मानव तस्करीमा संलग्न भएकाे आरोप लागेपछि एमालेका मन्त्रीले दिएका थिए राजीनामा
विराटनगर । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीले बुधबार पदबाट राजीनामा दिए ।
पत्रकार सम्मेलनमा उनले आफूलाई ‘मानव तस्करको गिरोहले उपयोग गर्न खोजेको तर थाहा पाएपछि विमानस्थलबाटै फर्केको’ गम्भीर अभिव्यक्ति दिए। ‘तस्कर गिरोह’ ले आफूलाई थाहै नदिइ केही व्यक्तिलाई मन्त्रीको सचिवालयका कर्मचारी बनाएर जापान छिराउन खोजेको जानकारी पनि उनले दिए।
यो घटनामा संलग्न रहेको अभियोगमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले ७ जनालाई पक्राउ गरिसकेको अधिकारीले बताए।
सोही मन्त्रालयका मन्त्री भने सरकारी प्रक्रिया नपुर्याइ सुटुक्क जापान पुगेको र मानव तस्करहरुलाई साथ दिएको अभियोग लागेर पदबाट राजीनामा दिन बाध्य भएका छन्।
अधिकारीका अनुसार उनलाई टोकियोमा हुने सांस्कृतिक कार्यक्रममा निम्त्याइएको थियो। उनले हङकङ पुगेपछि मात्रै गिरोहबारे थाहा पाएको दाबी गरेका छन्।
‘यहाँबाट म जापानको टोकियो महानगरपालिकामा आयोजित कार्यक्रमका लागि सिंगल गएको हुँ । त्यो कार्यक्रम भयो तर, म गइँन । म नगएको कारण भनेको हङ्कङमा ३ जना मान्छे भेटिए । ती मान्छेलाई हेर्दा उनीहरु उतै बस्ने र लुक्ने योजनामा गएको थाहा पाएँ । अब यो पाप गर्नुहुँदैन । बरु राजीनामा दिउँला । देशप्रति राष्ट्रप्रति गद्धारी गर्नु हुँदैन भनेर आयोजकसँग मैले मलाई फिर्ता गरिदिनुहोस् भनेँ । ट्रान्जिटबाट फिर्ता हुन मिल्दैन रहेछ । उनीहरु मेरै कार्यक्रममा गएका रहेछन् मिलाएर दुईवटा खोटाङको र एउटा रसुवाको रहेछ । त्यसपछि तिनीहरुसहित म फर्किएँ । उनीहरु अहिले हनुमान ढोका प्रहरीको नियन्त्रणमा छन्,’ पत्रकार सम्मेलनमा अधिकारीले भने ।
‘जनक राई, दावा शेर्पा, कन्चन देवकोटा नामका तीन जनालाई मन्त्रीसँगै जापान छिराउन लागिएको खुलेको छ। आफूलाई जापान लैजाने समूहबारे भने अधिकारीले केही पनि खुलाएनन्।
अधिकारीले तस्करहरूले नाम देखाएर अरूलाई पनि लैजान खोजेको थाहा पाएपछि फर्किएकाे र जान खाेज्नेहरू जान नपाएकाे दावी गरे ।
उनले थपे ‘नक्कली कागजात बनाएर मानव तस्करले तीन जनालाई हङकङबाट जापान उडाउन खोजेका थिए। हङकङ एयरपोर्टमा पुगेपछि मात्रै मैले यो कुरा थाहा पाएँ,’ उनले भने। उनी कात्तिक १३ मा जापानका लागि उडेका थिए भने कात्तिक १७ मा फर्किएका थिए।
मोरङको क्षेत्र नम्बर २ को प्रदेश सभा क्षेत्र नम्बर २ बाट दोस्रो पटक प्रदेश सभामा निर्वाचित एमालेका अधिकारी पहिलो कार्यकालमा पनि सुनकाण्डका तस्करको पक्षमा वकालत गरेको भन्दै विवादमा परेका थिए।
मोरङका स्थापित कानुन व्यवसायी अधिकारीले त्यसबेला सनम शाक्य हत्या प्रकरणमा गोरे टिममा रहेका भनिएका प्रहरी अधिकारीहरुको तर्फबाट अदालतमा बहस गरेका थिए।
सोही विवादका कारण एमालेका तत्कालीन संसदीय दलका नेता शेरधन राईले उनलाई स्पष्टीकरण सोध्दै वर्ष दिनभन्दा लामो समय प्रदेश सभामा बोल्ने मौका नै दिएका थिएनन्।
आफूमाथि प्रश्न उठेपछि नैतिकताका आधारमा राजीनामा दिएको उल्लेख गर्दै अधिकारीले बताए । प्रहरी स्रोतले दिएको जानकारीअनुसार मन्त्री अधिकारीसँगै गएका अरू तीन जना र उनलाई जापानी प्रशासनले विमानस्थलबाटै डिपोर्ट गरेको थियो।
प्रतिकृया दिनुहोस