बंगलादेशमा विद्युत व्यापारः आज त्रिपक्षीय सम्झौतामा हस्ताक्षर
काठमाडौं । लामो गृहकार्य र छलफलपछि अन्ततः नेपालको बिजुली बङ्गलादेश जाने भएको छ। भारतपछि नेपालको बिजुली पहिलोपटक तेस्रो मुलुक निर्यात गर्ने गरी सम्झौता हुने भएको छ।
आज दुई देशका उच्च अधिकारीबीच विद्युत् खरिद बिक्री सम्झौतामा हस्ताक्षर गर्ने सहमति भएपछि लामो छलफलपछिको प्रयास सफल हुन लागेको ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएकाे छ ।
बङ्गलादेशमा भएको राजनीतिक परिवर्तनका कारण पछाडि सरेको विद्युत् व्यापार सम्झौताका विषयमा पछिल्ला दिनमा सघन छलफल भएको थियो। नयाँ नेतृत्वले पनि नेपालबाट विद्युत खरिदबारे सकारात्मक निर्णय गरेपछि बाटाे खुलेकाे हाे ।
दुई देशका ऊर्जा सचिस्तरीय संयुक्त निर्देशक समितिको छैटौँ बैठकले सम्झौता गर्ने निर्णय गरेको छ।
सचिवस्तरीय संयन्त्रमा नेपालको तर्फबाट ऊर्जासचिव सुरेश आचार्य र जनगणतान्त्रिक बङ्गलादेश सरकारका तर्फबाट विद्युत्, ऊर्जा तथा खनिज मन्त्रालयका वरिष्ठ सचिव मोहम्मद हबिवुर रहमानको सहअध्यक्षता थियो।
पहिलो चरणमा ४० मेगावाट बिजुली बङ्गलादेश निर्यात हुनेछ। सम्झौतामा नेपाल विद्युत् प्राधिकरण, बङ्गलादेश पावर डेभलपमेन्ट बोर्र्ड र भारतीय नोडज एजेन्सी एनटिपीसी विद्युत् व्यापार निगमबीच विद्युत् बिक्री सम्झौतामा हस्ताक्षर हुनेछ।
यस्तै, सुनकोशी तेस्रो जलविद्युत् आयोजना नेपाल, बङ्गलादेश र भारतबीच सहकार्यपूर्ण सहभागिताका आधारमा विकास गर्ने र सो आयोजना विकास गर्ने सम्बन्धमा प्राधिकरण र बङ्गलादेशको पावर डेभलपमेन्ट बोर्डबीच संयुक्त कम्पनी स्थापना गर्नेसम्बन्धी संयुक्त उपक्रम सम्झौता आगामी बैठकअगावै टुङ्गो लगाउने सहमति भएको छ।
नेपाल र बङ्गलादेशबीच विद्युत् व्यापारका लागि प्रस्तावित अन्तरदेशीय प्रसारण लाइनको प्राविधिक र आर्थिक पक्षको अध्ययन गरिनेछ। नेपालको जलविद्युत् क्षेत्रमा लगानी प्रवर्द्धनका लागि बङ्गलादेशको निजी क्षेत्रलाई आकर्षित गर्न व्यावसायिक सम्मेलन आयोजना गर्ने सम्बन्धमा सम्भावनाहरूको खोजी गरिनेछ।
यस्तै नेपाल, बङ्गलादेश र भारतबीच विद्युत् व्यापार, अन्तरदेशीय प्रसारण लाइन निर्माणलगायत विद्युत् क्षेत्रमा सहकार्यका लागि द्विपक्षीय बैठकमा त्रिपक्षीय संयन्त्र बनाउन आ–आफ्नो तर्फबाट पहल गरिनेछ।
माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको विद्युत् बङ्गलादेशले खरिद गर्ने सम्बन्धमा बङ्गलादेश पावर डेभलपमेन्ट बोर्ड र भारतीय कम्पनी ग्रान्धी माल्लिकार्जुन राव जिएमआर बीच हुने विद्युत् व्यापार सम्झौताका सन्दर्भमा बङ्गलादेशले नेपाली अधिकारीलाई जानकारी गराएको थियो ।
गत असारमा नै विद्युत् व्यापारसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्ने तयारी गरिएको थियो। दुई देशका ऊर्जा सचिवस्तरीय बैठकका अवसरमा सम्झौताको तयारी गरिए पनि अन्तिममा स्थगित भएको थियो।
प्राधिकरणले पाँच वर्षसम्म वर्षायामका छ महिना ४० मेगावाट बिजुली बङ्गलादेशलाई बिक्री गरिने जनाएको छ। प्रतियुनिट आठ रुपैयाँ १७ टाका (नौ रुपैयाँ ३० पैसा) मा प्राधिकरणले बिजुली बिक्री गर्नेछ।
प्रतिकृया दिनुहोस