• २०८१ पौष १२ शुक्रबार
  • Friday, 27 December, 2024

काठमाडाैं महानगरले थाल्याे सानो गौचरन स्टेडियम पुननिर्माण  

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सानो गौचरन स्टेडियम पुननिर्माण थालनी गरेको छ । उपप्रमुख सुनिता डंगोलले शिलान्यास गरेर आजबाट पुनःनिर्माणको काम थालनी गरिन । 

२२ करोड ९५ लाख ९३ हजार ९९९ लागत अनुमान गरिएको काम गर्न आव्हान गरिएको बोलपत्रबाट १८ करोड ८६ लाख ७४ हजार ८२७ रुपैयाँ कबोल गरेर शुभ कन्स्ट्रक्सनले पुनःनिर्माणको जिम्मेवारी पाएको छ । 

स्टेडियम पुनःनिर्माणको शिलान्यास गर्दै महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले, महानगरपालिकाले खेल पूर्वाधारमा लगानी बढाएको बताइन । 

‘सन्तुलित विकासका लागि भौतिक निर्माणसँगै आर्थिक र सामाजिक विकास सँगै लैजानुपर्छ । यस क्रममा खेलकुदलाई विकासको आयामसँगै अगाडि लैजाने कार्यक्रमअन्तर्गत स्टेडियम पुनःनिर्माण गर्न लागेका हौँ ।’ विद्यालय स्तरबाट खेलाडी उत्पादनका लागि कार्यक्रम सञ्चालन भइरहेको बताउँदै उनले, यो प्रयासबाट राष्ट्रिय पहिचान दिन सक्ने खेलाडी प्राप्त हुने अपेक्षा राखिन । 

स्टेडियमको ड्रइङ्, डिजाइन र लागत अनुमान सहरी योजना आयोगले तयार पारेको हो । यसलाई सार्वजनिक निर्माण विभागले कार्यान्वयनमा ल्याएको हो । 

स्टेडियममा ९६×६२ मिटरको खेल मैदान हुनेछ । मैदानमा आकाशे पानी निकास प्रणालीसहितको कृतिम घाँस राखिनेछ । वरिपरि सिमा पर्खाल हुनेछ । यसमा २८ वटा चार पाङ्ग्रे र १७८ वटा २ पाङ्ग्रे सवारी साधन अट्ने क्षमताको पार्किङ् हुनेछ । 

स्टेडियमको भुइँ तलामा महिलाका लागि २३ वटा र पुरुषका लागि १६ वटा शौचालय हुनेछन् । पहिलो तलामा ७ वटा महिलाका लागि र ५ वटा पुरुषका लागि शौचालय हुनेछन् । 

स्टेडियममा एउटा फिजियोथेरापी कक्ष, ३ वटा पुरुषका लागि ३ वटा महिलाका लागि गरेर ६ वटा कपडा फेर्ने कोठा, एउटा प्राथमिक उपचार कक्ष र २ वटा टिम लकर हुनेछन् । 

निर्माण कार्यको सार्वजनिक खरिदका लागि २०८१ वैशाख ३ गते सार्वजनिक सूचना जारी भएको थियो । छनोट भएको निर्माण पक्षलाई कार्तिक २५ गते कार्यादेश दिइएको छ । यो काम २०८२ चैत मसान्तभित्र सम्पन्न गरिसक्नुपर्नेछ ।  

रङ्गशाला १८ रोपनी १ आना २ पैसा ३ दान (९२११.५ वर्गमिटर) क्षेत्रफलमा निर्माण हुनेछ । यसमा दर्शक क्षमता १ हजार ५ सय जनाको हुनेछ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर