‘प्रधानमन्त्रीलाई मार्नुपर्छ’ भन्ने युवालाई इन्टरपोल लगाएर नेपाल ल्याउने तयारी !
काठमाडौं । सामाजिक सञ्जाल तथा सार्वजनिक कार्यक्रमहरूमा प्रधानमन्त्री केपी ओलीविरूद्द भड्कावपूर्ण अभिव्यक्ति देखिन थालेपछि सरकारले सतर्कता बढाएकाे छ ।
कात्तिक १४ गते साँझ दशरथरंगशालामा साफ महिला च्याम्पियनसिपको फाइनल खेल हुँदा नेपाली खेलाडीलाई हौसला दिन प्रधानमन्त्री केपी शर्मा ओली पनि मैदानमा पुगेका थिए। त्यहीबेला ‘प्रधानमन्त्री ओलीको हत्या गर्ने राम्रो मौका’ भन्दै सामाजिक सञ्जालमा एक युवकले आह्वान गरिरहेको भिडियो सार्वजनिक भयो। उक्त भिडियो सार्वजनिक गर्ने ती युवक हुन्, २० वर्षीय भ्लगर रतन कार्की।
हाल विद्यार्थी भिसामा जापानको टोकियोमा रहेका उनी त्यहीँ नै बसेर उच्छृंखल भिडियोमार्फत कन्टेन्ट दिइरहन्छन्।
उनले यसअघि पनि यस्तै भड्कावपूर्ण अभिव्यक्ति दिएका थिए । माओवादी अध्यक्ष प्रचण्ड चितवन गएका बेला त्यही मार्न खोजेको, कसैले ४ गोली दिएमा ४ जना नेतालाई सल्टाउने जस्ता अभिव्यक्ति दिएर उनले यसअघि भिडियो बनाएका थिए ।
त्यस भिडियोमा ‘गेम त तपाईंहरूले हेरिरहनुभएको छ नै तर मैले अर्कै कुरा हेरिरहेको छु के ! आज हामीले मार्न सकिन्छ के ! चाहेम् भने’ भन्दै उनले प्रधानमन्त्री ओलीलाई मार्ने आशयको भड्कावपूर्ण अभिव्यक्ति दिएका छन्। ‘बाहिर यत्रो मान्छे छम्, सबै जना मिलेर एउटा ग्रुप बनाएर घेरेर फ्याट्टै मार्यो भने मारेको मार्यै हुन्छ साथीहरू,’रतनले भिडियोमा भनेका छन्, ‘आँटम् त आज, आज आटिहालम्। अब धेरै टाइम पनि छैन। बुढो गइहाल्छ। मतलब उता जान पनि टाइम छैन, उता जान पनि। बुझ्नु न। आज गरिहालम्।’
यस्तो हिंसात्मक अभिव्यक्ति दिएको उनको भिडियो धेरैले हेरेका छन्। उनको यो भिडियोलाई त्यस दिनदेखि नै नेपाल प्रहरीले ‘नोटिस’ माराखेर अनुसन्धान थालेको थियो। यसक्रममा नेपाल प्रहरीको साइबर ब्युरोले त्यो दिन सामाजिक सञ्जालमार्फत अराजक र भड्कावपूर्ण अभिव्यक्ति दिनेमाथि लेखाजोखा लिन थालेको थियो। सोही क्रममा रतन पनि नोटिसमा आएको ब्युरो स्रोत बताउँछ। ‘त्यस्ता धेरै व्यक्तिबारे नोटिसमा लिएर अनुसन्धान भइरहेको छ।
त्यही दिन रंगशालामा प्रधानमन्त्रीविरुद्ध नाराबाजी नै भएको थियो। त्यसबारे प्रहरी पहिल्यै जानकार थियो। सोहीअनुसार ठाउँठाउँमा सादा पोसाकमा प्रहरी परिचालन गरिएको प्रहरी स्रोत बताउँछ। सोहीअनुसार त्यस दिन नाराबाजी गर्ने व्यक्तिहरूको भिडियो लिएर उनीहरूको पहिचान गरिसकिएको प्रहरी स्रोत बताउँछ। त्यसरी नाराबाजी गर्नेमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समर्थक भेटिए प्रहरीकाे भनाइ छ।
यो विषयमा पनि प्रहरीको साइबर ब्युरो र जिल्ला प्रहरी परिसर काठमाडौंले छुट्टाछुट्टै अनुसन्धान गरिरहेका छन्। प्रहरीले अराजकता फैलाउने र भड्काव गर्नेहरूलाई पक्राउ गरेरै कानुनी कारबाहीको दायरामा ल्याउने तयारी गरेको छ। प्रहरीले प्रधानमन्त्री विरूद्द रंगशालामा नाराबाजी गर्नेहरूबारे पनि अनुसन्धान गरिरहेकाे बताएकाे छ ।
प्रतिकृया दिनुहोस