अमेरिकाकाे नयाँ राष्ट्रपति ट्रम्प कि ह्यारिस ? यस्ताे छ अहिलेसम्मकाे अवस्था
काठमाडौं । अमेरिकी राष्ट्रपति निर्वाचनको परिणाम आउने क्रम जारी छ । अन्तिम समयमा मतदाताहरूको निर्णायक रुझान एक वा अर्को पक्षमा जानेछ भनेर ट्रम्प वा ह्यारिस पक्षले राखेको अपेक्षा अहिलेसम्म हेर्दा पुरा नभएको जस्तो देखिन्छ।
हालसम्मको मत परिणामअनुसार रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प अगाडि देखिएका छन् । सीएनएनका अनुसार उनी अहिलेसम्म २४६ इलेक्टोरल मतसहित अगाडि देखिएका छन् ।
। त्यस्तै डेमोक्रेटिक पार्टीकी उम्मेदवार उपराष्ट्रपति कमला ह्यरिस १८२ इलेक्टोरल मतमा अगाडि छिन् । राष्ट्रपतिमा निर्वाचित हुन कुल ५३८ इलेक्टोरल मतमध्ये कम्तीमा २७० ल्याउनुपर्नेछ ।
इस्ट कोस्टका अधिकांश प्रतिस्पर्धात्मक हुने ठानिएका राज्यहरूमा मतदान सम्पन्न भएको छ र तीव्र गतिमा मतगणनाको काम अघि बढ्दैछ।
मतदानको अन्तिम परिणाम अझै पनि अनिश्चित छ तर अमेरिका अर्को एउटा कडा प्रतिस्पर्धा भएको निर्वाचनतर्फ अघि बढ्ने सम्भावना छ। तुलनात्मक रूपमा कमला ह्यारिस भन्दा डाेनाल्ड ट्रम्प अघि देखिएका छन् ।
डोनाल्ड ट्रम्पले दोस्रो ब्याटलग्राउन्ड स्टेट जर्जिया जितेका छन्। यससँगै यहाँको १६ इलेक्टोरल मत ट्रम्पको खल्तीमा परेको छ।
सन् २०१६ मा ट्रम्पले यो राज्यमा जितेका थिए। तर, २०२० मा उनी यहाँ हारेका थिए। यसपटक फेरि मतदाताले ट्रम्पलाई रोजेका छन्।
यससँगै ट्रम्पले जम्मा २४६ इलेक्टोरल मत जितेका छन्। २७० मतको लक्ष्य अझ उनको नजिक भएको छ।
कमला ह्यारिसको भने विकल्प साँघुरिँदै गएको छ।
जित्नै पर्ने अवस्था रहेको जोर्जा र नर्थ क्यारलाइनामा पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पले सन् २०२० को तुलनामा परम्परागत क्षेत्रहरूमा अझै राम्रो गरेको पाइएको छ। कमला ह्यारिसले सहरी र सहरबाहिरका काउन्टीहरूमा बाइडनले ल्याएको सङ्ख्यामा नै मत ल्याइरहेकी छन् तर अहिलेसम्म उनले उल्लेख्य सुधार हासिल गरेको देखिएको छैन्।
अहिलेको मतान्तरमा परिवर्तन हुनसक्ने भएपनि जोर्जा र नर्थ क्यारलाइनामा ट्रम्पको साँघुरो जितको अर्थ सबै जनाको नजर डेमोक्र्याटिकहरूको किल्ला रहेका द ग्रेट लेक्सको आसपासका राज्यहरूमा हुनेछ।
अहिलेको विन्दुमा विस्कन्सिन, मिशिगन र पेन्सिल्भेनिआ ह्यारिसका लागि ह्वाइट हाउसमा पुग्न सघाउन सक्ने सम्भवतः एउटै बाटो हुनसक्छ। र पेन्सिल्भेनिआको अन्तिम मत परिणाम कयौँ दिन नआउनसक्छ।
हामीले मत खसालेका मतदातामाझ गरिने सर्वेक्षण अर्थात् एक्जिट पोलबाट अर्को तथ्याङ्क पनि पाइरहेका छौँ जसले यो निर्वाचनमा महिला र पुरुषबीचको विभाजनलाई पनि देखाइरहेको छ।
बहुमत महिलाहरूले कमला ह्यारिसलाई समर्थन गरिरहेका देखिन्छ भने धेरै पुरुषहरूले डोनल्ड ट्रम्पलाई समर्थन गरिरहेका देखिएको छ। यो आश्चर्यजनक होइन।
तर सबैलाई छक्क पार्ने कुरा के हो भने, अहिलेसम्मको जानकारी अनुसार, ह्यारिसको पक्षमा ५४ प्रतिशत महिलाहरूले भोट खसालेका छन् जुन सन् २०२० मा जो बाइडनले प्राप्त गरेको ५७ प्रतिशत महिला समर्थन भन्दा कम हो।
महिला र पुरुषको राजनीतिक विचारधारामा इतिहासकै सबैभन्दा ठूलो मतभिन्नता रहेको भन्ने बहस अपरिपक्वजस्तो देखियो।
राष्ट्रपति निर्वाचित हुन कम्तिमा २७० इलेक्टोरल कलेज जित्नुपर्छ।
त्यस्तै ट्रम्प पक्षका ५० सिनेटर र ह्यारिसका ४१ सिनेटरले अग्रता लिइरहेको द न्युयोर्क टाइम्सले जनाएको छ।
अमेरिकाको ५० राज्यबाट २/२ जना सिनेटर निर्वाचित हुन्छन्।
हाउस अफ रिप्रिजेन्टेटिभमा पनि रिपब्लिकनले नै अग्रता लिइरहेका छन्। हाउस अफ रिप्रिजेन्टेटिभमा जनसंख्याको आधारमा प्रत्येक राज्यबाट सदस्य चुनिन्छन्। सबैभन्दा बढी जनसंख्या भएको क्यालिफोर्नियबाट ५४ जना सदस्य चुनिन्छन्।
न्यूयोर्क टाइम्सले हाउस अफ रेप्रेजेन्टेटिभतर्फ १८६ स्थानमा रिपब्लिकन अगाडि र १२० स्थानमा डेमोक्र्याटिक अगाडि रहेको उल्लेख गरेको छ।
के हो इलेक्टोरल कलेज? कसरी चुनिन्छ?
अमेरिकामा ५० वटा राज्य छन्। प्रत्येक ५० राज्यबाट दुई जना दरले सिनेटर चुनिन्छन्। तर हाउस अफ रिप्रेजेन्टेटिभमा जनसंख्याको आधारमा प्रत्येक राज्यले सदस्यहरू चुन्छन्। जस्तै, अहिले अमेरिकामा सबभन्दा धेरै जनसंख्या रहेको क्यालिफोर्नियाबाट हाउसमा ५२ जना सदस्य चुनिन्छन्। सानोमध्येको राज्य मेनबाट दुई जना मात्र चुनिन्छन्। यसरी सबै ५० राज्य र राजधानी डिसीबाट हाउसमा जम्मा ४३८ जना सदस्य निर्वाचित हुन्छन्।
१०० जना सिनेटर र यिनै ४३८ सदस्यको संख्या जोड्दा ५३८ हुन्छ। राष्ट्रपति निर्वाचित गर्ने कलेजको संख्या पनि यसकै आधारमा ५३८ हुन्छ। यसको ५० प्रतिशतभन्दा धेरै संख्या अर्थात् २७० संख्या जसले पुर्याउँछ, ऊ नै अमेरिकी राष्ट्रपति निर्वाचित हुन्छ।
अमेरिकामा प्रत्येक राज्यका मतदाताले राष्ट्रपतिका उम्मेदवारहरूलाई मत दिन पाउँछन्। अनि त्यो राज्यमा जसले धेरै मत ल्यायो, त्यही उम्मेदवारले सो राज्यमा जित हासिल गरेको मानिन्छ। त्यसपछि सो राज्यबाट इलेक्टोरल कलेजमा जाने सबै प्रतिनिधिहरू त्यही उम्मेदवारका पक्षधर चुनिन्छन्।
यसपालिको चुनावमा सात राज्यहरूमा ह्यारिस र ट्रम्पबीच मुख्य प्रतिस्पर्धा देखिएको छ; पेन्सिलभेनिया, विस्कनसिन, मिचिगन, जर्जिया, नर्थ क्यारोलिना, एरिजोना र नेभाडा। यी सबै राज्यहरूमा ह्यारिस र ट्रम्पबीच दुई प्रतिशतभन्दा तलको मात्र मतान्तर रहेको सर्वेक्षणहरूले देखाएका छन्।
यी राज्यमध्ये पेन्सिलभेनिया, विस्कनसिन र मिचिगन मात्रै जिते पनि ह्यारिसको पक्षमा २७० इलेक्टोरल मत पुग्ने अनुमान छ। ट्रम्पले यी तीनमध्ये कुनै एउटा राज्य जितेमा उनको सम्भावना बढ्नेछ र ह्यारिस राष्ट्रपति बन्न कठिन हुनेछ।
अहिले चुनिएको राष्ट्रपतिको पदबहाली भने आगामी वर्ष जनवरी २० मा हुनेछ।
प्रतिकृया दिनुहोस