• २०८१ असोज १८ शुक्रबार
  • Friday, 4 October, 2024

प्रधानमन्त्री ओली र देउवा बिरुद्ध जनताको कठोर नाराको यथार्थ !

वर्तमान सत्ता–राजनीति र कथित ‘लोकतान्त्रिक गणतन्त्र’ का गतिविधि हेर्दा २०४६ पछिको राष्ट्रिय राजनीतिमा योग्य व्यक्तिको खडेरी नै लागेको हो कि भन्ने प्रश्न उठ्नेगर्छ । अहिले एकातिर देउवापत्नी आरजू प्रधानमन्त्री बन्ने हल्ला प्रायोजित रुपमा चलाईएको छ । यो काम आरजुलाई बोकेर हिंडेका केही निहित स्वार्थी समुहको कुत्सित नियतको मञ्चन हो भन्ने लाग्छ ।

एकातिर हालै प्रधानमन्त्री खड्गप्रसाद ओलीले “अब म नेपालको प्रधानमन्त्रीमा महिलालाई राख्न प्रयास गर्नेछु.....” भनेको सन्दर्भ, अर्कातिर आरजू राणा देउवा प्रधानमन्त्री बन्ने प्रायोजित हल्ला, यसो भएमा आफू प्रधानमन्त्री बनेसरह मान्ने देउवाको निष्कर्ष हेर्दा यो गठबन्धनमा अब प्रधानमन्त्री बन्ने पालोमा काँग्रेसबाट देउवाले आरजूलाई प्रस्तुत गर्नकै लागि सत्ता गठबन्धनको पर्दा पछाडि ओली र देउवाको गुप्त सल्लाह भएको छैन भनेर ढुक्क हुन सकिन्न ।

काँग्रेसभित्र देउवा–गुटमा आरजूलाई रिझाएर देउवाको निकट हुन पुगेका मानिसहरूको बाहुल्य बढ्दै गएको छ । त्यस्ता मानिसहरूको भनाई नै छ, “देउवालाई आफ्नो बनाउनु छ भने आरजूलाई रिझाउनुपर्छ !” ठीक यस्तै चरित्रको राजनीतिक गतिविधि भारतमा इन्दिरा गान्धीको दबदबामा सञ्जय गान्धी को बढ्दो दबदबा थियो । सञ्जय गान्धीलाई बोकेर हिंडेका एकथरि इन्दिराभक्तहरूको भनाई नै थियो, “अगर गायको अपने पास रखना हो तो बछडे पकड में लेलो !” लैनो बाच्छो लिएर हिंडेपछि माउ गाई त ड्वाँड्वाँ कराउँदै बाच्छाको पछिपछि आईहाल्छ नै !

ठीक यही सूत्रका साथ काँग्रेस हुँ भन्ने एक हुल स्वार्थीहरू आरजूलाई उचालिरहेका छन् । तर नेपालको संविधानले समानुपातिक निर्वाचनबाट आएको प्रतिनिधिसभाको सदस्य (सांसद) प्रधानमन्त्री बन्न जननिर्वाचित व्यक्ति नै खोज्छ भन्ने सामान्य हेक्का सम्म रहेको देखिन्न।

के त्यसो भए काँग्रेसमा प्रधानमन्त्री बन्न योग्य व्यक्ति कोही छैन त ? नभएका होइनन्, पचासौं छन् । तर घुमिफिरी एउटै  देउवा पाँच पटक प्रधानन्त्री भईसकेका छन् र अब छैठौं पटकको लागि बल लगाईरहेका छन् । २०५२ मा प्रधानमन्त्री भएको शेरबहादुर देउवालाई सम्भवतः ०८३ मा छैटौं पटक प्रधानमन्त्री बनाउने पालैपालो सत्ता बिलास र देशदोहनको  षड्यन्त्र चलिरहेक छ । हामी निरीह, असहाय, निमुखा भएर टुलुटुलु हेरिरहेका छौं, मानौं अन्याय सहनु नेपाली जनताको नियति हो । यस बीचमा उनले ‘अबको पालो युवालाई प्रधानमन्त्री बनाउने....’ भनेर चुईंक्क बोलेनन् । आफू सम्भव नभए आरजूलाई प्रधानमन्त्री बनाउने उनको ‘दह्रो विकल्प’ छ ।

२०५२ देखि यता मेची–महाकालीमा धेरै पानी बगिसक्यो । देउवाकै पालामा देशब्यापी नरसंहार, रक्तपात, लुटपाट र लाखौं नेपालीलाई बासउठ्ठा गराएको आतंककारी घोषित समूह देउवाकै सत्ताको सेयरहोल्डर र राजनीतिक मित्रशक्ति बनेका छन् । यस बीचमा छिमेकी भारतमा पीभी नरसिम्हा राव, राजीव गान्धी, डा. मनमोहन सिंह, नरेन्द्र मोदी प्रधानमन्त्री बने । ०५२ देखि यता ३० वर्षको अवधिमा अमेरिकामा बावु जर्ज बुस, बिल क्लिन्टन, छोरा जर्ज बुश, बराक ओबामा, डोनाल्ड ट्रम्प, जो बाइडेन राष्ट्रपति बने । यी दुवै लोकतान्त्रिक मुलुकमा जनमतद्वारा सत्ता हस्तान्तरण हुँदै आयो ।

तर लोकतान्त्रिक गणतन्त्र नेपालमा सत्तामोहको दुर्गन्धबाट डुंडुंक्ति गनाएका ३ मनुष्य पालैपालो प्रधानमन्त्री बनेर सिद्धान्तहिन, नैतिकहिन, जिम्मेवारीविहिन कुशासन को जाँतोमा जनतालाई पिसेर निचोर्ने शासन चलाइरहेका छन् । सत्ताको बागडोर आफूहरूबाट अन्यत्र नउम्कियोस् भन्ने देशद्रोही समझदारी यिनीहरूका बीच भएको यथार्थ उनीहरूको काम गराइले नै पुष्टि गरिरहेको छ ।

देउवा छैटौंपटक प्रधानमन्त्री किन बन्ने ? के शेरबहादुर देउवाको आखा र बुद्धिमा मुलुकलाई कायापलट गर्ने सपना अझै जिउदै होला त, उनका यस अघिका गतिविधिले त्यो पटक्कै देखाउदैन।पटक पटक प्रधानमन्न्त्री वन्ने  आफ्ना भक्त र श्रीमतीको चाजोपाजोको राम्रै व्यवस्था गर्ने बाहेक मुलुकको के सुधार होला र ?

ओली चौथोपटक प्रधानमन्त्री भएर देश र जनताले के पाउने ? पहिलेभन्दा अहिले शासन–प्रशासन र डेलिभरिमा के सुधार देखियो ? उनी आफ्ना महाभ्रष्ट भक्तहरूलाई चौतर्फी रूपमा बचाउन तल्लिन छन् ।

पूरा १० वर्ष मुलुक ध्वस्त र जनजीवन अस्तव्यस्त बनाएको १८ हजार नेपालीको रगतका सिर्काले मुख र शरीर लतपतिएको चरित्रले ३ पटक प्रधानमन्त्री बनेर के गर्यो ? अब चौथोपटक

प्रधानमन्त्री केको लागि हुने ?
विगत चार वर्षमा दक्षिण एशियाली मुलुक– अफगानिस्तान, श्रीलंका र बांग्लादेशबाट जनतामा यस्तै अतिवादी क्रुर दमनकारी शासन चलाउने राष्ट्रपति र प्रधानमन्त्रीहरूले जनविद्रोहको कारण सत्ता मात्र छोड्नु परेन, देशै छोडेर भाग्नुपर्यो ! तेस्तै लक्षण नेपालमा पनि गाडा रुपमा देखा परेको छ । तर सत्ता उन्मादले अन्धो भएका यी ३ मूख्य महाभ्रष्टले त्यो खतरा आफैंतिर आईरहेको देख्न सकेका छैनन् वा देखे पनि सत्ताको नसाले गर्दा त्याग देखाउन चाहिरहेका छैनन् ।

देउवा, ओली र दाहालले सत्ता छोड्न जतिसुकै नचाहे पनि जनविद्रोह उन्मुख हुँदैआएको परिस्थिति कति कठोर हुँदैछ भने यही भदौ १० गते काठमाडौं को टुँडिखेलमा भेला भएका सुदूरपश्चिमेली जनताले मेचीका ओली र महाकालीका देउवा विरुद्ध चर्को नारा लगाए । प्रधानमन्त्री खड्गप्रसाद ओलीलाई त “देश छोड्“ कै नारा लाग्यो । अलिकति विवेक र दूरदर्शिता यिनीहरूमा छ भने यिनीहरूले सत्तामा जुका झैं टाँसिईरहने लिप्साबाट मुक्त हुनुपर्छ । इतिहासको विरासतमा मोजमस्तिले देश लुटिरहने, ३०÷४० वर्षसम्म एकै प्रकारका मान्छेहरूले मात्र नेतृत्व गरिरहने के यो न्याय संगत हो ?
 
अव बांग्लादेशको पछिल्लो परिस्थिति नेपालमा दोहोरिने कठोरता भोग्न तयार हुनुपर्छ । 
बांग्लादेश र श्री लंकाको स्थिती कसैको पन्जामा वा खल्तीमा थिएन, कसैले छेकेर पनि रोक्न सक्दैनथे। त्यस्तै नेपालमा पनि यो जनआक्रोशले बारूद यसरी भरिंदैछ कि त्यो कुन बेला विष्फोट हुनेहो । तर विष्फोट अनिवार्य छ । जनविद्रोहको आँधीले सत्ताका सम्पूर्ण कुडा–कर्कटलाइ सदाको निम्ति बढार्ने अवश्यम्भावी छ ! त्यो दिन छिटो आउदै छ, चेतना भया !
 ................................  
शुक्रबार, १४ भदौ २०८१

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर