• २०८२ असार २० शुक्रबार
  • Friday, 4 July, 2025

प्रचण्डले भनेः 'एक्लै चुनाव लड्ने र जित्ने योजनाका साथ छलफल थालेका छाैं'

काठमाडाैं । सरकारबाट बाहिरिएकाे दल नेकपा माओवादी केन्द्रले एक्लै चुनाव लडेर जित्ने याेजनाका साथ छलफल थालेकाे बताएकाे छ ।

पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा आइतबार पार्टी प्रवेश कार्यक्रममा प्रचण्डले भने, "पार्टीको पदाधिकारी बैठक चलिरहेको छ। बैठकमा २०८४ को चुनाव एक्लै लड्ने र जित्ने योजनाका साथ छलफल चलिरहेको छ। यस्तो महत्वपूर्ण समयमा तपाईहरू पार्टीमा आउनुभएको छ। यसले फेरि माओवादीलाई शक्तिशाली बनाएर देशमा सुशासन कायम गर्न महत्वपूर्ण सन्देश दिनेछ।"

उनले १८ महिना सरकारको नेतृत्त्वमा रहँदा सुशासन, सामाजिक न्यायका पक्षमा अहोरात्र काम गरेको बताए।

प्रचण्डले भने, "१८ महिना सरकारको नेतृत्व गर्‍यौँ। हामीले असार २८ गते सरकार छोड्दा हामी विजयी भएर निस्किएका छौँ।हामी सुशासनका पक्षमा विजय भएर निस्किएका छौँ। 
भ्रष्टहरू मिलेर सरकार बनाएको कुरा बच्चा बच्चालाई पनि थाहा छ। यो कुरा जनतालाई पनि बुझाउन जरूरी छ।"

पार्टी प्रवेश गर्दै युवा नेता जगदिश दाहालले प्रचण्ड सरकार इतिहासकै सबैभन्दा सफल सरकार भएको र प्रचण्ड सुशासनका नायक भएकाले माओवादी केन्द्रमा प्रवेश गरेको बताए।

कार्यक्रममा नेकपा एमाले, नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी लगायतका दल परित्याग गरी मकवानपुर जिल्लाका ६० जनाभन्दा बढी नेता-कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन्।

यसैबीच पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शुक्रबारदेखि जारी पदाधिकारी बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, पार्टीको कमजोरी, विचारको विकास, पार्टी निर्माणमा आगामी योजनाबारे गम्भीर समीक्षा भइरहेको प्रवक्ता अग्निप्रसाद सापकोटाले बताए ।

‘वर्तमान परिस्थिति र पार्टी निर्माणमा गम्भीर बहस केन्द्रित भइरहेको छ । अध्यक्षले वैचारिक, राजनीतिक, सैद्धान्तिक सबै कुरा राख्न खुला गर्नुभएको छ । अहिलेसम्म बहसको निष्कर्ष अब पार्टीको सङ्घर्षका रूपहरू कस्ता हुन्छन् ? सदन र सडकलाई कसरी प्रभावकारी बनाउन सकिन्छ ? जनपरिचालनको रूप कस्तो हुन्छ भन्ने दृष्टिकोणबाट आइरहेका छन्, प्रवक्ता सापकोटाले भने, ‘यसलाई आगामी स्थायी समिति बैठकले खाका तयारी गर्नेछ । केन्द्रीय समिति बैठकले नयाँ योजना बनाएर अगाडि बढ्नेछ ।’

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर