• २०८१ असार १६ आइतबार
  • Sunday, 30 June, 2024

‘माओवादी फुट्ने’ चर्चापछि जनार्दन शर्माले दिए यस्तो जवाफ

काठमाडौं । आफ्नो पार्टी फुटेको रनाहामा परेका जनता समाजवादी पार्टी नेपाल जसपाका अध्यक्ष उपेन्द्र यादवले अब फुट्ने पालो माओवादीको हो भन्ने अभिव्यक्ति दिएका थिए । 

नेपाली राजनीतिमा विद्रोही नेता र विद्रोही सँगठनको नेतृत्व गरेका यादवको लामो सहकार्य फरक दल भएपनि माआवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भयो । तर अन्ततः प्रचण्डनै प्रधानमन्त्री भएका बेला उनकै क्याविनेटका उपप्रधानमन्त्री उपेन्द्र यादवको पार्टी विभाजित भएपछि यी दुई नेताबीचको लामो सहकार्य तोडियो । र त्यसको प्रतिक्रियामा अध्यक्ष यादवले माओवादी फुट्ने अड्कल काटेका थिए । 

तर माओवादी फुट्ने प्रशंग भने यत्तिकैमा सेलाएन । साप्ताहिक पत्रिकाका रुपमा फरक पहिचान बनाएको जनआश्था साप्ताहिकले केही दिन अघिको आफ्नो एक अंकमा माओवादी फुट्न लागेको, त्यसको नेतृत्व उपमहासचिव जनार्दन शर्माले गरिरहेको र उनको पक्षमा रहेका केही सांसदहरुको नामावलीसमेत सार्वजनिक गर्यो । 

सार्वजनिक संचारका माध्यममा यस्तो समाचार छापिएपछि त्यसको प्रभाव माओवादी संगठन भित्र नपर्ने कुरै भएन । माओवादीका नेता, कार्यकर्ताको बसिबिँयालो तथा चिया गफमा मात्रै होइन, पार्टीका आन्तरिक औपचारिक कार्यक्रमहरुमा समेत यो विषयले प्रवेश पायो । 

पार्टी फुट्न लागेको तथा कसैले फुटाउने तयारी गरेको कुरा त गरेनन् तर काठमाडौंको कमलादीमा असार ७ गते भएको नेपाल बुद्धिजीवी संगठनको छैटौँ राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहमा सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पार्टी भित्र गुटको राजनीति मौलाएको संकेत गरे । यस अघि पनि उनले सार्वजनिक रुपमा नै पार्टीमा गुटबन्दी बढेको बताएका थिए । 

मन्तव्यको क्रममा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष प्रचण्डले भनेका थिए, ‘लिडरसिप फेरिएको हो कि ? बिग्रिएको हो कि भन्ने, मुख्य लिडरसिप प्रति प्रश्न पनि उठ्छ होला । म के भन्छु भने जिवनको उत्तरार्धतिर लागेको छु । अहिले जनयुद्धको बेलाभन्दा भन्दा धेरै काममा खटेको छ । मैले पार्टी आन्दोलन देशको आवश्यकता अनुसार संयोजन गर्ने काम गरिरहेको छु । पार्टी बिभाजनपछिका अप्ठ्यारा झेलेर  मैलो यो अवस्थामा पनि पुरै आत्मविश्वासका साथ देशमा सुशासन तथा आत्मसमृद्धिको काम गर्न सकिन्छ भनेर हिडेको छ । मैले देशको, जनताको लागि अन्तिमसम्म सक्रिय राख्ने सोचेको छ । निराशा होइन, आशावाद, कुनै खालका गुट बनाउने तिर होईन । गुटले मान्छेलाई तल तल लैजान्छ । हैसियत घटाउँछ । पार्टी बनाउँदा आत्मसम्मान बढाउँछ । त्यसकारण पार्टी बनाउने कुरामा, आन्दोलन बनाउने कुरामा हामी केन्द्रीत हुनुपर्छ ।’

उनको यो अभिव्यक्तिले माओवादी भित्र कोही पार्टी फुटाउनै लागि सकेको कुराको संकेत त गरेको छैन । तर एकातर्फ सार्वजनिक मिडियामा अमुक नेताको नामै तोकेर पार्टी फुटाउन लागेको आरोप लाग्नु, अर्कातर्फ अध्यक्ष प्रचण्डले नै पार्टी भित्र गुट मौलाएका संकेत गर्दै त्यसो नगर्न आग्रह गर्नुले आशंका गर्नेहरुका लागि मलजल भएको देखिन्छ ।

कुनैबेला बलियो र निर्ममम ससस्त्र युद्धको नेतृत्व गरेर आएका प्रचण्ड आफ्नौ कार्यकालमा माओवादी टुक्राटुक्रा भएपछि अहिले जोड्ने अभियानमा लागेका छन् । हाल माओवदीको अस्तित्व भएका झण्डै आधा दर्जन राजनीतिक दल छन् ।

पार्टी फुटाउने आरोप लागेका नेता जनार्दन शर्माले नेपाल बुद्धिजिवि संगठनको एक कार्यक्रममा पार्टी विभाजन र फुटबारे प्रष्ट धारणा राखे । पार्टी भित्र विधिको, विधानको, पार्टी बनाउने कुराको ओकालत आफूले गरेको बताउँदै उनले यसलाई पार्टी फुटाउन खोजेको रुपमा हल्ला गरिएको बताए । तर यस्तो हल्ला कसले गरेको हो भन्ने कुरा उनले खुलाएनन् ।

कार्यक्रममा नेता शर्माले भने, ‘पार्टी फुट्दैछ भनेर होहल्ला मच्चाउने, कस्तो विडम्बनाको कुरा ? विधिको प्रश्न, पद्दतीको प्रश्न, कसैले प्रश्न गर्यो भने त्यसलाई फुटाउँदैछ भनेर त्यसलाई प्रश्न गर्नै नसक्ने बनाईदिने जुन संस्कार छ । यो गलत संस्कार हो । त्यसकारण यस्ता गलत संस्कारका कारणले गरिएका होहल्लाहरु गलत छन् । यदि पार्टीमा भएका कमजोरीबारे प्रश्न नउठाउने हो भने, यदि पार्टीमा विधि स्थापना गर्ने कुरा उठाउने होइन भने यो पार्टी जिवित रहन सक्छ ? यो पार्टीलाई जिवित राख्ने, सवल बनाउने सवालमा पार्टी निर्माण गर्ने सवालमा उठाएका विषयलाई पार्टी फुटाउँदैछ भनेर गरिएका हल्लामा मेरो घोर आपत्ति छ । म पार्टी निर्माणका विरुद्ध होइन । विधि स्थापना गर्ने विरुद्ध होइन । पार्टी राम्रो बनाउनेका विरुद्ध होइन ।’

नेता शर्माले प्रश्न गरे, ‘विचार पुगेन, संगठनमा कमजोर भएको भन्न मिल्ने कि नमिल्ने ? मुल्याङ्कनको माग गर्न मिल्ने कि नमिल्ने ? जनतासँग हामी कटिरहेका छौं भन्न मिल्ने कि नमिल्ने ? प्रश्न गर्नै नपाईने अवस्था सृजना गरियो भने हुँदैन । प्रश्न गर्नुपर्छ । प्रश्नको अर्थ हामी आफैैंलाई खाने प्रश्न होईन । यी प्रश्नले हाम्रो नयाँ बाटो तय गर्ने हो, गर्नुपर्छ ।

राजनीतिक बृत्तमा यस्तो चर्चा भएपनि अध्यक्ष प्रचण्डले पार्टी र सरकारलाई बलियो बनाएर अघि बढाउन अहिले पनि पुरै मेहनत गरिरहेको एक केन्द्रीय सदस्यले समाचार दैनिकलाई बताए । पार्टी संगठन सुदृढिकरणकै लागि भनेर अध्यक्ष प्रचण्डले ८ असारमा माओवादी भित्रका दुई शक्तिशाल उपमहासचिवहरु वर्षमान पुन र जनार्दन शर्मासँग लामो छलफल गरेको ती केन्द्रीय सदस्यले बताए । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर