लुम्बिनी मुख्यमन्त्रीमा एमालेका पौडेल र पोखरेलको घर झगडाः गिरी कि आचार्य ?

बुटवल । नेकपा एमालेका उपाध्यक्ष तथा अर्थमन्त्री विष्णु पौडेल र महासचिव शंकर पोखरेलबीचको शक्ति संघर्ष एक पटिक फेरि सतहमा आएको छ ।

त्यो पनि लुम्बिनी प्रदेशकै विषयलाई लिएर । लुम्बिनी प्रदेशकै यी दुई शक्तिशाली नेताहरुबीचको घर झगडाले प्रदेशको राजनीतिलाई नै असर गरिरहेको हुन्छ । 

कुनै बेला प्रदेशको राजधानी दाङ कि बुटवल भन्ने विषयमा भिडेका यी दुई नेता अहिले लुम्बिनीको मुख्यमन्त्री लिला गिरी कि चेतनारायण आचार्य भन्नेमा भिडेका छन्  । 

लुम्बिनीको मुख्यमन्त्री नै बनिसकेका पोखरेल यी दुई नेताबीचको भिडन्तमा हावी हुने गरेका छन् । 

यसपाली पनि उनै पोखरेलले आफ्नो पक्षका आचार्यलाई मुख्यमन्त्री बनाउने लगभग पक्का भएको छ । 

मुख्यमन्त्रीका प्रतिस्पर्धी लिला गिरीले नै हार खाइसकेको संकेत गरेका छन् । यस अघि मुख्यमन्त्रीमा उनै गिरीको चर्चा थियो । 

आचार्य संसदीय दलका उपनेता हुन्। यसअघि उनी अर्थमन्त्री थिए। उनकै नेतृत्वमा एमालेले पाँच जनालाई माओवादीका जोखबहादुर महरा नेतृत्वको सरकारमा पठाएको थियो।

आइतबार मात्रै एमाले संसदीय दलका नेता लिला गिरीलाई मुख्यमन्त्री बनाउने भनिएको थियो। पार्टीभित्र उनी उपाध्यक्ष तथा अर्थमन्त्री विष्णु पौडेल निकट मानिन्छन्। 

नेपाली कांग्रेसका प्रदेश संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पनि दलका तर्फबाट लिला गिरीलाई मुख्यमन्त्री बनाउने भन्ने सहमति भएको बताएका थिए । 

आइतबार जोखबहादुर महराले मुख्यमन्त्रीबाट राजीनामा दिएपछि प्रदेश प्रमुख अमिक शेरचनले सोमबार दिउँसो १ बजेसम्म मुख्यमन्त्रीमा दाबी पेस गर्न दलहरूलाई आह्वान गरेका थिए।

सोहीअनुसार एमाले र नेपाली कांग्रेसले लिला गिरीको नेतृत्वमा सरकार गठन गर्ने भन्दै तयारी गरिरहेका थिए।

सोमबार बिहानसम्म पनि लिला गिरी नै मुख्यमन्त्री बन्ने पक्कापक्की जस्तै थियो। एमालेका प्रमुख सचेतक तुलसी चौधरीले लिला गिरीलाई मुख्यमन्त्रीका लागि दाबी पेश गर्न पत्र तयार गर्दै थिए।

तर अचानक एमाले महासचिव शंकर पोखरेलको एक फोनले लिला गिरीको नाममा टिपेक्स लागेको एमालेका स्थानीय नेता बताउँछन्।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर