• २०८१ असोज ५ शनिबार
  • Saturday, 21 September, 2024

देउवाले टेको झिकेको एक सेकेण्डमै सरकार ढल्छ: रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कांग्रेस र एमाले मिलेर बनेको अहिलेको सरकारमा आत्मविश्वास नदेखिएको बताएका छन् । उनले दुई तिहाइ बहुमतको सरकार भनिए पनि प्रधानमन्त्री र मन्त्रीहरुको व्यवहार त्यस्तो नदेखिएको बताए ।

‘दुई तिहाइको सरकार भएको बेला जनताको आत्मबल बढ्नुपर्ने हो । प्रधानमन्त्रीमा त्यो आत्मविश्वास आउनुपर्ने थियो । मन्त्रीहरुमा पनि त्यो खालको आत्मविश्वास हुनुपर्ने थियो। तर टिसर्ट लगाएको मान्छे समाएको छ । कराएको मान्छे समाएको छ’, उनले भने, ‘उपसभामुखलाई हटाउने लगायतका काम गर्नुहुँदैन, यो दुई तिहाईको सरकार त्यतातिर छ ।’

सरकार बलियो भने पनि यसको धरातल कमजोर रहेको भन्दै उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले टेको झिकेको एक सेकेण्डमै सरकार ढल्ने ठोकुवा गरे ।

‘संसदमा अहिले शेरबहादुर देउवा रिसाएको एक सेकेण्डपछि सरकार ढल्यो । अस्थिरता छ । अहिले दुई तिहाइको सरकार सबैभन्दा अस्थिर छ । एउटा पार्टीले अर्को दलको नेतासँग समन्वय नगरी सरकार चलाउन सम्भव छैन’, उनले भने ।

सभापति लामिछानेले सरकारले संविधान संशोधनलाई राजनीतिक सौदाबाजी बनाएको बताए । ‘संविधान संशोधन गर्छु भन्ने नाममा आफ्नो राजनीतिक इन्ट्रेस्टको सौदाबाजी गर्न पाइँदैन । संविधानलाई सौदाबाजी गर्नु राम्रो भएन’, उनले भने ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर