करोडौं सहकारी ठगी गर्ने एमालेका मर्स्याङ्दी गाउँकार्यपालिका सदस्य बगाले पक्राउ

पाेखरा । सहकारी ठगी कसुरमा लमजुङ प्रहरीले नेकपा एमालेका मर्स्याङ्दीगाउँ कार्यपालिका सदस्य मधुमाया बगालेलाई पक्राउ गरेको छ । प्रहरीले उनलाई सम्पत्ति शुद्धीकरणको समेत मुद्दा अघि बढाउने भएको छ ।

उनीमाथि ङादी सेवा केन्द्रको हिमालयन बैंक लिमिटेडको बैंक खाताबाट रकम निकासा गर्न किर्ते दस्तखत गरेको र कर्जा हिनामिना गरेको आरोपमा अनुसन्धान भइरहेको छ ।

जनकल्याण सहकारीको ११ करोड २२ लाख ८१ हजार ८ सय ४४ रुपैयाँ ९४ पैसा हिनामिना गर्न मुख्य भूमिका खेलेको सहकारी रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश कार्यालय पोखराको अनुसन्धान प्रतिवेदनको निष्कर्ष रहेको प्रहरी बताउँछ । जनकल्याण स्रोतका अनुसार बगालेले ऋण लिएको रकम साढे २ करोडदेखि ३ करोड रुपैयाँ हाराहारीमा रहेको देखिएको छ ।

मर्स्याङ्दी गाउँपालिका-७, सेग्ले घर भएकी बगाले नेकपा एमाले मर्स्याङ्दी गाउँपालिका-९ का पार्टी अध्यक्ष समेत हुन् । सहकारी रजिस्ट्रार कार्यालयको जाहेरीको आधारमा बगालेलाई प्रहरी निरीक्षक राजकिशोर साह तेली नेतृत्वको टोलीले सोमबार दिउँसो आफ्नै घर नजिकैबाट पक्राउ गरिएको लमजुङ प्रहरी प्रमुख डीएसपी निशान्त श्रीवास्तवले बताए ।

डीएसपी श्रीवास्तवका अनुसार बगालेलाई ६ दिन हिरासतमै राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । उनविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दासमेत अघि बढाइने उनले बताए ।

सहकारीको ङादी सेवा केन्द्रको रकम हिनामिना भएको उजुरी परेपछि सहकारी रजिस्ट्रार कार्यलयको वित्तीय विश्लेषक निर्मल गौतम नेतृत्वको विज्ञ टोलीले अनुसन्धान गरेको थियो । अनुसन्धान प्रतिवेदनको आधारमा बगालेलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । आवश्यक अनुसन्धानको लागि जनकल्याण सहकारीले पत्र काटेको थियो । अनुसन्धानपछि सहकारी रजिस्ट्रारको कार्यालयले प्रतिवेदनसहित कागजात प्रहरीलाई पठाएको थियो ।

डीएसपी श्रीवास्तवका अनुसार कार्यालयको प्रतिवेदनको आधारमा आइतबारमात्रै सेवा केन्द्र प्रमुख बीरेन्द्र गुरुङलाई सहकारीको सेवा केन्द्रबाटै पक्राउ गरिएको थियो । त्यसपछि सोमबार बगालेलाई पक्राउ गरिएको उनले बताए । गुरुङलाई ७ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालनले अनुमति दिएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर