अमेरिकी नयाँ राष्ट्रपतिका लागि मतदान आजः ट्रम्प र कमलामा को बलियो ?
एजेन्सी । अमेरिकामा नयाँ राष्ट्रपति चयनका लागि आज मतदान हुँदै छ । ४७ औं राष्ट्रपति बन्नका लागि उपराष्ट्रपति कमला ह्यारिस र पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प प्रतिस्पर्धामा छन् ।
डेमोक्रेटिक उम्मेदवार ह्यारिस र रिपब्लिकन उम्मेदवार ट्रम्पबीचको चुनावी प्रतिस्पर्धा ‘इतिहासकै कडा’ देखिएको छ । एनबीसी न्युजको सर्वेक्षणमा दुवै उम्मेदवारको अवस्था बराबर छ । ट्रम्प र ह्यारिस दुवैलाई समान ४९ प्रतिशतले मत दिने बताएका छन् भने दुई प्रतिशतले निर्णय लिइनसकेको जनाएका छन् ।
विभिन्न चुनावी सर्वेक्षणले ट्रम्पभन्दा ह्यारिस अगाडि देखाएका छन् । एबीसी न्युजको सर्वेक्षणअनुसार ट्रम्पलाई ४७ प्रतिशत मतदाताको साथ छ भने पहिलो महिला राष्ट्रपति हुने दौडमा रहेकी ह्यारिसले ४८ प्रतिशत मतदाताको समर्थन जुटाएकी छन् । तर यो सर्वेक्षण निर्वाचित हुनका लागि यकिन छैन ।
सर्वेक्षणअनुसार ५ प्रतिशत मतदाता अन्तिम समयसम्म पनि कसलाई मत दिने भन्ने निर्णयमा पुगिसकेका छैनन् । जसका कारण दुईमध्ये जुनसुकै उम्मेदवारले जित हासिल गर्न सक्ने देखिएको छ ।
अमेरिकी राष्ट्रपतिमा विजयी हुन देशभरको समग्र मत बढी ल्याएर मात्र पुग्दैन । अमेरिकी राष्ट्रपतिको चुनाव ‘इलेक्टोरल कलेज’ प्रणालीमा आधारित भएकाले कम मत प्राप्त गर्ने उम्मेदवार पनि राष्ट्रपति बन्न सक्ने सम्भावना हुन्छ । सन् २०१६ मा देशभरिबाट पाएको मत हिलारी क्लिन्टनको भन्दा करिब ३० लाख कम भएको अवस्थामा पनि डोनाल्ड ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएका थिए ।
राष्ट्रपतिमा निर्वाचित हुन कुल ५३८ इलेक्टोरल मतमध्ये कम्तीमा २७० ल्याउनुपर्नेछ । अमेरिकाका ५० राज्यका लागि जनसंख्याका आधारमा ५३५ र संघीय राजधानी ‘डिस्ट्रिक्ट अफ कोलम्बिया’ का लागि ३ इलेक्टोरल मत निर्धारण गरिएको छ । दलहरूले आफ्ना समर्थक वा पार्टी अधिकारीलाई चुनाव हुनुअघि नै इलेक्टोरलका रूपमा चयन गर्छन् । इलेक्टरले सिद्धान्ततः आफूलाई मन परेको उम्मेदवारलाई मत दिन पाउने भए पनि आफ्नो राज्यमा लोकप्रिय मत बढी पाउने उम्मेदवारलाई नै समर्थन गर्छन् ।
दुई उम्मेदवारले पाएको इलेक्टोरल मत बराबर भयो भने अमेरिकी संसद्को तल्लो सदनले मतदानमार्फत सबैभन्दा बढी इलेक्टोरल मत पाउने तीन उम्मेदवारबीचबाट राष्ट्रपति छान्छ । यस्तो प्रक्रियाबाट अमेरिकामा सन् १८२४ मा मात्र राष्ट्रपति निर्वाचित गरिएको छ । राष्ट्रपतिमा विजयी भएका उम्मेदवारले चयन गरेका उपराष्ट्रपतिका उम्मेदवार पनि स्वतः निर्वाचित हुन्छन् । ट्रम्पले जेडी भेन्सलाई उपराष्ट्रपतिको उम्मेदारमा अघि सारेका छन् भने ह्यारिसले मिनिसोटाका गभर्नर टिम वाल्ट्जलाई उपराष्ट्रपति बनाउने निर्णय लिएकी छन् ।
५० राज्यमध्ये अधिकांश राज्यले परम्परागत रूपमा राष्ट्रपतीय निर्वाचनमा प्रायः एउटै पार्टीलाई जिताउने गरेका छन् । त्यस्ता राज्यहरू ‘ब्लु’ र ‘रेड’ स्टेटका रूपमा चिनिन्छन् । डेमोक्रेटिक दलका उम्मेदवारको पक्षमा रहेका राज्यलाई ‘ब्लु’ र रिपब्लिकन उम्मेदवारको पकड रहेका राज्यलाई ‘रेड’ स्टेटका रूपमा चिनिन्छ ।
विगतको नतिजालाई हेर्ने हो भने ह्यारिसले सबैभन्दा बढी इलेक्टोरल मत रहेको क्यालिफोर्निया (५४), न्युयोर्क (२८) र इलिनोई (१९) सहित २२६ इलेक्टोरल मत ल्याउने लगभग निश्चित छ । यो अवस्थामा राष्ट्रपतिमा निर्वाचित हुन ह्यारिसलाई कम्तीमा थप ४४ इलेक्टोरल मत आवश्यक पर्नेछ ।
ट्रम्पले टेक्सास (४०), फ्लोरिडा (३०), ओहायो (१७) सहित कम्तीमा २१९ इलेक्टोरल मत पाउने निश्चितजस्तै छ । उनका लागि अब राष्ट्रपतिमा निर्वाचित हुन कम्तीमा थप ५१ इलेक्टोरल मत चाहिन्छ । हालसम्मको अवस्थामा ७ राज्यको इलेक्टोरल मत कुन उम्मेदवारलाई जान्छ भन्ने यकिन छैन । निर्वाचन परिणाम नै निर्धारण गर्ने यस्ता राज्यलाई ‘ब्याटलग्राउन्ड स्टेट’ वा ‘स्विङ स्टेट’ भनिन्छ ।
पेन्सिलभेनिया (१९), जर्जिया (१६), नर्थ क्यारोलाइना (१६), मिसिगन (१५), एरिजोना (११), विस्कन्सिन (१०) र नेभादा (६) गरी ‘ब्याटलग्राउन्ड स्टेट’ वा ‘स्विङ स्टेट’ को कुल इलेक्टोरल मत ९३ छ ।
एबीसी न्युजको सर्वेक्षणअनुसार यी सात राज्यमध्ये मिसिगन र विस्कन्सिनमा मात्र ह्यारिस अगाडि छिन् । अन्य पाँचमा ट्रम्प अगाडि देखिएका छन् । तर उनको अग्रता मत कुन उम्मेदवारलाई दिने भन्ने निर्णयमा पुग्न बाँकी पाँच प्रतिशत मतदाताभन्दा निकै कम छ । एट्लस इन्टेल सर्वेक्षणले भने मिसिगनबाहेक ६ राज्यमा ट्रम्प अगाडि रहेको जनाएको छ । त्यसैले दुवै उम्मेदवार ‘ब्याटलग्राउन्ड स्टेट’ को चुनावी अभियानमा केन्द्रित छन् । दुवै उम्मेदवारले यी राज्यमा प्रचार तीव्र पारेका छन् । ‘ब्याटलग्राउन्ड स्टेट’ मा ट्रम्पले भन्दा ह्यारिसले विज्ञापनका लागि बढी खर्च गरेकी छन् ।
अक्टोबर ७ सम्मको तथ्यांकअनुसार ह्यारिसले पेन्सिलभेनियामा १५ करोड ९० लाख, मिसिगनमा १२ करोड ६० लाख, जर्जियामा ७ करोड ३० लाख, विस्कन्सिनमा ७ करोड ५० लाख, एरिजोनामा ६ करोड २० लाख, नर्थ क्यारोलाइनमा ५ करोड ५० लाख र नेभादामा ४ करोड ४० लाख अमेरिकी डलर विज्ञापनका लागि खर्च गरेको बीबीसीले जनाएको छ ।
ट्रम्पले भने विज्ञापनका लागि पेन्सिलभेनियामा १२ करोड २० लाख, मिसिगनमा ७ करोड ८० लाख, जर्जियामा ७ करोड २० लाख, विस्कन्सिनमा ५ करोड ३० लाख, एरिजोनामा ४ करोड ९० लाख, नर्थ क्यारोलाइनमा ४ करोड ४० लाख र नेभादामा २ करोड २० लाख अमेरिकी डलर खर्च गरेका छन् ।
प्रतिकृया दिनुहोस