प्रसारणलाइनको काम चाँडो सक्न मैदानमा उत्रन्छन् कुलमान 

काठमाडौँ । मर्स्याङ्दी करिडोर २२० केभी प्रसारणलाइन आयोजनाअन्तर्गत मनाङको नासोँ गाउँपालिका–१, धारापानीमा २२० केभी क्षमताको सबस्टेसन निर्माणाधीन छ। आयोजनाअन्तर्गतकै लमजुङको मर्स्याङ्दी गाउँपालिका–३, खुदीमा निर्माणाधीन २२० केभी क्षमताको सबस्टेसन निर्माण अन्तिम चरणमा पुगेको छ। 

धारापानी सबस्टेसन डेढ वर्षभित्र सम्पन्न गर्ने गरी काम भइरहेको छ। खुदी सबस्टेसन आगामी तीन महिनाभित्र निर्माण सम्पन्न गर्न अन्तिम चरणका कामहरू जारी छन्। धारापानी सबस्टेसन रहने ठाउँको जमिन सम्याउने तथा पावर ट्रान्सफर्मर राखिने स्थान, नियन्त्रण कक्षलगायतका सिभिल संरचनाहरूको निर्माण भइरहेको छ। 

धारापानी र खुदी सबस्टेसनमा क्रमशः २२०-१३२ केभी, १०० एमभीए तथा १३२-३३ केभी, ३० एमभीए र २२०-१३२ केभी, १६० एमभीए तथा १३२-३३ केभी, ५० एमभीए क्षमताका पावर ट्रान्सफर्मरहरू रहनेछन्। दुवै सबस्टेसनमा स्थानीय रूपमा विद्युत आपूर्तिको आवश्यक व्यवस्था गरिएको छ। निर्माण सम्पन्न भई सबस्टेसनबाट स्थानीय रूपमा विद्युत् आपूर्ति सुरु भएपछि लमजुङ र मनाङको विद्युत् आपूर्ति भरपर्दो र गुणस्तरीय हुनेछ। 

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले स्थलगत अनुगमन भ्रमणमार्फत सबस्टेसन तथा प्रसारणलाइन निर्माण प्रगति, बेहोरिएका समस्या, काम सम्पन्न हुने तालिकाबारे आयोजना व्यवस्थापन तथा निर्माण व्यवसायीसँग विस्तृत छलफल गरेका छन्। छलफलपछि उनले जनशक्ति थप गरी प्रसारणलाइन तथा सबस्टेसन तोकिएकै समयमा सम्पन्न गर्न निर्माणमा संलग्न सबैलाई आग्रह पनि गरेका छन्।

कार्यकारी निर्देशक घिसिङले धारापानी क्षेत्रका स्थानीय बासिन्दासँग पनि छलफल गरी सबस्टेसन तथा प्रसारणलाइन निर्माणमा आवश्यक सहयोग गर्न आग्रह गरेका छन्।

‘मर्स्याङ्दी करिडोर प्रसारणलाइनमा जोड्ने गरी सम्झौता गरिएका जलविद्युत् आयोजनाहरूको निर्माण सुरु भइसकेको छ, त्यसैले यो लाइन जतिसक्दो छिट्टो निर्माण सम्पन्न गर्नुपर्नेछ,’ घिसिङले भने, ‘समयतालिका र कामको गुणस्तरमा विशेष ध्यान दिएर निर्माणलाई तीव्रता दिनुपर्नेछ।’

‘भौगोलिक विकटतालाई चिर्दै मनाङमा राष्ट्रिय प्रसारणलाइनको विद्युत् त पुगेको छ तर भरपर्दो र गुणस्तरीय विद्युत् आपूर्तिको समस्या छ,’ उनले भने, ‘आपूर्तिका सुधारका लागि पनि जतिसक्दो छिटो प्रसारणलाइन तथा सबस्टेसन निर्माण सम्पन्न गर्नुपर्नेछ।’

सबस्टेसन निर्माणस्थल वरपरका स्थानीय बासिन्दाले राखेका जायज माग पूरा गर्न आयोजना सधैँ तयार रहेको र पर्यटकीयस्थल मनाङको विद्युत् आपूर्ति सुधारका लागि योजनाबद्धरूपमा काम अगाडि बढाइसकिएको जानकारी पनि उनले दिए। 

मर्स्याङ्दी र त्यसका सहायक नदीहरूबाट उत्पादन हुने विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाहका लागि मर्स्याङ्दी करिडोर २२० केभी प्रसारणलाइन आयोजना सुरु गरिएको हो। प्रसारणलाइनबाट करिब एक हजार ६ सय मेगावाट विद्युत प्रवाह गर्न सकिनेछ। 

आयोजनाअन्तर्गत चितवनको भरतपुरदेखि मनाङको धारापानीसम्मको ११४ किलोमिटर डबल सर्किट प्रसारणलाइनलाई  तीन प्याकेजमा विभाजन गरी निर्माण अगाडि बढाइएको छ।

पहिलो प्याकेजअन्तर्गत उदीपुरबाट तनहुँको मार्कीचोक हुँदै नयाँ भरतपुर सबस्टेसनसम्मको करिब ६८ किलोमिटर प्रसारणलाइन निर्माणाधीन छ। यसखण्डमा पर्ने १९९ वटा टावरमध्ये १२५ वटाको जग हालिएको छ। ६५ वटा टावर खडा गरिएको छ। बाँकी स्थानमा काम भइरहेको छ। 

दोस्रो प्याकेजअन्तर्गत लमजुङको उदीपुर र चितवनको भरतपुरमा २२० केभीका सबस्टेसन निर्माण सम्पन्न भइसकेका छन्। 

तेस्रो प्याकेजअन्तर्गत धारापानी–खुदी–उदीपुर ४६ किलोमिटर प्रसारणलाइन र धारापानी तथा खुदी सबस्टेसन निर्माणाधीन छन्।

खुदी–उदीपुर करिब १६ किलोमिटर प्रसारणलाइन खण्डमा १७ वटा टावरको जग हालिएको छ। ८ वटा खडा गरिएको छ। यस खण्डअन्तर्गत बेसींसहर नगरपालिका–८का केही स्थानीय बासिन्दाले प्रसारणलाइनको मार्ग परिवर्तन गर्नु पर्ने र यदि लाइन नसार्ने भएमा मार्गधिकारमा पर्ने जग्गाको शतप्रतिशत क्षतिपूर्ति दिनु पर्ने माग राख्दै विगत दुई वर्षदेखि निर्माणमा अवरोध गर्दै आएका छन्। उक्त स्थानमा १२ वटा टावर निर्माण गर्नु पर्ने छ। टावर निर्माणका लागि जग्गा अधिग्रहणका लागि मुआब्जा रकम निर्धारण भई करिब ८० प्रतिशत जग्गाधनीले रकम बुझिसकेका छन्। 

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले लमजुङका प्रमुख जिल्ला अधिकारी बुद्ध हादुर गुरुङलाई भेटी खुदी–उदीपुर खण्डमा देखिएको समस्या समाधानका लागि आवश्यक सहयोग र सहजीकरण गरिदिन अनुरोध गरे।

‘दुई वर्षदेखि निर्माणमा अवरोध छ, हाम्रोतर्फबाट स्थानीयका जायज माग पूरा गर्ने प्रतिबद्धता पटक–पटक जनाउँदै सोही बमोजिम काम पनि गरिरहेका छौं, यस्तो महत्वपूर्ण प्रसारणलाइन निर्माण अब रोक्न सकिँदैन। यसका लागि आवश्यक सहयोग सहजीकरण गरिदिनुपर्यो’, उनले प्रमुख जिल्ला अधिकारीलाई भने।

निर्माणमा देखिएको अवरोध हटाउन स्थानीय प्रशासनका तर्फबाट सहजीकरण तथा समन्वय भइरहेको उल्लेख गर्दै प्रमुख जिल्ला अधिकारी गुरुङले राष्ट्रिय प्राथमिकता प्राप्त प्रसारणलाइन निर्माणमा आवश्यक सहयोग गरिने बताए।

खुदी–धारापानी खण्ड प्रसारणलाइन निर्माणका लागि अधिग्रहण गरिने निजी जग्गाको मूल्याङ्कनको प्रक्रियामा छ। यस खण्डमा भौगोलिक रुपमा विकट र चुनौतीपूर्ण स्थानमा प्रसारणलाइन निर्माण गर्नुपर्ने छ।  

नेपाल सरकार तथा प्राधिकरणको लगानी र युरोपेली लगानी बैंक (ईआईबी)को सहुलितपूर्ण ऋणमा निर्माणाधीन आयोजनाको समग्र अनुमानित लागत करिब १६ अर्ब रुपैयाँ छ। 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर