हङकङ सिक्सेस: नेपालले अस्ट्रेलियालाई पनि हरायाे
काठमाडाैं । हङकङमा जारी २०औँ हङकङ सिक्सेस प्रतियोगितामा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ।
शनिबार भएको खेलमा नेपालले अस्ट्रेलियालाई ११ रनले हराएको हो। कप्तान सन्दीप जोराको उत्कृष्ट ब्याटिङ र प्रतिश जिसीको सानदार बलिङमा नेपालले अस्ट्रेलियाविरुद्ध सानदार विजय प्राप्त गरेको हो।
नेपालले दिएको ११२ रनको लक्ष्य पछ्याउने क्रममा अस्ट्रेलियाले ६ ओभरमा सबै विकेट गुमाउँदै १०० रन मात्र बनाउन सक्यो।
अस्ट्रेलियाका लागि ज्याक वुडले १६ बलमा ५५ रन तथा एलेक्स रोसले १४ रन बनाए।
नेपालका लागि प्रतिश जिसीले ३ विकेट लिए। २ ओभर बलिङ गरेका जिसीले मात्र २४ रन खर्चिए। यस्तै लोकेश बमले १ ओभरमा १३ रन खर्चिएर १ विकेट लिए।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ६ ओभरमा २ विकेट गुमाउँदै १११ रन बनाएको थियो।
जसमा कप्तान सन्दीप जाेराले ५ चाैका र ४ छक्कासिहत ५१ रन बनाए । लाेकेश बमले ३ छक्का र ३ चाैका हानेर ३३ रन बनाए । विवेक यादवले ४ बलमा १२ रन हानेर बाहिरिदा रसिद खान नट अाउट १२ र नारायण जाेशीले एक रन हानेका थिए ।
यसअघि नेपालले शुक्रबार इंग्ल्यान्डलाई ६ विकेटले हराएको थियो। नेपाल पुल 'बी'बाट क्वार्टरफाइनलमा प्रवेश गरिसकेको छ।
क्वार्टरफाइनलमा नेपाल आजै श्रीलंकासँग भिड्दै छ।
प्रतियोगितामा नेपाल समूह बीमा अस्ट्रेलिया र इङ्ग्ल्याण्डसँग रहेको छन् ।
प्रतियोगितामा १२ टोलीको सहभागीता रहेको छ । सहभागी १२ टोलीलाई ४ समूहमा विभाजन गरिएको छ ।
समूह ‘ए’ मा साविक विजेता दक्षिण अफ्रिका, न्युजिल्यान्ड र हङकङ तथा समूह बी मा नेपाल, इङ्ग्ल्याण्ड र अस्ट्रेलिया रहेका छन् ।
समूह ‘सी’ मा भारत, पाकिस्तान र युएई तथा समूह डी मा श्रीलंका, बंगलादेश र ओमान छन् । हरेक समूहका शीर्ष २ टोली क्वाटरफाइनलका लागि छनोट हुनेछन् ।
प्रतियोगिताको सेमिफाइनल र फाइनल खेल कात्तिक १८ गते हुनेछ । सन् २०१७ मा भएको प्रतियोगिताको पछिल्लो संस्करणमा पाकिस्तानलाई पराजित गर्दै दक्षिण अफ्रिका विजेता बनेको थियो । प्रतियोगिताका खेलहरुमा हरेक टोलीबाट छ खेलाडी सहभागी हुनेछन् ।
सिक्सेस क्रिकेटका नियमहरु :
१) एक टिमबाट प्रत्येक खेलमा ६ खेलाडीले सहभागीता जनाउनेछन् ।
२) फिल्डिङ टोलीका विकेटकिपर बाहेकका हरेक सदस्यले एक ओभर बलिङ गर्ने छन् ।
३) प्रत्येक वाइड र नो-बलमा टिमले समान २ रन दिइने छ ।
४) ६ विकेट झरेपछि एक इनिङ समाप्त हुनेछ ।
५) एउटा ब्याट्सम्यानले नट आउट ३१ रन बनाए पछि रिटार्यट आउट लिन सक्नेछ । तल्लो क्रमका ब्याट्सम्यानले रिटायर्ट वा आउट भएपछि उसले फेरी क्रिजमा फर्किन सक्छन् ।
प्रतिकृया दिनुहोस