• २०८१ असोज १९ शनिबार
  • Saturday, 5 October, 2024

स्याङ्जा र दाङमा ४ को मृत्यु, तनहुँमा तीन जना पुरिएर बेपत्ता

काठमाडाैं ।  स्याङजाको बिरुवा गाउँपालिका ६ लामाखेतमा आज दिउँसो पहिरोमा पुरिएर तीन जनाको मृत्यु भएको छ । पहिरोले पुरिएर बिरुवा गाउँपालिका–६ माझकोट का ६७ वर्षीया हरिमाया शर्मा, सोही स्थानका ७१ वर्षीय माधव शर्मा र ६५ वर्षीया गुह्येश्वरी शर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता इन्द्रबहादुर रानाले बताए ।

पहिराेको जोखिममा रहेका आफ्ना घरबाट सुरक्षित स्थानमा गएका उनीहरूको पुरिएर ज्यान गएको हो । उनीहरूको घर नजिक आज बिहान पहिरो खसेको थियो । बिरुवा गाउँपालिका–६ का वडाध्यक्ष कृष्णबहादुर क्षेत्रीका अनुसार पहिरोको जोखिम नभएको ठानेर सुरक्षित भनेर राखिएको ठाउँमा दिउँसो अचानक पहिरो खसेर घर पुरिँदा उनीहरूको मृत्यु भएको हो । उक्त पहिरोमा परी पाँच जना घाइते भएका छन् । उनीहरूको स्थानीयवासी र बिरुवा प्रहरी चौकीको टोलीले उद्धार गरेको थियो ।

तनहुँमा पहिरोमा परी तीन बेपत्ता
तनहुँको शुक्लागण्डकी नगरपालिका–७ काउरेमा पहिरोमा परेर आज तीन जना बेपत्ता भएका छन् । शुक्रबारदेखि परेको अविरल वर्षाका कारण आज दिउँसो गएको पहिरोमा परेर स्थानीय तीन जना बेपत्ता भएको तनहुँ जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बेपत्ता हुनेमा स्थानीय ४० वर्षीय हीरा नेपाली, ३७ वर्षीया अनिषा बाँस्तोला र ६५ वर्षीय श्याम भण्डारी रहेको प्रहरी नायब उपरीक्षक दीपक रायले जानकारी दिए । पहिरोमा परेर बेपत्ता भएकाको खोजी भइरहेको उनले जानकारी दिए । नेपाली सेना, नेपाल प्रहरी, स्थानीयवासीको सहयोगमा बेपत्ता भएकाको खोजी भइरहेको उनले बताए ।

ढुङ्गा लागेर एकको मृत्यु
ऋषिङ गाउँपालिका–१ झापुटारमा ढुङ्गा लागेर आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ऋषिङ गाउँपालिका–१ मालिङ्गाका ५० वर्षीय कृष्णबहादुर पुलामी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । ढुङ्गा खस्दा टाउको र पेटमा चोट लागी घाइते भएका उनको दमौली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक दीपक रायले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर