सरकारको तीन महिना: लक्ष्यभन्दा कम राजस्व

काठमाडाैं । चालु आर्थिक वर्षको पहिलो त्रैमास (तीन महिना) मा सरकारले २ खर्ब ४८ अर्ब २६ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । यो अर्थ मन्त्रालयले तय गरेको पहिलो तीन महिनामा राजस्व संकलनको लक्ष्यभन्दा ६१ अर्ब ६६ करोड ८० लाखले कम हो ।

यस वर्षको पहिलो त्रैमासमा सरकारले राजस्वमार्फत ३ खर्ब ९ अर्ब ९२ करोड ८० लाख संकलन गर्ने लक्ष्य राखेको थियो । गत साउनमा १ खर्ब २० अर्ब ५१ करोड ६१ लाख, भदौमा ९२ अर्ब ८४ करोड २७ लाख र असोजमा ९६ अर्ब ५६ करोड ९२ लाख राजस्व संकलन गर्ने सरकारको लक्ष्य थियो ।

तीन वटै महिनामा राजस्व संकलन कम भएकाले त्रैमासिक लक्ष्य पूरा हुन नसकेको हो । यस वर्ष सरकारले राजस्वमार्फत १४ खर्ब १९ अर्ब ३० करोड ३० लाख रुपैयाँ संकलन गर्ने लक्ष्य राखेको छ । पहिलो त्रैमासको राजस्व यस वर्षको वार्षिक लक्ष्यको १७.४९ प्रतिशत हो भने गत वर्षको सोही अवधिको तुलनामा करिब साढे १३ प्रतिशतले बढी हो ।

राजस्व संकलन सुधारको बाटोमै रहे पनि लक्ष्य भेटाउन नसकिएको अर्थ मन्त्रालयका प्रवक्ता महेश भट्टराईले स्विकारे । ‘अर्थतन्त्रको विद्यमान अवस्थामा पनि हामीले ३० प्रतिशतभन्दा बढीको राजस्व संकलनको लक्ष्य राखेका छौं, यो आफैंमा चुनौतीपूर्ण हो,’ उनले भने, ‘यद्यपि गत वर्षको राजस्व संकलनसँगको तुलनामा यस वर्ष केही सुधार देखिएको छ । यसमै सन्तुष्ट हुने अवस्था नभए पनि सन्तोषजनक हो ।’

हरेक वर्ष पहिलो त्रैमासमा दसैं–तिहारको समयमा भन्सारबाट धेरै राजस्व उठ्ने गरेकामा यस वर्ष बाढीपहिरोका कारण अपेक्षाअनुसार राजस्व संकलन हुन नसकेको प्रवक्ता भट्टराईले बताए । ‘अहिलेको बाढीपहिरोको असर भन्सार राजस्वमा परेको छ । उत्तरतिरका दुवै नाका ठप्प भए । दक्षिणका नाका पनि प्रभावित भएका छन्,’ उनले भने, ‘यसकारण राजस्वमा लक्ष्यअनुसारको सुधार हुन नसकेको हो ।’

यस वर्षको पहिलो तीन महिनामासम्म २९ अर्ब ३७ करोड ४६ लाख पुँजीगत खर्च भएको छ  । यो वार्षिक लक्ष्यको ८.३४ प्रतिशत हो  । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढी हो । ०८० असोजसम्म सरकारले १७ अर्ब ८३ करोड ३१ लाख अर्थात् वार्षिक लक्ष्यको ५.९ प्रतिशत पुँजीगत खर्च गरेको थियो । गत वर्षको पहिलो त्रैमासको तुलनामा यस वर्षको सोही अवधिको पुँजीगत खर्च करिब ६४ प्रतिशतले बढी हो । यो अवधिमा निर्माण व्यवसायीहरूको २० अर्ब भुक्तानी भएको, दुग्ध किसानहरूको रकम, कृषि बिमामा अनुदानबापतको रकम भुक्तानी भएकाले पुँजीगत खर्चमा सुधार भएको अर्थ मन्त्रालयको दाबी छ ।

गत असोजसम्ममा वार्षिक लक्ष्यको २०.१५ प्रतिशत अथवा २ खर्ब २९ अर्ब ८५ करोड २१ लाख चालु खर्च भएको छ । यो गत वर्षको सोही अवधिको चालु खर्चभन्दा बढी हो । ०८० असोजसम्म चालु खर्च २ खर्ब १३ अर्ब ३९ करोड ४० लाख अथवा त्यस वर्षको वार्षिक लक्ष्यको १८.६९ प्रतिशत थियो ।  -कान्तिपुरबाट

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर