बक्यौता विवादमा उद्योगी नै विभाजित: धेरै घराना पैसा तिर्न तयार
बिद्युत बक्यौता तिर्ने विषयलाई लिएर उद्योगीहरु नै विभाजित भएको पाइएको छ। नेपाल बिद्युत प्राधिकरणले बक्यौताको पहिलो किस्ता तिर्ने उद्योगमा लाइन जोडिदिने भनेसंगै उद्योगीहरु विभाजित भएका हुन्।
बिद्युत बक्यौता नतिरेका कारण लाइन काटिएका उद्योगहरुमध्ये केहि उद्योगका उद्योगीहरु राजनीतिक लबिङ्गमा लागेका छन् भने केहि उद्योगीहरु प्राधिकरणले दिएको किस्ता सुविधा उपभोग गरेर बक्यौता तिर्ने तयारीमा देखिएका छन्।
बिद्युत बक्यौता विवादमा राजनीतिक लबिङ्गमा लागेका उद्योगीहरुले हिजो आइतबार नै प्रधानमन्त्री, उर्जामन्त्री र उद्योगमन्त्रीलाई भेटेर ज्ञापनपत्र बुझाएका छन् र लगत्तै पत्रकार सम्मेलन गरेर यसबारे आम सर्वसाधारणलाई जानकारी गराएका छन्।
राजनीतिक लबिङ्गमा लागेका उद्योगीहरु मध्ये धेरै जसो उद्योगहरुमाथि ठुलो अंकको बक्यौता रकम बाँकी छ। यो उद्योगीहरुले बक्यौता तिर्न पर्ने सुचिमा रहेका अरु उद्योगहरुलाई प्रमाणको आधारमा मात्रै बक्यौता तिर्नुपर्ने भन्दै बक्यौता नतिर्नलाई दबाब दिएकै कारण केहि उद्योगीहरुले चाहेर पनि बक्यौता नतिरेको पाइएको छ।
तर अर्को तर्फ, केहि उद्योगीहरुले भने प्राधिकरणले दिएको किस्ता सुविधा उपभोग गरेर प्राधिकरणलाई बक्यौताको पहिलो किस्ता तिरेका छन्। आइतबार बुटवल भैरहवा क्षेत्रका तीन उद्योगले बक्यौता रकमको पहिलो किस्ता तिरेका छन्। जसमा सर्वोत्तम सिमेन्टले मात्रै २८ किस्ता मध्ये एक किस्ता बापत हुन आउने करिब ३७ लाख रुपैयाँ तिरेको छ। सर्वोत्तममाथि ११ करोड ९६ लाख ३६ हजार बक्यौता छ।
४९ वटा उद्योगलाई बक्यौता तिर्न ताकेता गरिएकोमा यससंगै बक्यौता तिर्ने उद्योगको संख्या ११ पुगेको छ। बिहिबार मात्रै रोल्पा सिमेन्ट, सम्राट सिमेन्ट, शुभश्री अग्नि सिमेन्ट, नेशनल रबर इन्डसट्रिज, नारायण रबर उद्योग र एजी हेल्थ इन्डसट्रिजले बक्यौताको पहिलो किस्ता तिरेका थिए। त्यसपछि शुक्रबारमात्रै जीबी टेक्सटायल (१ र जीबी टेक्सटायल(२ ले आफ्नो बक्यौताको पहिलो किस्ता बुझाएका थिए।
यस बाहेकका ३८ उद्योगले बक्यौता तिर्न बाँकी छ। ३८ मध्ये अदालतबाट स्टे अर्डर लिएका ७ र सरकारी स्वामित्वका दुई उद्योग बाहेक २९ उद्योगमा अहिले पनि लाइन काटिएको नेपाल बिद्युत प्राधिकरणका प्रवक्ता चन्दन कुमार घोषले बिजपाटीलाई बताए।
त्यस्तै अर्को एक ठुलो उद्योगले समेत किस्ता सुविधा लिएर पहिलो किस्ता तिर्ने तयारीमा रहेको बिजपाटीलाई जानकारी प्राप्त भएको छ। करिब ७५ करोड बक्यौता रहेको उक्त उद्योगले आजभोलि नै आफ्नो पहिलो किस्ता तिर्ने तयारीमा रहेको स्रोतले बताएको छ।
प्रतिकृया दिनुहोस