कोशी सरकारबाट आज माओवादी बाहिरिँदै

विराटनगर । कोशी प्रदेश सरकारबाट नेकपा (माओवादी) केन्द्र बाहिरिने भएको छ।

कोशी सरकारका मुख्यमन्त्री हिक्मत कार्कीले नयाँ गठबन्धनका लागि मार्ग प्रसस्त गरिदिन भनेपछि माओवादी सरकार छाड्ने निर्णयमा पुगेको हो। 

मुख्यमन्त्री हिक्मत कार्की नेतृत्वको प्रदेश सरकारमा मगरसहित माओवादीका तीन मन्त्री र एक जना राज्यमन्त्री छन्। केन्द्रमा सत्ता गठबन्धन फेरिएपछि पनि माओवादीले कोशी सरकार छाडेको थिएन। 

माओवादीले कोशी सरकार छाड्ने निर्णय लिएपछि कांग्रेसको प्रदेश सरकार प्रवेशको बाटो खुल्नेछ। 

सत्ता गठबन्धनका नयाँ सहयात्रीहरू कांग्रेस र एमालेबीच कोशीको मुख्यमन्त्रीमा आलोपालोको समयसीमा तोक्न, मन्त्रालय र संवैधानिक नियुक्तिहरूको भागबन्डा लगाउन शुक्रबार काठमाडौंमा छलफल सुरु हुँदैछ। 

शीर्ष नेताहरुको तहबाट मुख्यमन्त्री पदमा आलोपालोबारे टुंगो लगाउने निर्देशन पाइसकेका दुवै दलले केन्द्रीय नेतृत्वकै उपस्थितिमा यसलाई औपचारिकता दिने बताएका छन्।  

कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका सांसद भीम पराजुलीका अनुसार पार्टीका शीर्ष नेताहरूको निर्देशन अनुसार मुख्यमन्त्री पदमा एमाले र कांग्रेसले आलोपालोको समयसीमा निर्धारण गर्ने, मन्त्रालयहरूको भागबन्डा गर्ने र  संवैधानिक नियुक्तिहरुको भागबन्डा पनि टुंगो लगाउने तयारी छ।   

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर