• २०८१ कार्तिक १७ शनिबार
  • Saturday, 2 November, 2024

साम्बाको 'जादु' चलेको दिनः अञ्जना रानामगर 'चुम्बक' बनिन्

काठमाडौं । यो खेल वर्णन गर्न अनेक शब्द चाहिने हुन सक्छ । नाटकीय, अनिश्चित, तनावपूर्ण, सनसनीपूर्ण र दुर्लभ जे भन्दा पनि पुग्ने छैन । यस खेलमा यति धेरै मोड आए कि गनेर साध्य छैन । अन्त्यमा निचोड हो, नेपाल साफ वुमेन्स च्याम्पियनसिपको फाइनल पुगेको छ । 

दशरथ रंगशालामा आइतबार भएको सेमिफाइनल खेलमा नेपालले भारतलाई पेनाल्टी सुटआउटमा ४–२ ले हरायो । निर्धारित समयको खेल १–१ को बराबरीमा थियो । अझ नेपालले १० खेलाडीमा सीमित भएर खेल्नुपरेको थियो । त्यसैले यो जित समग्र नेपाली फुटबल इतिहासकै अभूतपूर्व मानिनेछ । अब बुधबार हुने उपाधिको भिडन्तमा नेपालले डिफेन्डिङ च्याम्पियन बंगलादेशको सामना गर्नेछ ।

फुटबलमा इतिहास दोहोरिन्छ भनिन्छ, यसपल्ट ठीक त्यस्तै भएको छ । सन् २०२२ मा दशरथ रंगशालामै भएको यस प्रतियोगिताको फाइनलमा बंगलादेश र नेपाल नै पुगेका थिए । सेमिफाइनलमा बंगलादेशले भुटान र नेपालले भारतलाई नै हराएका थिए । यसपल्ट पनि त्यही भयो । बंगलादेशले आइतबार नै भएको पहिलो सेमिफाइनलमा भुटानलाई ७–१ ले हरायो । अब भने नेपालले फाइनलमा इतिहास दोहोर्‍याउने होइन, नयाँ इतिहास रच्ने अवसर आएको छ– बंगलादेशलाई हराएर पुरानो बदला लिने । 

नेपाल दक्षिण एसियाली महिला फुटबलको सबैभन्दा ठूलो प्रतियोगितामा फाइनल पुगेको यो छैटौंपल्ट हो । नेपाली महिला फुटबल इतिहासमै फाइनल पुगेको भने यो समग्रमा १२ औं पल्ट हो । तर, नेपालले अहिलेसम्म कुनै पनि उपाधि जित्न सकेको छैन । त्यसैले उपाधिका लागि नेपालले अहिलेसम्मकै उत्कृष्ट खेल पस्किनुपर्नेछ । ‘हामी फाइनलका लागि तयार छौं, हामीले धेरैपल्ट नजिक पुगेर उपाधि गुमाएका छौं । अब भने साँच्चै जित्ने पालो आएको छ,’ प्रशिक्षक राजेन्द्र तामाङले भने ।

खेलमा पूर्णतः छाएकी सावित्रा भण्डारीले नेपाली फुटबल र यसका समर्थकका लागि आफूहरूले जितेको प्रतिक्रिया दिइन् । खासमा यो यस्तो खेल रह्यो, जसलाई पछि सावित्राको खेल भनेर पनि चिनिनेछ । तर, उनले श्रेय आफ्नो टिमलाई दिएकी छन् । ‘आज हाम्रो खेल हेर्न यति धेरै दर्शक रंगशालामा आएका थिए, त्यति हामीले अपेक्षा गरेका थिएनौं । त्यसैले सुरुमा आत्तियौं पनि । तर, महिला फुटबललाई माया गर्ने तिनै दर्शकका लागि हामीले कडा मिहिनेत गरेर खेल्यौं र जित्यौं ।’

भारतीय प्रशिक्षक सन्तोष कश्यपले नेपाली टिम जितको हकदार भएको बताए र नेपाली टिमलाई शुभकामना पनि दिए । खेलमाथि आफ्नो टिमको पकड रहेर पनि त्यसलाई गुमाउनुपरेको उनले स्वीकार गरे । तर, उनले भनेजस्तो खेल आफैंमा त्यति सहज र अनुकूल चलेको थिएन । खेल सुरु भएको थियो, साँझ साढे ६ बजे । सकिँदा रातिको १० बज्न ५ मिनेट मात्रै बाँकी थियो । पहिलो हाफ गोलरहित बराबरी सकिएर दोस्रो हाफ सुरु भएलगत्तै नेपाल १० खेलाडीमा सीमित भयो । दोहोरो पहेंलो कार्ड पाएर रेखा पौडेल मैदान छाड्न बाध्य भइन् ।

खेलको ७२ औं मिनेटमा भारतले सुरुआती अग्रता लियो । संगीता बासफोरेले भारतका लागि उत्कृष्ट गोल गरेकी थिइन् । गोलपछि भारतीय टिमले खुसियाली मनाएको थियो । तर, ठीक त्यही बेला नेपालले बल चलाएर गोल गर्‍यो । करिब ३५ यार्डको दूरीबाट प्रीति राईले गोललाई पोस्टको दिशा दिएकी थिइन् । खेल सञ्चालन गरिरहेकी भुटानी रेफ्री ओम चोकीले त्यसलाई सुरुमा मान्यता पनि दिइन् । लगत्तै भारतीय टिमले विरोध गर्‍यो र त्यसले मान्यता पाएन । सम्भवतः त्यो गोल नै हुनुपर्ने थियो र यस क्रममा रेफ्री यत्तिको माथिल्लो स्तरको खेलका लागि योग्य नभएको स्पष्ट देखियो ।

 
त्यसपछि करिब १ घण्टा १५ मिनेट खेल अवरुद्ध भएको थियो । यसबीच नेपाली टिमले खेल्नै मानिरहेको थिएन । बल्लतल्ल खेल सुरु हुँदा दोस्रो हाफको १८ मिनेट देखिएको थियो । खेल सुरु भएको एकै मिनेटमै सावित्राले बराबरी गोल फर्काइन् ।

गोलको खुसियाली मनाउने क्रममा उनले अविश्वसनीय रूप पनि देखाइन् । बराबरीमा ९० मिनेट सकिएपछि खेल सिधै टाइब्रेकरमा पुग्यो । त्यसमा नायिका भने सब्स्टिच्युट गोलरक्षक अञ्जना रानामगर रहिन् । टाइब्रेकरकै लागि भनेर मैदानमा आएकी अञ्जनाले चानु सोरोबाखइबामको प्रहार रोकिन् । भारतीय कप्तान आसलतादेवीको प्रहार पोस्टमा ठोक्किएको थियो ।

भारतका लागि मनीषा र पुरुषोत्तम सिरोभिकरले मात्र गोल गरे । नेपालका तर्फबाट भएका चारै प्रहार गोलमा परिणत भए । ती प्रहार थिए क्रमशः सावित्रा, गीता राना, सविता रानामगर र अमिशा कार्कीको ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर