• २०८१ असोज ३० बुधबार
  • Wednesday, 16 October, 2024

छोरा, मेरो किरिया नबार्नु  !

प्रिय छोरा प्राज्ञिक,
यस धर्तीमा कुनै पनि व्यक्ति सँधैभरका लागि भौतिकरुपमा जीवित रहन सक्दैन । मानिसको भौतिक मृत्यु अकाट्य सत्य हो । मृत्युपछि पनि जीवित रहने भनेको बाँचेका मानिसहरुको मन र मस्तिष्कमा सम्झनयोग्य भएर रहनु मात्र हो । 

मानवजातिको दिगो भविष्यका लागि कर्म गरेर मरेका व्यक्तिहरुलाई समाजले फेरि फेरि पनि जन्मिएर आइदियोस् भनेर सोच्दछन्–यो जीवनशील मृत्यु हो । मानवजातिलाई विभाजन, विभेद गरेर आफ्नो व्यक्तिगत स्वार्थका लागि कर्म गर्ने जीवित व्यक्तिहरुलाई समाजले पटक पटक चाँडै मरिदिए हुन्थ्यो भनेर सोच्दछन्–यो मरणशील जीवन हो । 

मानिस जन्मनासाथ मृत्युले उसलाई हरेक क्षण पछ्याइरहेको हुन्छ अनि बाँच्नका लागि मानिसले मृत्युसँग संघर्ष गरिरहेको हुन्छ । जीवन र मृत्युबीच अनिवार्य तर संघर्षपूर्ण सम्बन्ध हुन्छ अर्थात जीवन र मृत्युबीच द्वन्दात्मक सम्बन्ध हुन्छ । 

प्यारो छोरा,
तिमीले गाउँघर, शहरटोलतिर राम्ररी हे¥यो भने त्यहाँ एकखालका मानिसहरु धनसम्पत्तिमा चुर्लुम्म डुबेर आफ्नो जीवनलाई ऐशआरामका लागि मात्र प्रयोग गरिरहेका देख्छौ । उनीहरु निरन्तर मृत्युसँग डराइरहेका हुन्छन् । बाहिरबाट हेर्दा त्यो जीवन रम्झम्युक्त भएपनि भित्रभित्रै त्यहाँ मृत्युको भय हुन्छ । त्यसैले उनीहरु कडा सुरक्षागार्ड, बुलेटप्रुफ गाडिमा खुम्चिएर मृत्युको त्रासमा बसिरहेका हुन्छन् ।

तिमीले त्यही गाउँघर र शहरटोलतिर अझ घोरिएर हे¥यौ भने त्यहाँ अर्काखालका मानिसहरु पनि देख्छौ । हाड्मै टाँसिएको छाला, फुस्रो अनुहार लिएर पनि कठोर श्रम गरिरहेका । ती मानिसहरुलाई कठोर श्रम गरेर पनि दुई छाक खान पुग्दैन । उनीहरुमा जुनसुकै बेला मृत्युमा पुगिन्छ भन्ने पूर्व मानसिकता रहने भएकोले उनीहरुमा मृत्युको भय हुँदैन । उनीहरु बाँच्नका लागि संघर्ष गर्ने पात्रहरु भएकाले उनीहरुमा जीवनप्रतिको आशावाद हुन्छ । मृत्युको भय नभएकाले यो वर्गले नै मानवजातिको स्वर्णिम भविष्यका लागि हतियारबद्ध संघर्ष गर्न समेत पछि पर्दैन ।

प्यारो छोरा, 
तिमीलाई राम्ररी थाहा छ कि म द्वन्दात्मक ऐतिहासिक भौतिकवादमा विश्वास राख्दछु । विज्ञान नै सत्य हो र त्यो विज्ञानलाई विविधताले भरिएको समाजमा द्वन्दात्मक मान्यताका साथ लागु गर्नुपर्छ भन्ने कुरामा म विश्वास गर्दछु । यस अर्थमा म मृत्युलाई ‘मानिसको भौतिक अन्त्य तर उसका कर्महरुको निरन्तर जीवन’का रुपमा नै बुझ्दछु । 

चीनका महान नेता माओत्सेतुङ्गले मृत्यु र जीवनका सन्दर्भमा “परेवाको प्वाँखजस्तो हलुको मृत्युवरण गर्ने कि हिमालजस्तो गह्रुंगो मृत्युवरण गर्ने ?” भन्ने प्रश्न हामीहरु समक्ष छोडेर जानुभएको छ । वास्तवमा हिमालजस्तो गह्रुंगो मृत्युवरण गर्नु भनेकै मानव सभ्यता रहेसम्म जीवित रहनु हो ।

मृत्यु पनि बर्गीय हुन्छ । संघर्षशील गरीब श्रमजीवी वर्गको पक्षबाट हेर्दा पुँजीका बलमा श्रमलाई दबाएर बस्ने परजीवीहरुको मृत्यु सुखद् हुन्छ तर लाखौं जीवनका लागि समर्पित जनकर्मीको मृत्यु अन्यन्तै दुःखदायी हुन्छ । ठीक त्यसै गरी अरुको श्रममा बाँचेका पुँजीका ठेकेदारहरुको हेराई अनुसार श्रममाराहरुको मृत्यु दुःखद हुन्छ अनि भोकका लागि संघर्ष गरिरहेकाहरुको मृत्यु सुखद हुन्छ । यही द्वन्दात्मक हेराईका बीच चलिरहेको अन्तद्र्वन्दबाट नै समाजवादी रुपान्तरण ल्याउनुपर्छ । यो रुपान्तरणको पूर्णता क्रमिकरुपमा हुँदै जान्छ भन्ने कुरामा मलाई विश्वास छैन, यो रुपान्तरण त सचेत वैचारिक र भौतिक विद्रोहबाट मात्र सम्भव हुन्छ । 

मेरो छोरा,

हाम्रो समाज अझै पनि पिछडिएको साँस्कृतिक मूल्य मान्यतामा रहेको छ । धार्मिक अन्धता, छुवाछुत प्रथा, मानिस मानिसबीच घृणा र विभेद  अहिलेको समाजको वास्तविकता हो । यो समाज यस्तो हुनुमा एकथरी उच्च बर्गका मानिसहरुले अर्काथरी तल्लो बर्गका मानिसहरुलाई शोषण गर्न बनाएको नियम, कानुन र बन्धनहरु नै हुन् । मानिसलाई मानिससँग अलग गर्ने यस्ता नियम, कानुन र बन्धनहरु मानिसकै कल्पनाबाट जन्मिएको कथित परमात्मा (ईश्वर) को आडमा सृजना गरिएका छन् । 

छोरा प्राज्ञिक,

मैले यो पत्र लेख्नुको मूख्य आशय भनेको नै तिमीलाई अन्धविश्वास, धार्मिक आडम्बर र पुँजीको रवाफबाट मुक्त राख्नका लागि हो । कुनै न कुनै दिन मेरो मृत्यु हुन्छ । यो भौतिक सत्य हो । मृत्यु भएपछि हाम्रो सामाजिक चलन अनुसार चीतामा आगो लगाएर विसर्जित गर्नु त पर्छ नै । मेरो मृत्युपछि तिमीलाई समाजमा रहेका धार्मिक चिन्तनका मानिसहरुले मेरो आत्माशान्ति गर्नु पर्छ भन्नेछन् । हुन त मैले तिमीलाई मृतकको आत्मा धर्तीमा भड्किने कुरा झुठ हो भनेको छु अनि कर्मकाण्ड गरेपछि मृतकको आत्मा कर्म अनुुसार स्वर्ग र नर्कमा जान्छ भन्ने कपोकल्पित कुरालाई स्वीकार्नु हुँदैन पनि भनेको छु । 

तर मेरो प्यारो, यो समाज भयंकर निर्मम छ । मैले तिमीलाई मेरो लागि कुनै पनि खाले परलौकिक कर्म नगर्न भनेता पनि धार्मिक अहंकारमा बसेका मानिसहरुले तिमीलाई टाउको मुडुल्याउन, पुरेत पण्डितसँग बसेर आतेपाते गराउन र आखिरमा मेरा लागि पिण्ड लडाउन लगाएर श्राद्ध गर्न बाध्य बनाउँछन् । यो कुरा मैले बुझेको हुनाले नै मैले तिमीलाई यो खुला पत्र लेखेको हुँ । तिमीलाई मेरो मृत्यु पछि धार्मिक आडम्बर सहितको कर्मकाण्ड गराउन कसैले दबाव सृजना गर्छ भने तिमीले मेरो यो पत्रलाई साक्षी राखेर मेरो किरिया कर्म नबार्ने अठोट लिनुपर्नेछ ।

धेरैले भन्नेछन्, “हिन्दू भएर पनि बुवाको किरिया नगर्ने पापी होस् तँ ।” तर तिमी विचलित हुनुपर्दैन । तिमी र मैले बोकेको थरलाई आधार मानेर हिन्दू भनिदिने वा आफूलाई सोध्दै नसोधी हिन्दू भन्ने कोठामा चिन्ह लगाउने जनगणनाका गणकहरुको जस्तो बिषय हैन किरिया बार्ने कुरा । वि.पि. कोइरालाले आफ्नो पिताजीको किरिया गरेनन् तर उनी देशको सम्मानित व्यक्ति भएका छन् । नेपाली गणतन्त्रका नायक कमरेड प्रचण्डले पनि बुवाआमाको किरिया गरेनन् तर उनी गणतन्त्रात्मक देशका प्रथम प्रधानमन्त्री बन्नपुगे । डिल्लिरमण रेग्मी, माधवकुमार नेपालले पनि किरिया बारेनन् । प्रसिद्ध साहित्यकार पारिजातले त आफ्नो शवको शिरमा लेनिनको तस्वीर राखेर अन्त्येष्टी यात्रा गराउन आग्रह गर्नुभएको थियो र वहाँका शुभचिन्तकहरुले त्यसै गरेका थिए । तर पारिजातको लोकप्रियता घटेन ।

मैले यस्ता मान्छेहरु पनि देखेको छु जसले बाँचुन्जेल मातापितालाई खुसी दिएकै हुँदैनन् तर मरेपछि एक÷एक संस्कार मान्दै मातापिताप्रति समर्पित भएको ढोङ्ग गर्छन् । बाँचेको बेला मातापितालाई केही मिठो मसिनो खान मन लागेको छ कि ! भनेर पटक्कै नसोच्ने, केही खान लाउन रहर गरेभने पनि तितो बचन लगाएर गहभरी आँशु बग्ने अवस्था बनाइदिने अनि मरेपछि दुनियाँलाई देखाउँनका लागि पिण्ड लडाउनेहरु नै सबैभन्दा ठूलो स्वरमा किरिया कर्मको वकालत गरिरहेका हुन्छन् । मैले यस्ता किरियापुत्रीहरु त प्रशस्त देखेको छु जो तेह्र दिनको झन्झट कसरी काट्ने होला भनेर उकुसमुकुस भइरहेका हुन्छन् तर बाहिर भने मातापिताको सबैभन्दा प्यारो भएको स्वाङ्ग पारिरहेका हुन्छन् । उनीहरु आफ्नो संस्कार बचाउँनुपर्छ भन्ने तर्क समेत गर्छन् । संस्कार त वैज्ञानिक, उत्पादनशील खालको पो बचाउँनुपर्छ । त्यस्तो समाज र सरकारको के कुरा गर्नु ! जसले बाबुआमाको मुख हेर्ने चलनमा एकदिनको बिदा त दिँदैन तर मरेपछि तेह्र दिनको किरिया बिदा दिन पुग्छ । अवैज्ञानिक सँस्कार र चलन त हटाउँनै पर्छ । पुरानो सँस्कारलाई अवैज्ञानिक भएपनि मनाउँनु पर्ने हो भने त सतिप्रथा अझै कायम रहेको हुने थियो ।

प्राज्ञिक बेटा,

धार्मिक मानिसहरुले भनेजस्तो ‘आत्मा’ भन्ने कुरा हुँदैन । उनीहरुले भनेजस्तो ‘आत्मा’ भुत बनेर भड्किन्छ भन्ने कुरा मानिसहरुको मनमा डर पैदा गर्ने परापूर्वकालदेखिको नियोजित योजना हो । ‘भुत’ भन्ने कुरा मानिसको डरलाई भजाएर कथित आत्माको मुक्ति गराउँने नाममा धार्मिक पण्डित, पादरीहरुले चलाएको कुसल व्यापारको एक अंश हो । कोहीकोहीले धर्मशास्त्र पल्टाउँदै आत्मा र परमात्माको मिलनको मित्थ्या कुरा तिमीलाई सुनाउँनेछन् । त्यतिबेला तिमीले उनीहरुकै धर्मशास्त्रमा देखिएका चार्वाक ऋषिका कुरा गरिदिनु । ‘मृतकका नाममा पिण्ड चढाउँदा मरेका पितृले खान पाउने हो भने परदेश गएका बुवालाई भोक नलागोस् भनेर घरमा छोराले पिण्ड चढाउँदा परदेशमा भएको बुवाले त्यो खान पाउनुपर्ने हो तर त्यस्तो हुँदैन’ भन्ने कुरा हजारौं बर्षअघिका ऋषि चार्वाकको मत थियो । आजको विज्ञानको युगमा त्यसबेलाको लोकायत दर्शनका प्रवर्तक चार्वाक जतिको बौद्धिक समेत बन्न नसकेर पिण्ड चढाउन जाने, गाई दान गरेर पितृलाई बैतर्णाी नदी तारेको भ्रम बोक्ने जस्ता कार्य कम्तिमा तिमीले गर्दै नगर्नु ।

परापूर्व कालदेखि श्रम गर्नेहरुलाई अपहेलना गर्ने प्रचलन राज्यसत्ताले बनाएको थियो र त्यसलाई तर्कद्वारा ठीक ठह¥याउन धर्मगुरुहरु तयार गरिएका थिए । लुगा सिउने पेशा गर्नेलाई, धातुको काम गर्नेलाई, छालाको काम गर्नेलाई अछुत बनाइयो । जसले उत्पादनशील काम गर्छ उसलाई अछुत बनाउने काम भयो अनि हुँदै नभएको स्वर्ग तार्ने पाखण्डी कुरा गरेर सर्वसाधारणको धनसम्पत्ति लुट्नेहरुलाई उच्च कर्म भन्ने धार्मिक व्यवस्था गरियो । म तिमीबाट त्यस्तो अनुत्पादक कर्म गराएर पाखण्डवादको मतियार बन्न चाहन्न ।

तिमीले गीताको अध्ययन गरी हेर । त्यहाँ लेखिएको छ कि, ‘हामीले दिनहुँ कपडा फेरे जस्तै गरी आत्माले पनि शरीर फेर्ने गर्छ ।’ । तिमीले गरुडपुराण अध्ययन गरी हेर । त्यहाँ ‘शरीर फेर्दै हिंड्ने भड्किएको आत्मालाई वैतर्णी तारेर मुक्त गराउनुपर्छ ।’ भन्ने कुरा लेखेको छ । एउटै सनातन धर्मभित्र दुईथरी मान्यता पस्किएको छ । यो सब मानिसको मनोगत धारणा मात्र हो । एकखाले मौका मिल्यो भने पुनर्जन्मको भ्रम छरेर मानिसले मानिसलाई शोषण गर्ने प्रथालाई जोगाइरहने अनि अर्कोथरी मौका मिल्यो भने आत्माशान्तिको भ्रम छरेर मानिसहरुबाट पैसा, कपडा, गाई मागिरहने । यो एउटा योजनाबद्ध धार्मिक व्यापार हो । यो त मृत्युमाथिको व्यापार मात्र हो । 

प्राज्ञिक,

मैले जनै लगाएको छैन । जनै लगाउने भाष्यमा नै जातीय विभेदको सार लुकेको छ । मैले तिम्रो न्वारन गर्दा पनि ब्राह्मण÷पुरोहित बोलाइन । हाम्रो दाजु खेमनाथ खतिवडालाई रमाइलोका लागि बुवाले “ज्योतिष ग्रहशास्त्रमा के नाम जुर्दो रहेछ, हेर त ?” भन्नुभएको थियो अनि खेमनाथ दाजुले ‘ग’ बाट नाम जुर्दो रहेछ भन्नुभयो । तिम्रो नाम मैले नै राखें– प्राज्ञिक । त्यसदिनदेखि अहिलेसम्म तिमीले राशीफल हेरेको मलाई थाहा छैन । तिम्रो चिना, टिपन केही पनि बनाएको छैन । तिमीलाई राशीफल खोज्ने भाग्यवादी नबनाउन मैले नै वातावरण बनाएको हुँ र तिम्रो आमा (मम्मा)ले त्यसलाई साथ दिएकी हुन् । तिम्रो ब्रतबन्ध गर्न मैले चाहेको थिइन । तिम्रो मामाको छोराको ब्रतबन्धमा जाँदा तिमीलाई पनि मेरो चाहनाविपरित ब्रतबन्ध गराइएछ । मैले तिम्रो ब्रतबन्धको कार्य बहिस्कार गरेको थिएँ । त्यो बेला तिमी सानै थियौ अनि ठीक÷बेठीकको तर्क गर्ने विवेक तिमीसँग थिएन । तर अहिले त तिमीले पनि जनै लगाउँदैनौ । यस अर्थमा ब्राह्मणवादीहरुको नजरमा हामी बर्णशंकर नै हौं ।

राणाशासनका विरुद्ध संघर्ष गरेर स्थापित नेता विशेश्वरप्रसाद कोइरालाको अन्तिम लेख बि.सं. २०३८ साल पुष महिनामा ‘राष्ट्रपुकार’ भन्ने पत्रिकामा प्रकाशित भएको थियो । त्यस लेखको अन्तिम अनुच्छेदमा वहाँले लेख्नुभएको छ, “ममाथि धर्मको ठूलो असर परेको छ । तर, कसैले सोधोस्– विहान नुहाउँछस् कि नुहाउँदैनस् ? जनै लगाउँछस् कि लगाउँदैनस् ? टुप्पी छ कि छैन ? आस्तिक हो कि नास्तिक हो ? मलाई यो निरर्थक लाग्छ । मैले भनिहालें म देवताकहाँ प्रार्थना कहिल्यै पनि गर्दिन । किनभने मैले देखेको छु – मेरोभन्दा बढी आवश्यकता परेका मानिसहरुको प्रार्थना देवताले सुन्न सकेका छैनन् भने म त्यत्रो दम्भी कि मेरो कुरा पुग्छ भनेर म प्रार्थना गरौं ? त्यो दम्भ मलाई छैन । त्यसो हुनाले मैले देवताकहाँ कहिल्यै पनि प्रार्थना गरिनँ ।” वि.पि. कोइराला भौतिकवादी थिए भन्न म सक्तिन तर उनको यो भनाईलाई आधार मानेर प्रजातान्त्रिक पक्षधर हौं भन्ने धार्मिक मानिसहरुलाई तिमीले व्यक्तिको स्वतन्त्रतामा हस्तक्षेप नगर्न बलियो तर्क गर्न सक्छौ ।

बाबु प्राज्ञिक,

मलाई स्वर्ग र नर्कमा विश्वास छैन । विगतको विश्व इतिहासलाई तिमीले हे¥यौ भने दासहरुलाई कोर्रा लगाएर काममा जोताउने, दासदासीहरुको खरिदविक्री गर्ने मालिक बर्गका मानिसहरु नै ईश्वर बनेका थिए । कठोर श्रममा जोतिएका दासहरुले हात जोडेर रुँदै उनीहरुसँग दुई छाक खानका लागि प्रार्थना गर्थे । स्पार्कटास जस्ता विद्रोही दासहरुलाई ती मालिकहरुले आतंककारी, दैत्य भन्दै ऊ मरेपछि नर्क जाने कुतर्क गर्थे । जो अत्याचार गर्छ, ऊ स्वर्ग जाने अनि जो विद्रोह गर्छ ऊ नर्क जाने कुरा संसारभरकै धर्मग्रन्थको सार हो । हिन्दू धर्मभित्रका दलित दास विद्रोही महिषाशुरलाई धार्मिक मानिसहरु दैत्य भन्छन् अनि दलित शंबुकको हत्या गर्ने रामलाई भगवान भन्छन् । तसर्थ काल्पनिक नै सही, मलाई शोषक बर्गले तयार गरेको कथित मुक्तिस्थल ‘स्वर्ग’ जानु नै छैन । महान बैज्ञानिक स्टीफन हकिंगले भने जस्तै “न ईश्वर ! न स्वर्ग ! हामीसँग बस् एउटा जीवन छ ।” भन्ने कुरासँग नै मेरो सामिप्यता छ । 

जब पुँजीवादी क्रान्ति सम्पन्न भयो, तब विज्ञानको व्यापक विकास भयो । तर पुँजीवाद भनेको नाफाका लागि नैतिक÷अनैतिक सबैकुरा स्वीकार गर्ने व्यवस्था भएको हुँदा मानिसभित्रको धार्मिक ऐँजेरुलाई उखेल्न उसले प्रयत्न गरेन । पुँजीवादले धर्मभित्र नाफा आर्जनको असिमित सम्भावना देख्यो । मुर्तिको व्यापार, लकेटको व्यापार, घण्टी र धुपबत्तीको व्यापारले गर्दा पुँजीवादले धर्मलाई संरक्षण गर्न थाल्यो ।

अकुत अवैध सम्पत्ति कमाएका पुँजीपतिहरुले आफूले आर्जन गरेको केही अंश धार्मिक कार्यमा लगाएर आफूलाई प्रतिष्ठित बनाउन थाले जसले गर्दा कालोधनको संचयकर्ता भएको आरोपबाट पनि मुक्त हुने साह्रै काइदाको अवसर पायो पुँजीवादले । त्यसैले त सन १६९४ देखि सन १७७८ सम्म बाँचेका फ्रान्सेली दार्शनिक भोल्तेयरले धर्मप्रति ठट्टा गर्दै भनेका छन्, “जब पहिलो मुर्खले पहिलो ठगलाई भेट्यो तब धर्मको शुरुवात भयो ।” 

मेरो मृत्युपछि मेरो नामका अगाडि ‘स्वर्गीय’ भन्ने शब्द कहिल्यै नराख्नु बरु यही संसारमा कीर्ति छोडेर जान सकें भने मेरो नामका अगाडि ‘कीर्तिशेष’ भन्ने शब्द राखिदिनु । तिमीले मेरो श्राद्ध गर्नुपर्दैन । मेरो स्मृति दिवसका दिनमा समाज रुपान्तरणको ध्येय राखेर लेखेका मेरा रचनाहरुलाई बचाउने कार्य गरिदियौ भने पुग्छ । मेरो स्मृति दिवसमा आधुनिक संचार प्रविधिमार्फत मेरा रचनाहरुलाई प्रचार प्रसार गरिदिने कार्य गरिदियौ भने पुग्छ । म पुरस्कार पाउँनका लागि लेख्दिन, म प्रशंसा र प्रचारप्रसारका लागि लेख्दिन ।

कसैले मेरो रचनाहरुमा समालोचना गरिदियोस् भन्ने आशा पनि मैले बोकेको छैन । मेरा रचनाहरुले गरिखाने बर्गलाई संसारको वास्तविकता बुझाउन सहयोग ग¥यो भने वा मेरा कृतिहरुले विज्ञानको संसार नबन्दासम्म निरन्तर विद्रोहको विगुल बजाइरहन सक्यो भने मेरो अभिष्ट पूरा हुन्छ । तिमीले मेरो यो अभिष्टलाई बुझिदिए मात्र पुग्छ ।

छोरा, तिमीले मेरो शोक मनाउँदा नुन नबार्नु । घ्यू–चिनी–भात खाने भन्ने कुरा सुगर र कोलस्ट्रोल रोगीलाई चाँडै मार्ने बिष नै भैहाल्यो । टाउको मुडुलो पार्ने, टुप्पी राख्ने, गरुड पुराण लगाउने कार्य गर्नुभन्दा बरु प्रगतिशील विचारकहरुलाई बोलाएर समाजको रुपान्तरण सम्बन्धी गोष्ठी र अन्तक्र्रिया गर्ने कार्य गर्नु । निराशाले घर गर्न थालेमा जीवनशील गीतहरु सुन्नु, बाँच्नका लागि संघर्ष गरेका व्यक्तिहरुको साहित्य र जीवनी पढ्नु, मानिसहरुलाई प्रोत्साहित गर्ने प्रेमगीतहरु सुन्नु ।

ज्ञानी छोरा प्राज्ञिक, भौतिकवादी सोचाईका साथ शोक मनाएको देखेर केही उग्र हिन्दूवादीहरुले तिमीलाई क्रिश्चियनको एजेण्ट समेत भन्नेछन् । विवेकलाई पौराणिक शास्त्रको पानामा बन्धक बनाएर यथार्थप्रति आँखा चिम्लनेहरुले जे भने पनि फरक पर्दैन । तिम्रो जिजुबुबा खड्गप्रसाद दाहालले बिरामी भएर थला परेको बेला तिम्रो हजुरबुबा दुर्गाप्रसाद दाहाललाई आफ्नो तेह्र दिने किरिया गर्नु पर्दैन भन्नुभएको थियो रे ! तिम्रो जिजुबुबा निजानन्द प्रणामी मत राख्ने आस्तिक व्यक्ति हुनुहुन्थ्यो ।

प्रणामी निजानन्द धर्मावलम्बीले मृतकको आत्मालाई प्रेत बनाएर मुक्त गर्ने कुरा मान्दैन र त्यसले पिण्ड लडाउने र श्राद्ध गर्ने मान्यतामा पनि विश्वास गर्दैन । त्यही भएर तिम्रो जिजुबुबाले आफ्नो आत्मालाई परमात्मासँग मिलाउँन अक्षरातित परब्रह्मको आरती गरे पुग्छ भन्ने मत राख्नुहुन्थ्यो । तिम्रो जिजुबुबालाई क्रिश्चियन भन्न पाइन्छ त ? वहाँ पनि पूर्विय धार्मिक दर्शनकै एक अनुयायी हुनुहुुन्थ्यो । तिम्रो हजुरबुबा दुर्गाप्रसाद दाहालले तिम्रो जिजुबुबाको श्राद्ध गर्दा पण्डित बोलाएर दुना–टपरीमा कुश चोपलेको मैले देखेको छैन । तिम्रो जिजुबुबाको चाहना अनुसार अक्षरातित परब्रह्मलाई आरती गरिदिनुहुन्छ । बस्, त्यति मात्र ।

कसैले क्रिश्चियन भनिदिन्छ भने वा मुसलमान भनिदिन्छ भने त्यो उसको मनोगत डाहा सिवाय अरु केही हैन । त्यसैले भौतिकवादीहरुले किरिया बार्ने र भौतिकवादीहरुको किरिया बार्ने कुरा नै आउँदैन । कसैकसैले तेह्र दिनको सट्टामा तीन दिन वा पाँच दिन किरिया बार्न सकिने समेत भन्छन् । धार्मिक विधिबाट किरिया नगर्ने भएपछि तीन दिन वा पाँच दिन भन्नुको कुनै अर्थ पनि रहन्न ।

अन्तमा,

म तिमीलाई भारतका एक प्रख्यात महापण्डित राहुल साँकृत्यायनको भनाईलाई मनन् गर्न भन्दछु । महापण्डित राहुल साँकृत्यायन भन्नुुहुन्छ, “जुन दिन धर्तीलाई स्वर्गमा परिणत गराइन्छ, त्यही दिन आकाशको स्वर्ग ढल्न पुग्छ ।” 
तिमीलाई माया गर्ने बाबा
रोहित दहाल

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर