पर्सामा रवि लामिछानेले दिए तीन घण्टा बयान 

पर्सा । जिल्ला सरकारी वकिल कार्यालय पर्सामा सहकारीको रकम अपचलन आरोपमा अनुसन्धानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले आज (मंगलबार) करिब तीन घण्टा बयान दिएका छन ।

मंगलबार बिहान साढे १० बजेबाट सुरु भएको उनको बयान अपराह्न डेढ बजे मात्र सकिएको सरकारी वकिल कार्यालयका न्यायाधिवक्ता माधव निरौलाले जानकारी दिए ।

सरकारी वकिल कार्यालयमा बयान दिएपछि आवश्यक पर्ने कुराहरू आएको छ, आजको लागि उनको बयान सकिएकाले अब उनी पुनः बयानका लागि यहाँ नआउने अवस्था रहेको उनले जानकारी दिए । बयान सकिएपछि उनी जिल्ला प्रहरीको हिरासत पुगेका छन् ।

उनी हिजो सोमबारदेखि पर्सा प्रहरीको हिरासतमा छन् । गत १९ मंसिरमा उनीविरुद्ध जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि बयानका पर्सा प्रहरीको हिरासतमा ल्याइएको हो । उनलाई कास्की प्रहरीको हिरासतबाट काठमाडौं हुँदै बाराको सिमरा विमानस्थल ल्याइएको थियो ।

सिमराबाट स्थलमार्ग हुँदै पर्सा प्रहरीको हिरासत लगिएको हो । लामिछाने पर्सामा आउनुपूर्व रास्वपाका नेता–कार्यकर्ताले प्रदर्शन गरिरहेका छन । वीरगञ्जस्थित सानो पाइला सहकारीको रकम गोर्खा मिडियामा गएको देखिएपछि लामिछानेलाई पर्सामा पनि प्रहरीले अनुसन्धान गर्न लागेको हो ।

पर्सा प्रहरीका अनुसार लामिछानेसहित १४ जनालाई पक्राउ गर्न बुधबार जिल्ला अदालत, पर्साले पक्राउ अनुमति दिएको हो । गत २ कात्तिकमा पक्राउ परेका लामिछानेको हाल कास्कीमा पनि बयान भइरहेको छ । पर्सामा गितेन्द्रबाबु राई, छविलाल जोशीलगायतविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ ।

पर्साका प्रहरी प्रमुख एसपी कुमोध ढुंगेलले अदालतबाट पक्राउ पुर्जी जारी भएपछि अनुसन्धानका लागि पर्सा ल्याएको बताए । सानो पाइला सहकारीको रकम हिनामिनामा एक चरणमा अनुसन्धान गरी प्रहरीले गत वर्ष नै मुद्दा दायर गरिसकेको छ । संसदीय विशेष छानबिन समितिको प्रतिवेदनका आधारमा थप अनुसन्धान हुन लागेको हो ।

जीबी राई समूहले सञ्चालन गरेका पाँच सहकारीबाट करोडौँ रकम गोर्खा मिडियामा गएको थियो । लामिछाने गोर्खा मिडियाको सञ्चालक तथा प्रबन्ध–निर्देशक हुँदा उनले खर्च गरेका थिए ।

सोही आधारमा उनी अनुसन्धानमा तानिएका हुन् । सहकारीको रकम अपचलनमा संलग्न नभए पनि गोर्खा मिडियाको सञ्चालक भएकै आधारमा पक्राउ गरेर अनेक मुद्दा चलाउन लागिएको भन्दै रास्वपाले राजनीतिक प्रतिशोधको आरोप लगाउँदै आएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर