वैद्यले नेतृत्वको पार्टीको महाधिवेशन: नयाँ जनवादी क्रान्तिको कार्यदिशा प्रस्तुत
काठमाडौँ । मोहन वैद्यले नेतृत्व गरेको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल (क्राकपाने)को एकता महाधिवेशनमा आधा दर्जन बढी प्रतिवेदन पेस भएका छन् ।
क्राकपानेको महाधिवेशनका संयोजक वैद्यले शुक्रबार राजनीति प्रतिवेदन पेस गर्दै ‘नयाँ जनवादी क्रान्ति’ मूल र आधारभूत रुपमा ‘समाजवादी’ बाटो अघि सारेका छन् ।
वैद्यको नेतृत्वमा २०६९ असारमा माओवादी अलग भई अर्को पार्टी गठन गरेका थिए । पुष्पकमल दाहालको नेतृत्वले शान्ति प्रक्रियामा सम्झौता गरेको, नयाँ जनवादी क्रान्तिको बाटो छोडेर सम्झौता गरेको भन्दै वैद्य पक्षले माओवादी विभाजन गरेको थियो ।
क्राकपानेका नेता हिरामणि दुःखीका अनुसार वैद्यले ‘सर्वहारा वर्गको अभिनायकत्व’ मा आधारित जनवादी क्रान्तिबाट समाजवाद स्थापना हुने उल्लेख गरेका छन् । वैद्यको प्रतिवेदनमा मुलुकको विद्यमान राजनीतिक प्रणाली खारेज गरी जनवादी क्रान्तिको बाटोमा अघि जानुपर्ने उल्लेख गरेका छन् । उनले क्रान्तिको बाटोबाट मात्र समाजवाद स्थापना हुने तर्क गर्दै आवश्यक परे बल प्रयोगको नीति लिएका छन् ।
कीर्तिपुरमा जारी क्राकनेको बन्दशत्रमा वैद्यले राजनीतिक, नीति तथा कार्यक्रम र सामरिक प्रस्ताव पेस गरेका छन् भने सीपी गजुरेलले अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको इतिहास, हेमन्तप्रकाश ओलीले नेपाली कम्युनिस्ट आन्दोलन, रामसिंह श्रीसले सांगठनिक, सन्तबहादुर नेपालीले जलवायुसम्बन्धी, परि थापाले धर्म संस्कृति, पवनमान श्रेष्ठले जातीय, सीताराम तामाङले आर्थिक र केबी गुरुङले उत्पादनसम्बन्धी प्रतिवेदन पेस गरेका छन् ।
शनिबारदेखि यी प्रतिवेदनमाथि छलफल सुरु हुने तय भएको छ । महाधिवेशनले पार्टीको नयाँ कार्यदिशासहित नेतृत्वसहित केन्द्रीय समिति चयन गर्ने छ । महाधिवेशनमा साढे ६ सय प्रतिनिधि सहभागी छन् ।
प्रतिकृया दिनुहोस