• २०८१ पौष ६ शनिबार
  • Saturday, 21 December, 2024

एनपीएल फाइनल आजः सुदुरपश्चिम र जनकपुर कसले जित्ला उपाधि ?

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधिका लागि शनिबार सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स भिड्दैछन्।

एनपीएलको पहिलो संस्करणको उपाधि उचाल्ने लक्ष्यसहित सुदूरपश्चिम र जनकपुर मैदानमा उत्रिँदैछन्। ​खेल कीर्तिपुरस्थित क्रिकेट मैदानमा मध्याह्न सवा १२ बजे शुरु हुनेछ। 

उपाधि भिडन्तअगाडि सुदूरपश्चिम र जनकपुरबीच दुईपटक प्रतिस्पर्धा भएको थियो। दुवै खेलको नतिजा सुदूरपश्चिमको पक्षमा रह्यो। 

सुदूरपश्चिमले जनकपुरलाई लिगमा ७३ रन र पहिलो क्वालिफायरमा ८ विकेटको फराकिलो अन्तरले हराएको थियो। तेस्रोपल्ट यी दुई टोली शनिवार आमनेसामने हुँदै छन्।

सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले यसअघिका नतिजा हेरेर नखेल्ने र सजिलो प्रतिद्वन्द्वीका रूपमा नलिने स्पष्ट पारे। साथै उनले जनकपुर पनि बलियो रहेको र राम्रो योजना बनाएर खेल्ने बताए।

जनकपुरका कप्तान आसिफ शेखले फाइनलमा बदला लिनेभन्दा पनि आफूसँग भएको उत्कृष्ट प्रदर्शन दिने विश्वास व्यक्त गरे। उनले पछिल्ला खेलमा राम्रो ब्याटिङ गर्न नसके पनि फाइनलमा राम्रो खेल्ने आशा व्यक्त गरे। 

पहिलो संस्करणको एनपिएल विजेताले आकर्षक ट्रफी सहित नगद रु १ करोड १० लाख पाउँने छन् । पराजित भएर उपविजेतामा सिमित रहने टोलीले नगद रु ५१ लाख प्राप्त गर्नेछ । तेस्रो भएको कर्णाली याक्सले नगद रु २५ लाख तथा चौथो भएको चितवन राइनोजले नगद रु १५ लाख प्राप्त गर्नेछन् ।

एनपिएलको उपाधी कुन टिमले जित्ला भन्ने साथै आम समर्थकमा कुन नेपाली खेलाडी कार जित्ला भन्ने पनि रहेको छ । कार पाउने दौडमा सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरी, जनकपुर बोल्ट्सका बलर ललितनाराण राजवंशी तथा लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेल रहेका छन् ।

दुई दिनअगाडि नै सबै टिकट बिक्री भइसकेकाले फाइनलमा दर्शकको उपस्थिति बाक्लो हुने भएको छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर