• २०८१ कार्तिक ६ मंगलबार
  • Tuesday, 22 October, 2024

धनराजकी पूर्वपत्नी गुरुङविरुद्ध रेड कर्नर नोटिसको सिफारिस

काठमाडौं । ललितपुरको मितेरी सहकारीको करोडौं रकम अपचलन भएको घटनामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले दुई जनाविरूद्ध रेड कर्नर नोटिस जारी गर्न सिफारिस गरेको छ।

सिआइबीले महालक्ष्मीस्थानमा रहेको मितेरी सेभिङ एन्ड क्रेडिड कोओपरेटिभको १४ करोड ८१ लाख रुपैयाँ रकम हिनामिनाको अनुसन्धान गरिरहेको छ।

यसमा सहकारीले पाँच जनाविरूद्ध जाहेरी दिएको छ। जसमध्ये ज्योति गुरूङ र ज्योतिबहादुर भण्डारीविरूद्ध रेड कर्नर नोटिस जारी गर्न सिआइबीले प्रहरी प्रधान कार्यालय नक्सालमा सिफारिस गरेको हाे।

प्रहरी प्रधान कार्यालयमा रहेको इन्टरपोल शाखाले यसबारे अध्ययन गरी रूजु गरी आवश्यक परे थप कागजात सिआइबीसँग झिकाउनेछ। कागजातहरू सबै पुगेमा रेड कर्नर नोटिस जारी गर्न शाखाले इन्टरपोलमा पत्राचार गरेपछि मात्रै जारी हुनेछ।

रेड कर्नर नोटिस सिफारिस भएकी ज्योति गुरूङ नेपाली कांग्रेसका उपसभापति धनराज गुरूङकी पूर्वपत्नी हुन्। आफूहरूबीच सम्बन्धबिच्छेद भइसकेको उपसभापति गुरूङले बताउँदै आएका छन्।

यद्यपि धनराजले केही समय अघिसम्म पनि पूर्वपत्नीले लिएको ऋण तिर्दै आएको भेटिएको थियो।   

ज्योति र धनराजको सम्बन्धविच्छेद २०७६ सालमा भए पनि २०८१ सालसम्म पनि धनराजले ऋण तिरेको रसिदहरू फेला परेका थिए। सहकारीकाे छानविवन गरेकाे समितिले पनि धनराजकाे सम्बन्धविच्छेदबारे शंका व्यक्त गरेकाे थियाे ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर