भैरहवाबाट सातामा २४ अन्तर्राष्ट्रिय उडान हुँदै
बुटवल । भैरहवास्थित गौतमबुद्ध विमानस्थलमा उद्घाटनको साढे दुई वर्षपछि बल्ल गुल्जार बनेको छ । शनिबार एकै दिन तीन वायुसेवा कम्पनी कुवेतको जजिरा एयरवेज, युएईको फ्लाई दुबई र नेपाल वायुसेवा निगमले भैरहवामा उडान भरेका हुन् ।
यसअघि थाई एयर एसियाले १८ कात्तिकदेखि नै बैंकक–भैरहवा–बैंकक सातामा दुईवटा उडान थालेको थियो । त्यस्तै, कतार एयरवेजले २७ कात्तिकदेखि दोहा–भैरहवा–काठमाडौं–दोहा दैनिक एक उडानको तयारी गरेको छ ।
कतारले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)मा पेस गरिसके पनि काठमाडौंमा अवतरण गर्ने समय नमिलेर तालिका स्वीकृत हुन नसकेको क्यानका सहप्रवक्ता ज्ञानेन्द्र भुलले जानकारी दिए । सातामा तीन उडान भर्ने जजिराले भैरहवामा सिधा उडान सुरु गरेको छ । नेवानिले काठमाडौं–भैरहवा–दुबई तथा फ्लाई दुबईले दुबई–भैरहवा–काठमाडौं–दुबई उडान सुरु गरेको क्यानले जनाएको छ ।
शनिबार बिहान जजिराको जहाज फुल अकुपेन्सी यात्रु बोकेर भैरहवा अवतरण गरेको थियो । भैरहवा विमानस्थल उद्घाटनको दिन २ जेठ ०७९ देखि केही महिना उडान गरेर बन्द गरेको जजिराले पुनः उडान थालेको हो । जजिराको नोभेम्बरभरि फुल अकुपेन्सी रहेको एक प्रतिनिधिले बताए ।
दिउँसो २ बजेतिर अवतरण गरेको फ्लाई दुबईको जहाजबाट १० जना यात्रु भैरहवा ओर्लिए भने काठमाडौंमा ओर्लिने यात्रु डेढ सय थिए । नेवानिले राति काठमाडौंबाट भैरहवा हुँदै दुबईका लागि उडान गरेको छ । काठमाडौंबाट उडेको निगमको जहाज राति १०ः२० भैरहवामा अवतरण गरी ११ः२४ मा दुबईका लागि उडान गर्ने तालिका छ ।
क्षमता विस्तारका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा (राति १० बजेदेखि बिहान ८ बजेसम्म) बन्द हुने भएपछि अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरू भैरहवा उडान गर्न तयार भएका हुन् । यसअघि त्रिभुवन विमानस्थलमा दैनिक २१ घण्टा उडान हुने गरेकोमा २३ कात्तिकदेखि १४ घण्टामा सीमित भएको छ । जसले गर्दा अन्तर्राष्ट्रिय उडान ३० प्रतिशत र आन्तरिक उडान ३५ प्रतिशत कटौती भएका छन् ।
बौद्धमार्गी देश थाइल्यान्ड र बुद्धको जन्मस्थल लुम्बिनी सीधा उडानबाट जोडिएको छ । लुम्बिनी आउने बौद्धिस्ट पर्यटकलाई उसले ल्याउनेछ ।
खाडी मुलुकका यात्रु बोक्ने हुनाले भैरहवामा जजिराको भविष्य पनि राम्रो रहेको तिवारीको भनाइ छ । पश्चिम नेपालबाट खाडी मुलुकमा काम गर्न जाने धेरै छन् । जजिराले भैरहवा विमानस्थल उद्घाटन गरेकै दिनदेखि सातामा तीन दिन उडान गरेकोमा केही महिनामै रोकेको थियो ।
भैरहवा र पोखरामा अन्तर्राष्ट्रिय उडान आकर्षित गर्न ल्यान्डिङ, पार्किङ, नेभिगेसन, ग्राउन्ड ह्यान्डलिङ (५० प्रतिशत छुट), यात्रुसेवा शुल्क, हवाई टिकटमा भ्याट छुट, हवाई इन्धनमा सहुलियतलगायत विशेष सहुलियत उपलब्ध गराइएको छ ।
प्रतिकृया दिनुहोस