बामदेव तेस्रो मर्यादामा समाजवादीमा आउन सक्ने
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले एमालेका पूर्वउपाध्यक्ष समेत रहेका कम्युनिस्ट नेता वामदेव गौतम, भीम रावल र नेता प्रेमबहादुर सिंहलाई पार्टीमा भित्र्याउने पहलसँगै पार्टीभित्र आउनसक्ने सम्भावित नेताहरूको व्यवस्थापनको पनि चर्चा हुन थालेको छ ।
खासगरी व्यवस्थापनबारे गौतमको चर्चा बढी भइरहेको छ । गौतम पार्टीमा आए सम्मानित नेता वा वरिष्ठ नेतामध्ये कुनै एक पद दिन सकिने एकीकृत समाजवादीका नेताहरूको आन्तरिक बुझाइ छ । तर वैचारिक–सैद्धान्तिक कुरा मिल्न जरुरी रहेको उनीहरूको तर्क छ ।
हाल एकीकृत समाजवादीमा सम्मानित नेताको हैसियतमा पूर्वप्रधानमन्त्री समेत रहेका झलनाथ खनाल छन् । वरिष्ठ नेता तीन जना छन् । डा.बेदुराम भुसाल, प्रमेश हमाल र घनेन्द्र बस्नेत वरिष्ठ नेताको हैसियतमा छन् । भुसाल, हमाल र बस्नेत एमालेसँग विद्रोह गर्दा अध्यक्ष नेपाललाई भरपुर साथ दिनेमध्येका हुन् ।
पुस २ गते मंगलबार सम्पन्न एकीकृत समाजवादीको स्थायी कमिटी बैठकले गौतमलगायतका नेताहरूलाई पार्टीमा भित्र्याउन संवाद थाल्ने औपचारिक निर्णय गरेको थियो ।
‘केही पार्टीका शीर्ष नेताहरू हाम्रो पार्टीमा आउन संवाद चलिरहेको छ । कमरेड वामदेवसँग छलफल भइरहेको छ । उहाँ सकारात्मक पनि हुनुहुन्छ,’ स्थायी कमिटी बैठकपछि उपाध्यक्ष जगन्नाथ खतिवडाले सञ्चारकर्मीमाझ भनेका थिए, ‘तर, पार्टीको औपचारिक प्रक्रिया पूरा गर्न हामी संवाद अगाडि बढ्ने ठाउँमा आइपुगेका छौँ ।’
यो निर्णयसँगै गौतमसँग पार्टी अध्यक्ष माधवकुमार नेपालले बिहीबार भेट गरी संवाद गरेका छनत् । दुई नेताबिचको भेटमा गौतम एकीकृत समाजवादीमा आउन सकारात्मक रहेको नेता बलराम बास्कोटाले बताए ।
अध्यक्ष नेपालले पार्टीमा गौतमलाई भित्र्याउँदा कुन पद दिने भन्नेबारे प्रस्ट खुलाएका छैनन् । तर अनौपचारिक ढंगले नेताहरूसँग कुराकानी हुँदा सम्मानित र वरिष्ठ नेतामध्ये एक पदमा गौतमलाई व्यवस्थापन गर्न सकिने सङ्केत उनले गरेका छन् ।
‘सचिवालयभित्रै रहनेगरी सम्मानित वा वरिष्ठ नेता दिन सकिन्छ भन्ने अध्यक्षको सङ्केत छ । तर यसबारे पार्टी कमिटीमा औपचारिक छलफल भएको छैन’, एकीकृत समाजवादीका एक पदाधिकारीले भने, ‘सम्मानित पदमा दुई जना नेता राख्दा झलनाथ खनालजीको आपत्ति पनि हुनसक्छ । त्यसैले उहाँलाई खनालपछिको वरीयतामा रहनेगरी वरिष्ठ नेता दिन सकिन्छ ।’ हाल खनालपछिको वरीयता (तेस्रो)मा डा. बेदुराम भुसाल छन् ।
दुई नेताबिचको संवादमा गौतम पार्टीमा आउन तयार भए पदीय व्यवस्थापन ठुलो कुरा नभएको सम्मानित नेता खनालको भनाइ छ । यद्यपि उनले गौतमको व्यवस्थापनको सन्दर्भ आफैँमा पार्टीभित्र छलफलको विषय भएको बताए ।
नेता खनालले क्रान्तिकारी पार्टी बन्ने शर्तमा आफू सम्मानित नेताको पद छोड्न परे तयार रहेकोसमेत बताए । ‘क्रान्तिकारी पार्टी बन्छ भने सम्मानित नेताको पद छाड्न तयार छु । तर पार्टी क्रान्तिकारी कार्यदिशा अनुसार चल्नुपर्छ मलाई कुनै पद चाहिँदैन’, खनालको भनाइ छ ।
खनालले नेकपा एकीकृत समाजवादीले पारित गरेको कार्यदिशामा सहमत हुँदै एकतावद्ध भएर जाने र पार्टी बनाउँछु भनेमा गौतमलाई पार्टीमा स्वागत गर्न सकिने बताए । उनले वैचारिक–सैद्धान्तिक कुरा मिलेपछि मात्र व्यवस्थापनको कुरा आउने प्रस्ट पारे ।
‘व्यवस्थापनको कुरामा छलफल गरेर अघि बढ्न सकिन्छ । तर होइन, म त धेरै नै अग्लो मान्छु हुँ, त्यसैले अग्लो ठाउँ नै चाहिन्छ भनेर पनि हँुदैन’, खनालले भने, ‘मान्छे कोही होचा हुन्छन्, कोही पुड्का हुन्छन् । होचा मान्छेले पनि जुनसुकै ठाउँमा बसेर काम गर्न सक्नुपर्छ ।’
नेता खनालले क्रान्तिकारी पार्टी बन्ने शर्तमा आफू सम्मानित नेताको पद छोड्न परे तयार रहेकोसमेत बताए । ‘क्रान्तिकारी पार्टी बन्छ भने सम्मानित नेताको पद छाड्न तयार छु । तर पार्टी क्रान्तिकारी कार्यदिशा अनुसार चल्नुपर्छ मलाई कुनै पद चाहिँदैन’, खनालको भनाइ छ ।
खनालले पदका निम्तिमात्र मानिसको भेला गर्न नहुने पनि बताए ।
प्रतिकृया दिनुहोस