफल पनि सकिएपछि आर्थिक मामिलामन्त्री आचार्यले जवाफ दिएका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर