यी हुन् सिन्धुपाल्चोकमा सामूहिक बलात्कारपछि हत्याको आरोप लागेका ५ जना

काठमाडौं । सिन्धुपाल्चोकमा ११ वर्षीय बालिकाको बलात्कारपछि हत्या गरेको अवस्थामा भेटिएको घटनामा संलग्न भएको भन्दै प्रहरीले पाँच जनालाई सार्वजनिक गरेको छ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले शुक्रवार पत्रकार सम्मेलन गरेर पाँच जना आरोपीहरू सार्वजनिक गरेको हो।

पक्राउ पर्नेमा भोटेकोसी गाउँपालिका–५ मार्मिङ घर भएका २१ वर्षीय निमा तेन्जिङ तामाङ, २२ वर्षीय वाङनिमा तामाङ, ३२ वर्षीय नामग्याल शेर्पा, २० वर्षीय दावा तामाङ र २२ वर्षीय लाक्पा पासाङ तामाङ छन् ।

गत बुधवार(असार ११ गते) सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका–५ कोलगाउँमा ११ वर्षीया निशा तामाङ मृत अवस्थामा भेटिएकी थिइन। उनको शव घरबाट करिब चार सय मिटर पर जङ्गलमा भेटिएको थियो। 

निशाको बलात्कारपछि हत्या भएको प्रारम्भिक आशङ्का थियो। उनको शव त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा पोस्टमार्टम गरिएको थियो। अहिले बलात्कारपछि हत्या पुष्टि भएको प्रहरीले जनाएको छ।

निशाको हत्या शव भेटिएको अघिल्लो दिन असार १० गते भएको सिन्धुपाल्चोकका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) रामेश्वर कार्कीले बताए। 

आरोपी पाँचै जनाले मदिरा सेवन गरेर पालैपालो बलात्कारपछि हत्या गरेर जङ्गलमा फालेर भागेको प्रहरी अनुसन्धानले देखाएको छ। 

पक्राउ परेका आरोपीहरू विरुद्ध सिन्धुपाल्चोक जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर अनुसन्धान थालिएको एसपी कार्कीले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर