• २०८१ कार्तिक २ शुक्रबार
  • Friday, 18 October, 2024

जब भीमेश्वरका नगरप्रमुख मानन्धर बाउसे बने 

ईश्वर बिश्वकर्मा, चरिकोट । दोलखामा उत्साहका साथ रोपाइँ महोत्सवको आयोजना गरी २१ औँ राष्ट्रिय धान दिवस मनाइएको छ । जलवायु मैत्री कृषि, उत्पादनमा वृद्वि भन्ने मूल नाराका साथ शनिबार दिवस मनाइएको हो । 

दिवसको अवसरमा भीमेश्वर नगरपालिकाको आर्थिक सहयोगमा वडा नं. ६ स्थित रामकोटमा माटो कृषक समुहले रोपाइँ महोत्सव आयोजना गरेको थियो।

महोत्सवमा नगर प्रमुख ईश्वरनारायण मानन्धर, नगर उपप्रमुख कमला बस्नेत लगायतका जनप्रतिनिधि एवँ कर्मचारी र स्थानीय किसानहरुको सहभागिता रहेको थियो । नगर प्रमुख मानन्धर बाउसे भएर रोपाइँमा सहभागी हुँदा किसानहरू उत्साहित भएका थिए । कोही रोपाहार तथा कोही बाउसे भएपछि रोपाइँ रोमाञ्चक भएको थियो ।

रोपाइँको क्रममा सांस्कृतिक परम्पराको जर्गेनका निम्ति बेठी बाजा बजाइएको थियो । त्यसले पनि रोपाइँ महोत्सवलाई रौनकता प्रदान गरेको थियो ।

दही चिउराको स्वाद, बेठी बाजा  असारे भाका, हिले नाच, किसान तथा गैरकिसानको जमघट । महोत्सव उत्साहप्रद र अविस्मरणीय भएको सहभागीहरूले बताएका छन् ।

नगरप्रमुख मानन्धरले व्यवसायिक कृषिमा आकर्षण बढाउन, धान बालीको उत्पादन वृद्धि गर्नको लागि महोत्सवको आयोजना गरिएको बताए ।

 उनले किसानको साथमा स्थानीय सरकार रहेको प्रत्याभूतिका लागि आफू बाउसेको रुपमा रोपाइँमा सहभागी भएर किसानलाई सघाएको बताए ।

 किसानको अनेकौँ समस्या र पीडा सम्बन्धमा आफू जानकार रहेको बताउँदै त्यसको समाधानका लागि आफू प्रत्यत्नशील हुने नगरप्रमुख मानन्धरले बताए ।

किसानसँग एक दिन भएपनि रमाउन पाउँदा आफू खुशी भएको र किसानहरू पनि खुशी भएको बताउँदै नगर उपप्रमुख कमला बस्नेतले आफ्नो कार्यकालभर किसानलाई खुशी राख्न प्रयत्न गर्ने उल्लेख गरिन् 

 उनले किसानको माग र समस्या सम्बोधनका लागि नगरले विविध प्रकारका योजना बनाएर कार्यान्वयन गर्ने बताइन् ।
 “नगर समृद्धिको आधार कृषि नै हो । त्यसैले यसको प्राथमिकता विषेश हुन्छ ।” 
 उनले कृषिमा व्यावसायिकता र आधुनिकता अपरिहार्य रहेको सुनाउदै कृषि सम्मानित पेशा र कृषक सम्मानित व्यक्तित्व रहेको उल्लेख गरिन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर