पत्नी सहकारी ठगीमा जोडिएका एमालेका समिति सभापतिले राजीनामा दिनुपर्छ– माओवादी
विराटनगर । नेकपा माओवादी केन्द्र कोशी संसदीय दलले संघीय संसद्को सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले राजीनामा दिनु पर्ने बताएको छ ।
मोरङको धनपालथान गाउँपालिका, कर्सियाको उमागौरी सहकारी संस्था ठगी प्रकरणलाई निष्पक्ष अनुसन्धान आवश्यक रहेको भन्दै त्यसका लागि पोखरेलले राजीनामा दिनु पर्ने उनीहरूकाे तर्क छ ।
संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले बिहीबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै सहकारी ठगीमा संघीय संसद्को सार्वजनिक लेखा समितिको सभापति पोखरेल पत्नी प्रत्यक्ष संलग्न रहेको र उनी सत्तामा भएकै कारण ठगी छानबिन प्रभावित हुन पुगेको दाबी आङ्बोको छ ।
उनले भने,‘निष्पक्ष अनुसन्धानका लागि पोखरेलको राजीनामा गर्नुको विकल्प छैन ।’
सरकारलाई वित्तीय अनुशासनमा राख्ने निकायको प्रमुखकै पत्नी सहकारी ठगीमा मुछिएको विषय सामान्य नभएको दाबी गर्दै आङ्बोले थपे,‘यो गम्भीर विषय हो । पोखरेलले तत्काल राजीनामा दिएर अनुसन्धानका लागि सघाउनुपर्छ ।’
उमागौरी सहकारी प्रकरणमा पोखरेल पत्नी अञ्जलासहित २६ जनालाई प्रतिवादी बनाएर मंगलबार मोरङ जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ ।
अञ्जलासहित २५ जना फरार छन् । अन्जलालाई प्रहरीकै मिलेमतोमा भगाइएको आरोप समेत लगाइएको छ । सहकारी ठगीमा संलग्नता देखिएमा झुण्डिन तयार रहेको अभिव्यक्ति दिएका पोखरेले पत्नीलाई पक्राउ पुर्जी जारी भएपछि भने मौन छन् ।
प्रतिकृया दिनुहोस