• २०८१ पौष १२ शुक्रबार
  • Friday, 27 December, 2024

च्याम्पियन्स लिगको 'वादशाह' रियल मड्रिडलाई लिभरपुलले हरायो, पेनाल्टीमा चुके एम्बाप्पे

काठमाडौं । युरोपेली च्याम्पियन्स लिगमा लिभरपुलले बुधबार राति डिफेन्डिङ च्याम्पियन रियल म्याड्रिडलाई २–० ले हराएको छ । यससँगै प्रतियोगितामा आफ्नो शतप्रतिशत प्रदर्शन कायम राख्यो । इंग्लिस प्रिमियर लिग क्लबका लागि एलेक्स म्याक एलिस्टर र कोडी गाक्पोले गोल गरे । लिभरपुलको पाँच खेलबाट १५ अंक भएको शीर्ष स्थानमा छ ।

एलिस्टरले ५२ औं मिनेटमा पहिलो गोल गरे भने गाक्पोले ७६ औं मिनेटमा दोस्रो गोल थपे । एनफिल्डमा भएको खेलमा रियलका लागि केयलिन एमबापे पेनाल्टीमा चुके । यस्तै लिभरपुलका लागि मोहमद सलाहले पनि पेनाल्टीबाट गोल गर्न सकेनन् । लिभरपुलको नयाँ प्रशिक्षकका रूपमा आर्ने स्लट आएयता १९ खेलमा यो १७ औं जित हो ।

यस जितसँगै रियलविरुद्ध लिभरपुलले पछिल्ला आठ खेलका जितहीन यात्रा टुंग्याएको छ । लिभरपुललाई घरेलु प्रिमियर लिगको शीर्षमा पनि आठ अंकको अग्रता प्राप्त छ । डिफेन्डिङ च्याम्पियन रियलको पाँच खेलमा यो तेस्रो हार हो र यससँगै उसको नकआउट चरण यात्रा अब गाह्रो हुने भएको छ ।

कार्लो एन्सेलोटीको रियल अंक तालिकाको २४ औं स्थानमा छ । अन्तिम १६ मा अंक तालिकाको शीर्ष आठमा रहनेले मात्र सिधा प्रवेश पाउनेछन् । अन्य खेलमा बोरुसिया डर्टमुन्डले डायनामो जागरेभलाई ३–० ले हरायो र अंक तालिकाको चौथो स्थानमा उक्लिन सफल रह्यो । डर्टमुन्डको १२ अंक भएको छ ।

यस्तै बेनफिकाले मोनाकोलाई ३–२, लिलले बोलोग्नालाई २–१, पीएसभी आयनहोभनले साख्तर डोनेस्कलाई ३–२, एफके क्राभेनाले स्टुटगार्टलाई ५–१ तथा स्ट्रम ग्राजले जिरोनालाई १–० ले हरायो । एस्टन भिल्ला र युभेन्ट्सले ०–० तथा सेल्टिक र क्लब ब्रुगले १–१ को बराबरी खेले ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर