• २०८१ असोज १ मंगलबार
  • Tuesday, 17 September, 2024

ममता बेपत्ता मुद्दामा ग्रान्ड जुरी रद्द गराउन नरेशका पक्षबाट दायर गरिएको मोशन स्वीकृत

भर्जिनियामा बेपत्ता नेपाली नर्स ममता काफ्लेको शव लुकाएको अभियोगमा पक्राउ परेका श्रीमान् नरेश भट्टलाई बिहिबार अदालतमा पुनः उपस्थीत गराइएको छ । ग्रान्ड जुरीको समेत अधिकार त्याग्नका लागि न्यायाधीशसमक्ष अनुरोध गर्दै नरेशका वकिलबाट दायर गरिएको मोशनका सन्दर्भमा भएको सुनुवाईका क्रममा उनलाई अदालतमा उपस्थीत गराइएको हो ।

आज बिहिबार विहान १० बजेका लागि सुनुवाई तोकिएको थियो तर नरेशले आफूलाई नेपाली अनुवादक चाहिने बताएपछि नेपाली अनुवादकको अभावमा सुनुवाई केहीबेर सारिएको थियो । न्यायाधिसले ग्रान्ड जुरी रद्द गराउन नरेशका पक्षबाट दायर गरिएको मोशन स्वीकृत गरेका छन् । अर्थात् अब यो मुद्दामा ग्रान्ड जुरी राखिने छैन । अब अर्को सुनुवाई सेप्टेम्बर १६ का लागि तोकिएको छ ।

अक्टोबर २४ को प्रारम्भिक सुनुवाइ रद्द गर्नका लागि पनरेश भट्टका तर्फबाट दायर गरिएको मोशन गत बिहिबार अदालतले स्वीकार गरेपछि अक्टोबर ७ का लागि ग्रान्ड जुरी तोकिएको थियो ।  प्रिन्स विलियम काउन्टी जुडिसियल सेन्टरको कोर्टरुम २ मा विहान पौने ९ बजेका लागि ग्रयाण्ड जुरी तय भएको थियो । तर ग्राण्ड जुरी रद्द गर्ने मोशन स्वीकृत भएकाले मुद्दा अझ छिटो प्रकृयामा जानेछ ।

गत बिहिबारको सुनुवाइमा अभियोजकहरूले नरेशको प्रस्तावमा विरोध नगरेपछि अक्टोबर २४ मा हुने प्रारम्भिक सुनुवाइ छुट दिनका लागि  दायर  मोशन स्वीकृत गरिएको थियो । नरेश सुनुवाईका क्रममा अदालतमा उपस्थीत भएका थिए । नरेशको डिफेन्स टोलीले अदालती प्रक्रियालाई गति दिनका लागि प्रारम्भिक सुनुवाइमा छुटको प्रस्ताव गरेको थियो । जसका कारण  मुद्दा सीधै अर्को चरणमा अर्थात्  ग्रयाण्ड जूरी सुनुवाइमा गएको थियो ।

प्रारम्भिक सुनुवाई र ग्रान्ड जुरी रद्द गर्दा अभियोजकहरुलाई थप प्रमाणहरु जुटाउनका लागि कम समय हुनेछ । नरेशलाई विना धरौटी हिराशतमा राखिएकाले नरेशको डिफेन्स टोलीले मुद्दालाई छिटो अगाडि बढाउन चाहेका थिए । प्रारम्भिक सुनुवाइ र ग्रान्ड जुरीले मुद्दामा थप ध्यानाकर्षण र चर्चा समेत हुने गर्छ । सम्भवत नरेशको डिफेन्स टिम यसलाई कम गराउने रणनीतिमा रहेको छ । मुद्दा अगाडि सर्दा अभियोजन पक्षमाथि थप दवाव श्रृजना हुनसक्छ । त्यसैले नरेशको डिफेन्स टिमले यही रणनीतिमा ग्रयाण्ड जूरी पनि रद्द गराएको छ ।

ममता बेपत्ता घटनाको अनुसन्धान गरिरहेको भर्जिनियाको मनासस पार्क प्रहरीले गत शुक्रबार सिग्नल हिल पार्कमा खोजी गरेको थियो । अधिकारीहरूले थप प्रमाणहरू खोज्न जारी राखेका छन् । ममता काफलेको शव लुकाएको अभियोगमा पक्राउ परेका श्रीमान् नरेश भट्टमाथि थप अभियोगहरु लाग्नसक्ने प्रहरीले जनाएको छ ।

यस अगाडि भएको सुनुवाईमा नरेशलाई  अदालतले धरौटीमा रिहा गर्न अस्वीकार गरेको थियो । न्यायाधीशले नरेश भट्ट भाग्नसक्ने जोखिममा रहेको र समुदायका लागि खतरा भएको विश्वास गर्दै धरौटीमा रिहा गर्न अस्वीकार गरेका थिए । नरेशका वकिलले ममता फेला नपरेकाले यस मुद्दामा धरौटीविना राख्नुपर्ने कुनै सम्भावित कारण नभएको भन्दै तर्क गर्न खोजेपनि अदालतले धरौटीमा रिहा गर्न अस्वीकार गरेको हो ।

ममता काफ्ले बेपत्ताको घटना हुनुभन्दा महिनौं अघि उनका श्रीमान् नरेश भट्टले कम्प्युटरमा श्रीमतीको मृत्युपछि विवाह गर्न कति समय लाग्छ भन्नेबारे सर्च गरेको समेत खुलासा भएको छ । नरेशले आफ्नो कामको कम्प्युटरमा श्रीमतीको मृत्यु भएपछि विवाह गर्न कति समय लाग्छ भन्नेबारे गुगल गरेको पत्ता लागेको  अभियोजकले अदालतमा बताएका थिए ।

हत्या गरिएकी चिकित्सकको न्यायको माग गर्दै मैनबत्ती जुलुसहत्या गरिएकी चिकित्सकको न्यायको माग गर्दै मैनबत्ती जुलुस
प्रिन्स विलियम काउन्टीका अभियोजक सारा सामीले मास्टर बेडरूम र बाथरूममा भेटिएको रगतको मात्राले ममता काफलेलाई जीवित नहुनेगरी चोटपटक लागेको सङ्केत गर्ने अदालतसमक्ष बताएकी थिइन् । यस मामलाका प्रत्येक सङ्केतले ममता अब जीवित नभएको देखिएको र शवबिना नै नरेशविरुद्ध हत्याको आरोप लगाउन सकिने अभियोजकको भनाई छ ।

अभियोजन पक्ष र नरेशका पक्षका वकिलबीच सोमबार श्रीमती बेपत्ता भएको बेला कसरी शव लुकाएको अभियोग लगाइयो भन्नेबारेमा बहस केन्द्रीत भएको थियो । तीव्र जनआक्रोशले उचित प्रमाणविना मुद्दा अगाडि बढाएको नरेश पक्षका वकिलले तर्क गरेका थियो । यो अभियोग लगाउनका लागि मृत शरीर हुनु आवश्यक भएको तर अहिलेसम्म भएको प्रमाण केबल रगतमात्र भएको उल्लेख गर्दै नरेश भट्टका पक्षका वकिल शालेव बेन अब्राहमले सञ्चारमाध्यमको ठूलो उन्माद भएका कारण पक्राउ गरिएको तथा मानसास पार्क प्रहरी प्रमुख केही गर्न दबाबमा रहेको अदालतसमक्ष बताएका थिए ।

अभियोजकले नरेश भट्ट विरुद्धको प्रमाण पर्याप्त रहेको भन्दै थप अभियोगहरू आउन लागेको बताएका छन् । अभियोजक सारा सामीले रगतको मात्रा र सेक्रेट सर्भिसले उपलब्ध गराएको इन्टरनेट खोज इतिहासलाई जोड दिएकी थिइन् । घरमा भेटिएको रगत ममताकै भएको पुष्टी भएको छैन । तर प्रारम्भिक परीक्षणबाट रगत मान्छेको भएको निष्कर्ष निकालिएको छ ।

नरेशका वकिलले नरेश भट्टको भाग्ने कुनै योजना नरहेको दावी गरेका छन् । उनले हालै आफ्नो टेस्ला बेचेका थिए भने घरबेच्ना दुई सम्भावित क्रेतासँग कुरा गरेका थिए । तर गाडी बिक्री र घर बेच्ने प्रयास परिवारको लागि पैसा उपलब्ध गराउनका लागिमात्र रहेको नरेशका वकिलको तर्क थियो ।

अभियोजकका तर्फबाट अदालतमा ममता र नरेशबीचको सम्बन्ध समस्याग्रस्त रहेको थप विवरणहरू पनि प्रदान गरिएको थियो । फेब्रुअरीमा घरमा प्रहरी बोलाइएको र प्रहरी अधिकारीहरूले ममतासँग कुरा गर्दा उनका श्रीमान् नरेशले आधिकारिक कागजातहरू नदिने बताएको तथा ममताको फोन नष्ट गरेको बताएको पनि अभियोजक सारा सामीले अदालत समक्ष बताएकी थिइन् । ममता घरेलु हिंसाको सिकार भएको र उनको पतिसँगको झगडामा चोटपटक लागेको विवरण पनि अभियोजकका तर्फबाट अदालतमा बताइएको थियो ।

साथीहरू र परिवारसँग नियमित रूपमा कुराकानी गर्ने सक्रिय सामाजिक सञ्जाल प्रयोगकर्ता ममताले जुलाई २९ मा आफ्नो फोन प्रयोग गर्न बन्द गरेको र अगस्त १ मा लाउडन काउन्टी नजिकको नेटवर्कमा उक्त फोन जडान भएको अभियोजकले अदालतलाई बताएका थिए । प्रहरीले घरमा खानतलासी गर्दा मास्टर बेडरूममा रगतका निशानहरू फेला परेका तथा बेडरुमबाट बाथरूमसम्म केही घिसारिएको पत्ता लागेको अभियोजकले अदालतमा बताए ।

अनुसन्धानकर्ताहरुले भित्तामा छरिएको र नुहाउने ठाउँको सम्पूर्ण भुइँलाई छोपेको रगतको मात्रा पत्ता लगाएको तथा घटनास्थलमा  अनुसन्धानकर्ताहरुले यति धेरै रगत कहिल्यै नदेखेको बताएको अभियोजकले अदालतमा बताएका थिए । प्रहरीले खानतलासी लिंदा कार्पेट सफा गर्ने सामाग्रीहरु बेडरुममा बाहिर नै रहेको र जसमा नरेशले जुलाई ३१ मा खरिद गरेको कार्पेट क्लिनरको खाली बोतल पनि रहेको अभियोजक सामीले बताएकी थिइन् ।

यस अघि नरेशलाई पहिलोपटक अदालतमा पेश गर्दा प्रिन्स विलियम काउन्टीका अभियोजकले मुद्दामा थप विवरणहरु दिएका थिए । नरेशले आफ्नो टेस्ला बेचेको, सुटकेसहरू प्याक गरेको र आफ्नी श्रीमती बेपत्ता भएपछि आफ्नो घर बेच्ने बारे अरूसँग कुरा गरेको विवरणहरु अदालतमा पेश गरिएको थियो ।

नरेशले जुलाई ३० मा तीनवटा चक्कु र जुलाई ३१ मा सरसफाइका सामग्री फरक–फरक स्थानबाट खरिद गरेको समेत खुलेको थियो । अनुसन्धानकर्ताहरुले अझै २ वटा चक्कुहरु फेला पारेका छैनन् । सरसफाईका सामाग्रीहरु अपराध स्थल सफा गर्न प्रयोग गरेको हुनसक्ने अधिकारीहरूले आशंका गरेका छन् । ममताकोबारेमा नरेशले धेरै असंगत वयानहरु दिएको अभियोजकको भनाई छ । अभियोजकहरुका अनुशार श्रीमती बेपत्ता हुँदा उनी बेरोजगार थिए ।

अदालती कागजातमा ३० जुलाई २०२४ वा त्यसको आसपासमा आरोपी नरेशले आफ्नी श्रीमती ममताको हत्या गरेको र घटना उनकै निवासमा भएको उल्लेख छ । अनुसन्धानको क्रममा उनको मृत्युसँग मिल्दोजुल्दो डिजिटल र फोरेन्सिक प्रमाणहरूको पर्याप्त मात्रा बरामद भएको रिपोर्टमा जनाइएको छ । त्यस्तै शव घरभित्रै रहेको र घरबाट बाहिर घिसारेर निकालिएको प्रमाण भेटिएको पनि अदालती कागजातमा उल्लेख गरिएको छ ।

उनीविरुद्ध शव लुकाएको सम्बन्धमा छैठौं श्रेणीको अपराधको अभियोग लगाइएको छ । भर्जिनियामा यो अभियोगमा कम्तीमा १ बर्षदेखि ५ बर्षसम्म जेल सजाय हुनसक्ने प्रावधान रहेको छ ।

अहिलेसम्म ममताको अवस्था अज्ञात छ। प्रहरीले ममता जीवित रहेको कुनै संकेत नरहेको बताएको छ । मनाससबाट जुलाई ३१ देखि बेपत्ता ममता काफ्लेको बारेमा बुझ्न अगस्ट २ मा प्रहरी अधिकारीहरू उनका घरमा पुगेर उनका श्रीमान नरेशसँग कुरा गर्दा उनले त्यतिबेला उनी हराएको रूपमा रिपोर्ट गर्न चाहेका थिएनन् । अगस्ट ५ मा मात्र नरेशले प्रहरीलाई सम्पर्क गरी ममता काफ्ले हराएको जानकारी दिएका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर