माओवादीबाट गएका सांसद चौधरी एमालेबाट पनि निकालिए
काठमाडौं । नेकपा एमाले बाँके जिल्ला कमिटीले लुम्बिनी प्रदेशका सांसद दुर्गा चौधरीलाई पार्टी सदस्यबाट लिनम्बन गरेको छ । पार्टीलाई नोक्सानी पुर्याउने मनशाय राखेर गालीगलोज गर्ने, सामाजिक सञ्जालमा लेख्नेलगायत गतिविधि गरेको भन्दै चौधरीलाई निलम्बन गरिएको छ ।
मंगलबार एमाले बाँके जिल्ला अध्यक्ष निरक गुरुङले प्रदेश सांसद चौधरीलाई पार्टीबाट हटाएको पत्र पठाएका छन् । पत्रमा स्पष्टीकरण सोध्दा पार्टीविरुद्ध जवाफ दिएको भन्दै निलम्बन गरिएको उल्लेख छ ।
‘स्पष्टीकरणको जवाफ दिने सन्दर्भमा आफ्ना कमी कमजोरीप्रति महसुस गर्नुको साटो उल्टै पार्टी नेता, कार्यकर्ता र समग्र पार्टीका विरुद्धमा लिखित जवाफ दिनु भएको हुँदा तपाईंलाई पार्टी विधानको धारा ८१ (७) को अनुशासनको कारबाहीको व्यवस्थाअनुरूप पार्टी सदस्यताबाट निलम्बन गरिएको जानकारी गराउँदछु’, उनले प्रदेश कमिटी र पार्टी केन्द्रीय कार्यालयलाई बोधार्थ दिएर पठाएको पत्रमा उल्लेख छ ।
निलम्बनमा परेपछि उनले लेखेका छन्, 'सुनिर समुहको चुरिफुरी हेर्न लायक छ। संबिधान र कानुन भन्दा माथी रहेको राजा फाल्न ज्यानको आहुती दिन हिंडेको मान्छे हु। पदको भिक्षा माग्दैन र जनतासित गद्दारि गर्दैन। समय आयपछी ईट्टाको जवाफ पत्थरले दिनेछु र राज्यमा आवाज नपुग्ने समुदायको आवाज सदैव बोलिरहने छु। मीन बहादुर गुरुङ जस्तासित फ्रीमा दान लिएर जीवन चलाउदैन। जतिदिन बाँच्छु आफ्नै पौरखमा।'
चौधरी बाँके क्षेत्र नम्बर १ (ख) बाट मा लुम्बिनी प्रदेशसभा सदस्यमा निर्वाचित सांसद हुन् । चौधरी पूर्वमन्त्री समेत हुन् ।लिला गिरी मुख्यमन्त्री हुँदा चौधरी मन्त्री थिए ।
माओवादीबाट एमालेमा आएका चौधरी यसअघि प्रदेश कमिटी उपसचिव थिए । तर गत वर्ष सम्पन्न प्रदेश अधिवेशनमा उनी उपसचिव पदमा पराजित भए ।
उपसचिव पराजित भएपछि पूर्व माओवादीहरू एमाले भित्र पेलानमा परेकाे भन्दै उनले अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलको चर्को आलोचना गर्दै आएका थिए ।
प्रतिकृया दिनुहोस