• २०८१ भदौ २३ आइतबार
  • Sunday, 8 September, 2024

राजनीतिभित्र कर्मचारीतन्त्रको विलय

कुमार दाहाल

संसारमा थोरै अध्ययन गरिने र थुप्रै चर्चा पाउने क्षेत्र कर्मचारीतन्त्र हो। किनकि कर्मचारीतन्त्रलाई राजनीति दर्शनको आँखाले हेर्ने गरिन्छ । कर्मचारीतन्त्रको उत्पत्ति नै राजनीति ध्येय पुरा गर्नको लागि भएको हो। राजनीति सापेक्षले कर्मचारीतन्त्रको व्यवस्थापन गर्न खोज्दा सन् १९ ८१ मा अमेरिकी राष्ट्रपति गार्डफिल्डको हत्या भयो। एउटा कारण यो पनि थियो। किनकि कर्मचारीतन्त्र व्यवस्थापकीय क्षेत्र हो भन्ने सीमित सत्य त्यतिखेर योग्यता प्रणालीमा थियो । त्यसपछि व्यवस्थापनका सिद्धान्त भित्र कर्मचारी तन्त्रले आफ्नो दर्शन निर्माण गर्दै गयो। यद्यपि आज पनि सार्वजनिक प्रशासनलाई व्यवस्थापनको सिद्धान्तको सापेक्षमा हेरिन्छ र प्रयोग गरिन्छ। परिपक्क राजनीति र नेता निर्देशित नीतिमा कर्मचारीतन्त्र राजनीतिको मुखपत्र जस्तै हुन्छ। तर यो विषयलाई प्रजातन्त्रभित्र जन्मिएका युनियनिजम र व्यवस्थापनको कठोर योग्यता प्रणालीले स्वीकार गर्दैन।  र ,यो विषयलाई आजसम्म स्वयं राजनीतिले पनि स्वीकार गरेको छैन। र कर्मचारीतन्त्र  स्वयं प्रयोग  भइरहेको जताततै देख्न सकिन्छ।

नीतिको स्रोत राजनीति हो र नीति राजनीति इच्छामा बन्छ। मेक्स वैबरले कर्मचारीतन्त्रलाई संगठनको रुपमा होइन। वितरण संयन्त्रको रुपमा परिकल्पना गरेका थिए। र उनको परिकल्पनामा कर्मचारी तन्त्र राजनीतिभित्रको एउटा अङ्गको रुपमा थियो। पछि गएर यो व्यवस्थापन र संगठनको रूपमा विकसित भयो। तर अझै पनि काम,  रोजगारको स्वतन्त्रता,पर्याप्तता र वितरणकारी न्याय उच्च भएका देशमा कर्मचारी तन्त्रको कठोर अनुशासन राजनीतिले भोग्नुपर्दैन। जसको कारण राजनीति इच्छाको पोको बोकेर घरदैलोसम्म राजनीति नेता निसंकोच पुग्छन । त्यहाँ विधि र प्रक्रियागत बाधा पुर्याउने कर्मचारी तन्त्र हुँदैन।  त्यस्ता देशमा कर्मचारी तन्त्र होइन प्राय  प्रधानमन्त्री ,मन्त्रीहरू र नीतिनिर्माणकर्ता भ्रष्टाचारको मुद्दामा फसेका समाचार सुनिन्छन् ।पदाधिकारीहरुको समाचार प्रमुख बन्दैन। यसको कारण राजनीति उत्तरदायित्व मुख्य र कर्मचारीतन्त्रको जिम्मेवारी र दायित्व राजनीतिसम्म सीमित हुनु हो। यो संसारको उत्कृष्ट कर्मचारीतन्त्र हो।

नेपालमा कर्मचारीतन्त्र र राजनीतिको छुट्टै विरासत छ। एउटा मालिक र अर्को पहरेदार जस्तो। पहरेदारको संरक्षण नीतिले मालिकको इच्छा पूरा हुँदैन। र राजनीति स्वयं आफै पहरेदार हुन सकेको पनि छैन। त्यसैले विभागीय मन्त्रीज्यूहरूलाई काम गर्न साह्रै गाह्रो छ। यो गाह्रो व्यवस्थापकीय विषय होइन।  संगठन ,भौतिक पूर्वाधार, नीति, ऐन कानुन ,तलब व्यवस्था, कर्मचारी व्यवस्थापन विकसित देशको भन्दा फरक हाम्रोमा छैन। तर भाँडो नयाँ वा पुरानो जे होस् भात पकाउने कलामा भाँडोको उपयोग कौशल मानिन्छ।

प्रधानमन्त्री कौटिल्य (चाणक्य) को आवासमा राजा चन्द्रगुप्त मौर्य अकस्मात प्रवेश गर्छन् ।  विष्णुगुप्त (कौटिल्य) त्यतिखेर काममा व्यस्त थिए । राजा चन्द्रगुप्तको प्रवेश हुनासाथ अभिवादनपछि उनले बल्दै गरेको बत्ती निभाए र अर्को बत्ती सल्काए। राजाले  सोधे ।किन रु चाणक्यले जवाफ दिए । अघि म सरकारी काम गर्दै थिएँ जुन स्रोत सरकारी ढुकुटीबाट आउँथ्यो। अब म आफ्नो व्यक्तिगत काममा लागेँ। जसको स्रोत मेरो तलब हो ।चन्द्रगुप्त मौर्य ,कौटिल्यको इमान्दारिता प्रति जानकार  थिए। रुद्र पतन समाजशास्त्रीले  सन् १९०५ मा चाणक्यको अर्थशास्त्रलाई अङ्ग्रेजी र संस्कृतमा अनुवाद गरेपछि पूर्वीय दर्शनमा यो ग्रन्थ अर्थशास्त्र, राजनीति ,र कूटनीतिको माइलस्टोन कीर्ति स्थापित भयो। रुद्रपतन समाजशास्त्री भन्छन् सार्वजनिक पदमा शक्ति र स्रोतको उपयोग सार्वजनिक प्रयोजनका लागि गर्न छुट हुन्छ। व्यक्तिको इमान्दारिता र नैतिकताले सार्वजनिक पदको आकर्षण उच्च हुन्छू। भारतका पूर्व राष्ट्रपति अब्दुल कलाम केही पुस्तक लिएर राष्ट्रपति भवनमा छिरे। र केही पुस्तक थपेर आफ्नो आवासमा फर्किए। पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको सुराही र छाताको किस्सा आजका पुस्तासम्मले बडो रोचकका साथ सुनाउने गर्छन्। यो इमान्दारिता राजनीतिको आदर्श हो।  स्रोत र पद को इमान्दारिताले राष्ट्रका उच्च पदहरूमा सुन्दरता थप्छ। के नेपालका सार्वजनिक पद धारणकर्ताहरूमा यो इमान्दारिता छ रु 

कौटिल्यको इमान्दारिता  पुरानो भयो होला। तर अहिले पनि राजनीति र प्रशासनिक नेतृत्वका इमान्दारिताका उदाहरण थुप्रै छन् ।भर्खरै बेलायतका पूर्व प्रधानमन्त्री ऋषि सुनक आफ्नो पेशामा फर्किएको समाचार जताततै छ।  हाम्रा उच्च नेतृत्वहरुमा पद पछि पनि पदप्रतिको मोह उच्च छ। किनकि बिना मेहनत शक्ति र स्रोतको उपयोग गर्न त्यहाँ पाइन्छ। कोही पनि कृषि ,शिक्षण वा आफ्नै इच्छाअनुसारको पेशामा फर्किएका समाचार सुनिँदैन। यसको मतलब हाम्रा उच्च नेतृत्वहरु आफ्नो पेशामा विज्ञ छैनन्। नत्र यी समाचार बेलाबेलामा पढ्न पाइन्थ्यो। आफ्नै पेशामा फर्किँदा सुविधा पाइँदैन। मेहनत गर्नुपर्छ ।इमान्दार हुनुपर्छ ।स्रोतप्रति सजग हुनुपर्छ। जसरी पनि म नै योग्य छु भन्ने योग्यहरूले कतै परिवर्तनको आभास दिएको पनि देखिँदैन। यो प्रवृत्तिले राजनीतिभित्र कर्मचारीतन्त्र विलय भएको छ। सिद्धान्तत यो राम्रो लक्षण होइन।

विभागीय मन्त्री भएपछि सबै कुरा पूरा हुन्छ भन्ने सोच जनताको छ। मन्त्रीज्यूकोमा बिहानदेखि बेलुकासम्म माग्न आउनेहरूको भिडले जिम्मेवारीको काम गर्न  पनि कठिन छ। स्वास्थ्य मन्त्रीले सहरी विकासको योजना जनतालाई दिनुपर्छ ।सहरी विकासका मन्त्रीज्यूले विद्यार्थीको छात्रवासको लागि शिक्षा मन्त्रालयमा सोर्स लगाउनुपर्छ। यो मेरो काम होइन भन्न सक्ने इमान्दारिता नेतृत्वमा हुन सकेन। र यो विश्वास सेवाग्राहीमा पनि छैन। आफ्नो मान्छे नभई काम हुन सक्दैन भन्ने मनोविज्ञान बढेर गएको छ। किनकि जनता उनीहरूका मतदाता हुन । जनतालाई सुविधा दिन मन्त्रीको सुविधाले पुग्दैन। माग्न आउने जनतालाई सुविधा दिँदा मन्त्रीको इमान्दारिता रहँदैन । कहीँ यो बाध्यता होला कहीँ यो बाध्यताभित्रको आकर्षण। यही भित्र मन्त्रीज्यूहरू आफ्नो काममा अप्ठ्यारोमा छन्। यो अप्ठ्यारो कसले बुझिदिनेरु यो अप्ठ्यारो मिलाउन  कर्मचारीतन्त्र राजनीतिमा विलय हुनु डरलाग्दो समस्या हो। आज नेपालमा यही देखिएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर