निरौला र पाण्डेय सर्वाेच्चको न्यायाधीशमा सुनुवाइ समितिबाट अनुमोदित
काठमाडाैं । सर्वाेच्च अदालतको प्रस्तावित न्यायाधीशमा नृपध्वज निरौला र नित्यानन्द पाण्डेयको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएको छ ।
न्याय परिषद्ले उनीहरूको नाम सिफारिस गरेपछि शुक्रबार संसदीय समितिमा सुनुवाइ भएको थियो ।
समितिले दुवैको नाम सर्वसम्मत अनुमाेदन गरेको हो । दुवै जना न्यायाधीश उच्च अदालतकाे न्यायाधीशबाट सर्वाेच्चको न्यायाधीश बन्न लागेका हुन् ।
सांसदहरूले आएका उजुरी र विभिन्न विषयमा प्रश्न सोधेका थिए भने निरौला र पाण्डेले जबाफ दिए। समितिमा पाण्डेविरूद्ध कुनै उजुरी परेको थिएन।
उजुरीमाथि जबाफ दिएका निरौलाले आफू मुख्य रजिस्ट्रार भएका बेला न्यून बेरूजु भएकोले पुरस्कार पाएको र सर्वोच्च अदालतको भवन निर्माणको ठेक्का प्रक्रिया सम्बन्धमा आफू संलग्न नरहेको बताए।
आफू मुख्यन्यायाधीशमा नियुक्त भएको दुई महिनापछि सर्वोच्चको भवन निर्माणको प्रक्रियाबारे निर्णय भएकोले यसमा संलग्न नरहेको उनको भनाइ छ।
निरौलाविरुद्ध सर्वोच्च अदालतको भवन निर्माण प्रक्रियामा कमिसन लिएको, सर्वोच्च अदालतका लागि गाडी खरिद तथा भक्तपुर जिल्ला अदालतको भवन निर्माणमा अनियमितता गरेको उजुरी परेको थियो।
न्याय परिषद्को असोज ११ को बैठकले उच्च अदालत पाटनका मुख्य न्यायाधीश निरौला र उच्च अदालत दाङ तुलसीपुर इजलासका मुख्य न्यायाधीश पाण्डेयलाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको थियो ।
दुवै न्यायाधीशले स्वतन्त्र, निष्पक्ष, छरितो र गुणस्तरीय न्यायसम्पादन नै न्यायाधीशको मुख्य कार्यभार एवं दायित्व हुने र सोहीअनुसार आफूले काम गर्ने प्रतिबद्धता जनाएका छन् ।
प्रतिकृया दिनुहोस