• २०८१ भदौ २३ आइतबार
  • Sunday, 8 September, 2024

श्रीमान गुमाएकी विद्या प्राध्यापनबाट राजनीति हुँदै शिक्षामा सुधार गर्ने जिम्मेवारीमा

काठमाडौं । वि. सं. २०७२ मा खुला प्रतिस्पर्धाबाट त्रिवि सेवा आयोग पास गर्दा विद्या भट्टराईको सपना थियोः कुनै दिन प्राध्यापक बन्छु।

विद्यार्थीलाई समाज र यसका अवयव सिकाउँछु। २०७५ साल फागुन १५ गतेको अनपेक्षित दुर्घटनाले उनको जीवनको बाटो मोडिदियो।

घटनापछि फेरि सक्रिय राजनीतिमा लाग्नुभएकी भट्टराई दुई पटक कास्की क्षेत्र नम्बर २ बाट सङ्घीय सांसद चुनिइन। सोमबार गठित मन्त्रिमण्डलमा उहाँले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मेवारी पाइन छ। 

उनका जीवनसाथी, लोकप्रिय नेता तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा परी निधन भएपछि नेकपा (एमाले)ले कास्की २ बाट उनलाई उम्मेदवार बनाएको थियो।

त्यसअघि राजनीतिमा सक्रिय हुँदहुँदै अधिकारीसँग विवाह भएपछि उनी पारिवारिक जिम्मेवारी निर्वाह गर्दै सक्रिय राजनीतिबाट टाढिइन। 

२०४२ सालमा कक्षा ७ मा पढ्ददेखि नै अनेरास्ववियुमा सङ्गठित उनी अनेमसंघको जिल्ला कार्यसमिति कोषाध्यक्ष हुँदै २०४९ र २०५१ मा पद्यकन्या क्याम्पसको स्ववियु सभापतिको उम्मेदवार बनिन् ।

२०५५ मा अनेरास्ववियु केन्द्रीय सचिव हुँदै उनी अनेमसंघ र बुद्धिजीवी परिषद्मा पनि सक्रिय थिइन्। 

पतिको निधनपछि अर्को वर्षको उपनिर्वाचनमा त्रिभुवन विश्वविद्यालयबाट राजीनामा दिएर उम्मेदवार बनिन्।

एमालेको बलियो सङ्गठन र पतिको लोकप्रियता पनि त्यो बेलाको चुनावमा जितका सहायक थिए। केहीले सहानुभूतिले जित भएको दाबी गरेका थिए। नेपाली कांग्रेसका पुनारा नेता खेमराज पौडेललाई आठ हजारभन्दा बढी मतान्तरले हराउँदै उनी निर्वाचित भइन। 

सार्वजनिक रुपमा उनले फेरि सांसद बन्ने इच्छा नभएको बताउने गरेकी थिइन। २०७९ सालको आम निर्वाचनमा फेरि एमालेले उनलाई पुरानै क्षेत्रबाट उम्मेवार बनायो।

उनलाई राजनीतिबाट केही विश्राम लिएर विद्यावारिधि गर्ने रहर थियो। फेरि पनि उनको रहर दोस्रो प्राथमिकतामा प¥यो, उनी उम्मवार र सांसद बनिन्। 

अध्ययनशील, सरल, विनम्र र शालीन भट्टराईले पहिलो कार्यकालमा आफ्नो क्षमताको परिचयमात्र दिएकी थिइनन्, आफूलाई लोकप्रिय नेताको रुपमा पनि स्थापित गरिन ।

फलस्वरुप दोस्रो पटक पनि उनी निर्वाचित भइन्। पाँच दलीय गठबन्धनका साझा उम्मेदवारलाई हराउनु र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारको आकर्षणलाई पनि रोक्नु उनका लागि निकै चुनौतिपूर्ण थियो। भट्टराई १६ हजार नौ सय ९८ मत ल्याएर विजयी बन्दा निकटतम् प्रतिस्पर्धी रास्वपाका माधव कँडेलले १२ हजार चार सय ९५ मत पाइन।

निर्वाचित भएपछि उनलाई एमालेले उपसभामुखको उम्मेदवार बनाएको थियो। सत्ता गठबन्धनका कारण उपसभामुखको बन्न नसके पनि उनको सफलता र व्यक्तित्वको एउटा सिँढी त्यो पनि थियो। अहिले एमाले र नेपाली कांग्रेससहितको बलियो सत्ता गठबन्धनमा अधिकारीले शिक्षा मन्त्रालयको जिम्मेवारी पाइन। 

प्राध्यापन छाडेर राजनीतिमा आउनुभएकी भट्टराईलाई अब देशकै शिक्षा क्षेत्र सुधार्ने र जनताको अपेक्षा पूरा गर्ने जिम्मेवारी छ।

उनी अहिले विद्यावारिधिको विद्यार्थीसमेत हुन् । एक कुशल पूर्वप्राध्यापक, समाजशास्त्री र अनुसन्धान तहका विद्यार्थीको हातमा देशको शिक्षाको नेतृत्व पुगेको छ।

२०२९ मा काठमाडौंमा जन्मिएकी भट्टराईले बेला बेलामा देशका समसामयिक समस्या, कास्की र गण्डकी प्रदेशका सरोकारका विषयमा सदनमा आवाज उठाउँदै आएकी छन् ।   

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर