भारत ओडिसा आईपुग्यो शाक्तिशाली 'दाना’ चक्रवात
काठमाडौं । शक्तिशाली चक्रवाती समुद्री आँधी 'दाना' भारतको पूर्वी राज्य ओडिसाको तटमा ठोक्किएको छ ।
बंगालको खाडीमा विकसित भएको उक्त आँधी एक सयदेखि एक सय १० किलोमिटर वेगको हावाका साथ भिटारकनिका र धर्मा जिल्लाको बीचमा ठोक्किएको भारतीय समाचारमाध्यमले उल्लेख गरेका छन् ।
आँधीका कारण भारी वर्षा हुनुका कासाथै कैयौँ स्थानमा रुखहरु उखेलिएको र थुप्रै क्षेत्रमा विद्युत् आपूर्ति अवरुद्ध भएको जनाइएको छ । आँधीको असर ओडिशाको छिमेकी राज्य पश्चिम बंगालमा समेत देखा परेको छ ।
पश्चिम बंगालमा कम्तीमा एक जनाको मृत्यु भएको जनाइएको छ । कोलकाताको उत्तरी र पूर्वी क्षेत्र जलमग्न भएको छ ।
भुवनेश्वरको बिजु पटनायक अन्तर्राष्ट्रिय विमानस्थल र कोलकाताको नेताजी सुबासचन्द्र बोस अन्तर्राष्ट्रिय विमानस्थलमा पूर्व सावधानी अपनाउँदै बिहीबार साँझदेखि हवाई उडान स्थगित गरिएकोमा आज बिहान आठ बजेदेखि सेवा सुचारु गरिएको जनाइएको छ ।
चक्रवात दानाले पुर्याउन सक्ने क्षतिलाई ध्यानमा राख्दै ओडिशा र पश्चिम बंगाल दुवै राज्यमा लाखौं मानिसलाई सुरक्षित स्थानमा सारिएको थियो भने विद्यालयहरु बन्द गरिनुका साथै चार सयभन्दा बढी रेल र हवाई उडान स्थगित गरिएको थियो ।
उक्त चक्रवातको वेग केही घण्टाभित्रै क्रमश कमजोर हुँदै जाने भारतीय मौसम विभागले जनाएको छ ।
प्रतिकृया दिनुहोस