• २०८१ असोज १९ शनिबार
  • Saturday, 5 October, 2024

सुकुम्बासी बस्तीमा बाढीले बिजाेग भएपछि बालेनले दिए ओलीलाई दाेष

काठमाडौं । गएरातिदेखि लगातार परेको पानी र बढेको नदीको बाढीले किनाराका बस्ती डुवानमा परेपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह आक्रोषित बनेका छन् ।

नदी किनाराका बासिन्दालाई सुकुम्बासी भन्न पनि नचाहेका बालेनले यस्ता २ हजार मानिसलाई अन्यत्र व्यवस्थापन गर्ने आफ्नो प्रयासमा राजनीति भएको बताए । 

एमालेले सुकुम्बासीका नाममा भोटको राजनीति गरेको र उनीहरुको व्यवस्थापन गर्न खोज्दा अवरोध गरेको उनको संकेत थियो । काठमाडाैं महानगरले बागमती किनाराका सुकुम्बासीहरूलाइ अन्यत्र व्यवस्थापन गर्न त्यस स्थानबाट हटाउन खाेज्दा झडपसमेत भएकाे थियाे । साे क्षेत्रका बासिन्दा सुरक्षित स्थानमा बस्न चाहेका थिएनन् । 

तत्कालिन प्रधानमन्त्री बाबुराम भट्टराइले समेत बागमती किनाराका बासिन्दालाइ चाेभारमा घर नै बनाइदिएपनि उनीहरू जान मानेनन् ।

यस्ता २ हजार परिवार मात्र हैन गिरीबन्धु चिया बगानमा १५ हजार मानिसको व्यवस्थापन हुन सक्ने उनले हिसाब सुनाए । 
बालेनले फेसबुकमा लेखेका छन्, माननीय केपी ओलीज्यू,

आज काठमाडौँमा केहि घण्टा पानी पर्दा खोला छेउ बस्ने धेरै डुबानमा परे । खोला बस्तीमा पसेको हैन, खोलाले आफ्नो बाटो खोजेको हो । आज एकदिन पानी पर्दा त यस्तो हालत छ, केही दिन लगातार पानी पर्दा के हालत हुने हो !

अनि ठुलो दुर्घटना कुन दिन आउँछ भनेर कुर्दै बस्ने हो र हामी ? उहाँहरूको जीवनसँग खेलवाड गरेर भोटको राजनीति यसरी नै सँधै गरिरहने हो ? उहाँहरूलाई उचित ठाउँमा लगेर व्यवस्थापन गर्नेतर्फ सोच्ने कि उहाँहरूलाई जसरी ३० बर्ष झुलाइसक्नु भयो, अझै अर्को ३० बर्ष पनि झुलाउने सोच बनाउनु भएको छ ?

काठमाडौँमा लगभग २००० परिवार खोला छेउमा बस्ने गरेका छन् । तपाईले पचाउँन खोज्नु भएको गिरिबन्धु'मा यस्ता १५००० परिवार व्यवस्थापन हुन सक्छ । अब त प्रधानमन्त्री नि बन्दै हुनुहुन्छ रे, त्यो पनि दुई तिहाई बहुमतसहित । अब यो समस्याको समाधान गर्नु हुनेछ भन्ने आशा लिएको छु ।'

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर