बाढीग्रस्त क्षेत्र पुगेका स्पेनका राजालाई जनताले माटाेले हाने
काठमाडौं । स्पेनको भ्यालेन्सिया क्षेत्रको अवलोकनमा जाँदा त्यहाँका राजा फिलिपले व्यापक विरोधको सामना गर्नु परेको छ । स्पेनी सञ्चारमाध्यमहरूका अनुसार आइतबार भ्यालेन्सियामा भएको विरोधपछि राजा फिलिप र रानी लेतिजियाले आगामी भ्रमण रद्द समेत गरेका छन् । उनीहरू अर्को बाढी प्रभावित क्षेत्र चिवाको भ्रमणमा जानेवाला थिए ।
चिवा भ्यालेन्सियाबाट करिब ३५ किलोमिटर रहेको छ । भ्यालेन्सियामा विरोध भएपछि प्रहरीले चिवामा कडा सुरक्षा व्यवस्था गरेको थियो । भ्यालेन्सिया भ्रमणका क्रममा प्रदर्शनकारीहरूले राजा फिलिपमाथि हिलो छ्याप्ने प्रयाससमेत गरेका थिए । लगत्तै सुरक्षागार्डहरूले छाता ओढाएर राजा फिलिपलाई जोगाएका थिए ।
त्यस्तै प्रधानमन्त्री पेद्रो सान्चेजको भ्यालेन्सिया भ्रमण पनि छोट्याइएको छ । स्पेनिस च्यानल ला सेक्स्टाका अनुसार भ्यालेन्सिया भ्रमणका क्रममा प्रधानमन्त्री सान्चेजको विरोध गर्दै स्थानीय नागरिकले प्रदर्शन गरेका थिए । साथै केही उनीमाथि फोहोर फ्याँक्ने प्रयाससमेत गरेका थिए ।
वर्षाबाट हुन सक्ने क्षति न्यूनीकरणका लागि सरकारले प्रयास नगरेको भन्दै स्थानीयहरूले विरोध गरेका हुन् । एक स्थानीयको भनाइ उद्धृत गर्दै समाचार संस्था रोयटर्सले लेखेको छ, ‘कृपया, मृत्यु भएकाहरूले अहिले पनि ग्यारेजमै छन् । परिवारहरू आफ्ना आफन्त र साथीभाइको खोजीमा छन् । तपाईंहरूले हामीले सहयोग मागे मात्रै आउनुहोला ।’
यसैबीच स्पेनको राष्ट्रिय मौसम विभागले भ्यालेन्सिया र आसपासका क्षेत्रमा भारी वर्षा हुन सक्ने भन्दै चेतावनी जारी गरेको छ । असिनासहितको मुसलधारे भीषण वर्षाका कारण गत मंगलबार दक्षिणपूर्वी स्पेनमा आएको बाढीमा परी मृत्यु हुनेको संख्या २ सय नाघिसकेको छ ।
प्रतिकृया दिनुहोस