• २०८१ पौष १२ शुक्रबार
  • Friday, 27 December, 2024

रवि लामिछानेसँग आजदेखि काठमाडौंमा बयान

काठमाडौं । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दाको कसुरमा अनुसन्धानका लागि कास्की प्रहरीको हिरासतमा रहेका रास्वपाका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसँग काठमाडाैंमा बयान सुरू हुँदैछ । 

काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी बचत सहकारीको रकम अपचलनका विषयमा बयान लिन उनलाई जहाजमार्फत काठमाडौं ल्याइएको हो ।

स्वर्णलक्ष्मी सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर अपचलन गरेको सम्बन्धमा जाहेरी परेपछि काठमाडौं प्रहरी परिसरले लामिछानेविरुद्ध मंसिर २ मा पक्राउ पुर्जी जारी गरेको थियो । उनलाई अहिले काठमाडौं प्रहरी परिसरको हिरासतमा राखिएको छ । उनीसँग जिल्ला सरकारी वकिल कार्यालयमा शुक्रबारदेखि बयान लिने तयारी छ ।

कास्कीमा जस्तै काठमाडौंमा पनि लामिछानेविरुद्ध सहकारी ठगी, संगठित अपराध, सम्पत्ति शुद्धीकरणमा अनुसन्धान भइरहेको छ । काठमाडौंमा बयान सकिएपछि लामिछानेलाई कास्की नै फिर्ता गरिनेछ ।

गोर्खा मिडियाका पूर्वप्रबन्ध निर्देशक लामिछाने पोखराको सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा गत कात्तिक २ मा पोखरामा पक्राउ परेका छन् । कास्की जिल्ला अदालतले आइतबार पाँचौपल्ट म्याद थप्दै १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो । 

सूर्यदर्शन सहकारीसँग सम्बन्धित बयान भने सकिएको प्रहरीका एक अधिकारीले बताए । बुटवलको सुप्रिम सहकारीको बचत अपचलनमा पनि जोडिएका लामिछानेलाई यसअघि रूपन्देही जिल्ला सरकारी वकिल कार्यालयमा पुर्‍याएर बयान लिइएको थियो ।

लामिछाने लगायतविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी भएको छ । साहारा चितवन सहकारीको रकम ठगीको अनुसन्धानमा विरुद्ध पक्राउ पुर्जी जारी भए पनि लामिछानेलाई चितवन लैजाने वा नलैजानेबारे निर्णय भइसकेको छैन ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर