• २०८१ भदौ २३ आइतबार
  • Sunday, 8 September, 2024

मेसीको पदचाप पछ्याउँदै विश्व फुटबलमा उदाए यामल

काठमाडौं । स्पेनका युवा खेलाडी लामिन यामल पहिलो युरोपेली प्रतियोगितामै कीर्तिमान रच्न सफल भएका छन्। यामलले मंगलबार राति भएको युरोकपअन्तर्गत फ्रान्सविरुद्धको सेमिफाइनल खेलमा गोल गरेपछि युरोकपको इतिहासमा गोल गर्ने सबैभन्दा कान्छो खेलाडीको कीर्तिमान बनाए।

यामलले आफ्नो फुटबलको आइडल विश्व नम्बर वान लियोनल मेसीलाई मान्ने गर्दछन् । र उनले फ्रान्सलाई हराउँदा गरेको आकर्षक गोलको पनि मेसीको गोलसँगै तुलना गरिएको छ । 
संयोग यस्तो पर्यो जुन दिन यामलले गोल गरेर उत्कृष्ट खेलाडीको उपाधि पाए उता कोपा अमेरिकामा उनका आइडल लियोनल मेसीले पनि क्यानडा विरुद्ध गोल गरेर र सोही उपाधि पाएका थिए । 

फ्रान्सविरुद्ध गोल गर्दा उहाँको उमेर १६ वर्ष ३६२ दिनको थियो। उनले स्विट्जरल्यान्डका योहान भोनलान्थेनको कीर्तिमान तोडे। यसअघि भोनलान्थेनले १८ वर्ष १४१ दिनमा युरो २००४ मा फ्रान्सविरुद्ध नै गोल गरेर युरोमा गोल गर्ने कान्छो खेलाडी बन्ने कीर्तिमान कायम थियो । यो कीर्तिमान करिब २० वर्षपछि यामलले तोडे।

यस्तै, यामल युरो सेमिफाइनलमा गोल गर्ने कान्छो उमेरका खेलाडीसमेत बनेका छन्। उनले यसपटक भने पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोको कीर्तिमान तोडेका थिए । रोनाल्डोले २००४ युरो सेमिफाइनलमा नेदरल्यान्ड्सविरुद्ध गोल गर्दा उनको उमेर १९ वर्ष १४६ दिन थियो ।

लामिन यामल नासराउई इबाना पूरा नाम रहेको यामलले यसअघि बार्सिलोनाका लागि नै कीर्तिमान राखिसकेका थिए । ५१ खेल खेलेका उनले बार्सिलोनाका लागि ७ गोल गरेका छन् । तर, उनले जर्मनीमा जारी युरोकपमा घुमाउरो प्रहारमा गरेको गोल भने विश्व फुटबलमा चर्चाको विषय बनेको छ। यामलका बुबा मोरोक्कोका हुन्। उनका बुबाले ७ वर्षीय यामललाई बार्सिलोनामा प्रशिक्षणका लागि जिम्मा दिएका थिए ।

यामलले बार्सिलोनाको सिनियरमा डेब्यु गर्दा उनको उमेर १५ वर्ष २९० दिनको थियो। योसँगै उनी बार्सिलोनाका कान्छा खेलाडीसमेत बने। उनी १६ वर्ष र ५७ दिनको हुँदा स्पेनका लागि गोल गर्ने कान्छा खेलाडीसमेत बनेका थिए ।

अन्तर्राष्ट्रिय मिडियामा बुधबार एउटा फोटो खुब भाइरल बन्यो । फेरि त्यो फोटो १६ वर्ष पुरानो थियो । जुन फोटोमा अर्जेन्टिनी कप्तान लियोनल मेसीले ६ महिनाका बालकलाई नुहाउँदै गरेको र बोकिरहेका छन् । ती ६ महिने बालक अहिले जर्मनीमा चलिरहेको युरो २०२४ च्याम्पियनसिपमा स्टार खेलाडीका रूपमा अगाडि छन् । उनकै गोलमा स्पेनले १२ वर्षपछि फाइनल पुग्ने आधारसमेत निर्माण भयो । 

फ्रान्सविरुद्ध १–१ को बराबरी गोल फर्काउने लामिन यमाल हुन् । मेसीले यिनै यमाललाई ६ महिना हुँदा बोकेका थिए । यमाललाई बोक्दा मेसी पनि २० वर्षका थिए । उनी त्यसवेला बार्सिलोनाबाट खेलिरहेका थिए । युरो २०२४ को पहिलो सेमिफाइनलपछि भाइरल बनेको फोटो २००७ मा फोटोग्राफर जोवान मनफर्टले लिएका थिए । फोटोग्राफर जोवानले व्यावसायिक प्रायोजनका लागि नभएर च्यारिटी रकम संकलन गर्न मेसीले यमाललाई बोकेको र नुहाइराखेको फोटो सुट गराएका थिए । त्यो क्यालेन्डरका लागि खिचिएको फोटो बिक्रीबाट प्राप्त हुने रकम च्यारिटीमा जाने थियो ।

फोटोग्राफर जोवानले बार्सिलोनाका उदीयमान खेलाडीका रूपमा मेसीलाई रोजेका थिए । एक फोटोग्राफरका लागि स्टार खेलाडीको फोटो सुट गर्ने सामान्य प्रक्रिया थियो । तर, बुधबार विभिन्न अन्तर्राष्ट्रिय मिडियामा यमाललाई मेसीले काखमा बोकेको छ्यापछ्यापी देखेपछि जोवानले १६ वर्षअघि आफूले गरेको काम सम्झिए । उनी सामान्य फोटो सम्झेर राखेको फोटो खोज्नेतिर लागे । 

जारी युरो २०२४ च्याम्पियनसिपमा स्पेनिस राष्ट्रिय टोलीबाट तहल्का मच्चाइरहेका यमालकै प्रेरणामा उनको टोली फाइनल पुगेको हो । उनले प्रतियोगितामा एक गोल र तीन असिस्ट गरेका छन् । प्रत्येक खेलमा चम्किरहेका यमालको फोटो हेर्दै फोटोग्राफर जोवानले भने, ‘यो कुरा थाहा पाएपछि निकै खुसी लाग्यो, सेमिफाइनलमा गोल गरेको देख्दा लाग्छ, अहिले मैले लिएको यमाल र मेसीका तस्बिर विश्वभर हेरिएको छ,’ उनले भने । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर