प्रअसहित तीनजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडाैं । भौतिक संरचना निर्माण, छात्रबृत्ति रकम र पाठ्यपुस्तक खरिदमा अयिनमितता गरेको आरोपमा सप्तरीको शंकर माध्यमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक (प्रअ)सहित तीनजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शंकर माध्यमिक विद्यालय बरमझिया, सप्तरीका प्रधानाध्यापक दिलिपकुमार गुप्ता, शिक्षक हृदयराम चौधरी र विद्यालयका कर्मचारी श्रवणकुमार चौधरीबिरुद्ध मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
अख्तियारका सहायक प्रवक्ता देवीप्रसाद थपलियाका अनुसार प्रअ गुप्ताविरुद्ध ६ लाख ४९ हजार ९ सय १६ रुपैया बिगो कायम गरी बिगो बमोजिम जरिवाना र हिनामिना भएको बिगो बमोजिमको रकम निजबाट असुलउपर गर्नुपर्ने मागदाबी गरिएको छ ।
त्यस्तै शिक्षक हृदयराम चौधरीविरुद्ध ६२ हजार ५ सय ८३ रुपैयाँ र कर्मचारी श्रवणकुमार चौधरीविरुद्ध ५ लाख ८७ हजार ३ सय ३३ रुपैया बिगो कायम गरी मुद्दमा दायर भएको हो ।
प्रअ गुप्ताविरुद्ध आब २०७१/७२ मा विद्यालयको शौचालय निर्माणका लागि निकासा भएको बजेट हिनामिना गरेको, विद्यार्थीका नाममा आएको छात्रवृत्ति नबाँडी अनियमितता गरेको, आब २०७३/७४ मा राहत शिक्षकका लागि अनुदानबापत आएको रकम शिक्षक नराखी आफैं बुझेको, पाठ्य पुस्तक खरिदमा हिनामिना गरेकोलगायत विषयमा अख्तियारले अनुसन्धान गरेको थियो ।
अनुसन्धानका क्रममा शौचालय निर्माणमा ६२ हजार ५ सय ८३ रुपैयाँ, छात्रवृत्ति रकममा ३ लाख १० हजार ४ सय रुपैयाँ, पाठ्यपुस्तक खरिदका लागि बिनियोजित बजेटमा १ लाख २६ हजार २ सय ४७ रुप्यौँ र राहत शिक्षकको तलवभत्तामा १ लाख ५० हजार ६ सय ६८ रुपैयाँ हिनामिना गरेको पुष्टि भएपछि हिनामिना भएको रकमलाई बिगो कायम गरी भ्रष्टाचार मुद्दा दायर भएको अख्तियारका सहायक प्रवक्ता थपलियाले बताए ।
यसैगरी विद्यालयको शौचालय निर्माण गरेबापत भनी २ लाख रुपैयाँको चेकमा दस्तखत गरेकोमा फिल्डमा १ लाख ३७ हजार ४ सय १६ रुपैयाँको मात्रै काम गरी बाँकी हिनामिना गरेको भेटिएपछि हिनामिना भएको रकमलाई बिगो कायम गरी प्रतिवादी बनाइएको छ । विद्यालयका कर्मचारी चौधरीले प्रअ गुप्तासँगको मिलेमतोमा छात्रवृत्तिको ३ लाख १० हजार ४ सय, राहत शिक्षकको तलवभत्ताको १ लाख ५० हजार ६ सय ८६ र पाठ्ष्यपुस्तक खरिदको नक्कली बिल बनाई १ लाख २६ हजार २ सय ४७ रुपैयाँ अनियमितता गरेको आरोपमा उनलाई मुद्दामा प्रतिवादी बनाइएको हो ।
प्रतिकृया दिनुहोस