• २०८१ भदौ २३ आइतबार
  • Sunday, 8 September, 2024

पहिलो महिला मुख्यसचिवः ‘राम्रो कामको फल राम्रै पाईयो’

काठमाडौं । नेपाल सरकारले कायम मुकायम मुख्यसचिव लीलादेवी गड्तौलालाई आज मुख्य सचिवमा नियुक्त गरेको छ । मुलुकको प्रशासनिक इतिहासमा उनी नै प्रथम महिला मुख्यसचिव हुन सफल भएकी हुन् । 

वर्तमान सरकारले नै उनलाई असार ३१ गते निमित्त मुख्यसचिवबाट कामु मुख्यसचिवको जिम्मेवारी दिएको थियो । विसं २०२३ साल भदौ १५ मा तेह«थुममा जन्मिएकी गड्तौला विसं २०५२ मा नेपालको निजामति सेवाको न्याय समूहको शाखा अधिकृतबाट राष्ट्र सेवामा प्रवेश गरेकी थिइन् । विसं २०६३ मा उपसचिव, विसं २०७० मा सहसचिव, २०७७ मा सचिवमा बढुवा भएकी थिइन् । उमेर हदका कारण उनी आउँदो भदौ १५ बाट सेवा निवृत्त हुनेछिन् ।

‘जस्तो कर्म गर्‍यो, त्यस्तै फल प्राप्त हुन्छ’ भन्ने विश्वास राख्ने नवनियुक्त मुख्यसचिव गड्तौलाले निजामति सेवामा राम्रै कर्म गरेको परिणामकारूपमा यो जिम्मेवारी प्राप्त भएको प्रतिक्रिया दिइन् । उनले भनिन्, ‘प्रधानमन्त्री केपी ओलीको नेतृत्वको सरकारको पहिलो मन्त्रिपरिषद्ले मलाई कामु मुख्यसचिवको जिम्मेवारी  दिएको थियो । १० दिनपछि मुख्यसचिवमा आज नियुक्त गरेको छ । यो सरकार महिलाप्रति उदार छ भन्ने देखियो, न्याय सेवाको कर्मचारीलाई मुख्यसचिवको जिम्मेवारी दिनुभएको छ, वर्तमान सरकारप्रति धन्यवाद छ ।’ 

इमान्दार भएर काम गरेमा कही न कही मूल्याङ्कन र अवसर प्राप्त गर्ने रहेछ भन्ने सन्देश समस्त निजामति कर्मचारीमा गएको बताउँदै मुख्यसचिव गड्तौलाले महिलालाई माथिल्लो तहको जिम्मेवारीमा दिन हिचकिचाउँछन् भन्ने भाष्य परिवर्तन हुँदैगएको धारणा व्यक्त गरिन् । निजामति कर्मचारीमा प्रवेश गरेका कर्मचारीमा मुख्यसचिव बन्ने लक्ष्य हुने बताउँदै उनले भनिन्, ‘त्यसमा केही पुगिन्छ, कोही पुगिन्न । केही सचिव र सहसचिवमा पुगिन्छ, कोही तलैबाट बाहिरिनुपर्छ । भाग्यछ भन्दैमा डोकोमा दूध अडिन्न, कर्म गर्नुपर्छ, राम्रो कर्म गरे राम्रो फल पाइन्छ ।’

राज्यबाट जनतालाई प्रदान गरिने सेवाप्रवाहमा सहज र सरल तुल्याउन सम्पूर्ण राष्ट्रसेवक निजामति कर्मचारी मिलेर काम गर्नुपर्ने आवश्यकता औंल्याउदै मुख्यसचिव गड्तौलाले संसदमा अड्किरहेको निजामति विधेयकलाई अघि बढाउन र राम्रो कर्म गर्ने कार्यलाई प्रोत्साहन र प्रेरणा प्रदान गर्न लागि पर्ने दृढता व्यक्त गरिन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर