विश्वकप छनोट: अर्जेन्टिनाको जित, बराबरीमा राेकियाे ब्राजिल
काठमाडाैं । फिफा विश्वकप २०२६ अन्तर्गत दक्षिण अमेरिकी छनोट खेलमा अर्जेन्टिना विजयी भएको छ।
बुधबार सम्पन्न प्रतिस्पर्धामा अर्जेन्टिनाले पेरुलाई १-० गोलले हराएको हो।
लाउटारो मार्टिनेजले गरेको एक गोल नै अर्जेन्टिनाको जितका लागि निर्णायक बनेको हो।
खेलको ५५औँ मिनेटमा मार्टिनेजले कप्तान लियोनल मेसीको पासमा गोल गरेका थिए।
दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिना १२ खेलबाट २५ अंक बनाउँदै शीर्ष स्थानमा छ। पेरु भने ७ अंकसहित तालिकाको पुछार अर्थात् दसौँ स्थानमा छ।
उता ब्राजिलले घरेलु मैदानमा उरुग्वेलाई बराबरीमा रोकेको छ ।
यो नितजासँगै १२ खेलमा २० अंक जोडेर उरुग्वे दोस्रो स्थानमा छ । ब्राजिल समान खेलबाट १८ अंकका साथ पाँचौं स्थानमा छ ।
फोन्टे नोभा एरिनामा उग्वेका फेडेरिको भाल्भर्डे र ब्राजिलका गर्सनले गोल गरे । दुवै गोल दोस्रो हाफमा भएका थिए ।
खेलको ५५औं मिनेटमा भाल्भर्डेको गोलमार्फत उरुग्वेले अग्रता लिएको थियो । तर सात मिनेटपछि नै गर्सनले बराबरी गोल फर्काए ।
त्यसपछि थप गोल हुन नसक्दा दुवै टोली अंक बाँड्न बाध्य बने ।
छनोटका अन्य खेलमा इक्वेडरले कोलम्बियालाई १-० तथा चिलीले भेनेजुएलालाई ४-२ ले पराजित गरे । यसैगरी बोलिभिया र पाराग्वे २-२ को बराबरीमा रोकिए ।
प्रतिकृया दिनुहोस