• २०८१ असोज ५ शनिबार
  • Saturday, 21 September, 2024

माेदीले भेटका लागि ओलीलाई बल्ल समय दिए

काठमाडौं । न्युयोर्कमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच साइडलाइनमा भेटवार्ता हुने तय भएको छ ।

७९ औं संयुक्त राष्ट्र संघको महासभाको दौरान द्विपक्षीय भेट तय भएकाे हाे । 

नेपालले केही समयअघिदेखि नै प्रस्ताव गरे पनि नयाँ दिल्लीको तर्फबाट सकारात्मक जवाफ आइसकेको थिएन ।

तर नेपालका प्रधानमन्त्री ओली न्युयोर्कमा शुक्रबार राति उत्रनु केही घन्टाअघि भारतीय पक्षले मोदी द्विपक्षीय भेटवार्ताको लागि तयार गरेको सन्देश दिएको हो ।

स्थानीय समयअनुसार आइतबार ओली र मोदीको साइडलाइनमा द्विपक्षीय भेटवार्ता हुनेछ ।  चौथो पटक ओली प्रधानमन्त्री भएपछि भारतीय प्रधानमन्त्री मोदीसँग पहिलो भेटवार्ता हुनेछ ।

दुई प्रधानमन्त्रीबीच भेटवार्ता गराउनको लागि नेपाली पक्षले विभिन्न तहबाट पहल गरेको थियो ।  

भदौ २५ बाट महासभा सुरु भइसकेको छ । महासभाको उच्चस्तरीय छलफल असोज ८ देखि १२ सम्म चल्ने छ । नेपालको २२ सदस्य प्रतिनिधमण्डलको नेतृत्व गरेर प्रधानमन्त्री ओली न्युयोर्क पुगिसकेका छन् ।

मोदी अमेरिकाको विल्मिङटनमा हुने अमेरिका, अस्ट्रेलिया, जापान र भारत सम्मिलित क्वाड राष्ट्रका नेताहरुको समिटमा भाग लिन त्यसतर्फ गएका हुन्। 

संयुक्त राष्ट्रसंघको ७९ महासभामा भारतीय प्रतिनिधिमण्डलको नेतृत्व विदेशमन्त्री एस जयशंकरले गर्ने भएकाले पनि यसअघि मोदीको न्युयोर्क भ्रमणबारे संशय थियो।

तर क्वाड राष्ट्रका नेताहरूको बैठकमा सहभागी हुन भारतीय प्रधानमन्त्री मोदी आज बिहान अमेरिका प्रस्थान गरिसकेका छन्।

बैठक सकेर मोदी आइतबार साँझ न्युयोर्क पुग्ने कार्यतालिका छ। 

न्युयोर्क पुगेसँगै स्थानीय समयअनुसार साँझ साढे ५ बजे नेपाल र भारतका प्रधानमन्त्रीबीच भेटवार्ता हुनेछ। 

यसअघि मोदीको न्युयोर्क जाने/नजाने विषयमा संशयका साथै नेपालमा नयाँ सरकार बनेको दुई महिनासम्म पनि प्रधानमन्त्री ओलीलाई भारतले भ्रमणको निम्तो नदिँदा ओली-मोदी भेटवार्ता निश्चित हुन सकेको थिएन। 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर