रवि भन्छन्ः सहकारीको पैसा खाएको छैन, छवि भन्छन् रविलाई थाहा छ
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले गोर्खा मिडियाबाट प्रयोग भएका चेकहरू दुरुपयोग भएको दाबी गरेका छन् ।
रास्वपा सभापति रवि लामिछानेले आफूलाई थाहा दिए कर्तुत बाहिरिने डरले गैरकानूनी तरिकाले हिसाब मिलान गरेको बयान दिएका छन् । उनले जिल्ला सरकारी वकिल कार्यालय कास्की समक्ष कर्तुत बाहिरिने डरले गोप्य रुपमा गैरकानूनी तरिकाले हिसाब मिलान गरेको वयानमा बताएका हुन् ।
रविसहितका व्यक्तिहरूविरुद्ध आइतबार कास्की जिल्ला अदालतमा सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरणको कसुरमा मुद्दा दर्ता भएको छ । तर, रविले आफूमाथि लागेको आरोपको इन्कारी बयान दिएका छन् ।
‘मलाई जानकारी भएको खण्डमा यिनीहरूको कर्तुत बाहिर आउने डर समेत राखी योजनाबद्ध र गोप्य रूपमा गैरकानूनी तरिकाले हिसाब मिलान गरी अर्को वर्षलाई समेत गरिएको रहेछ’, उनले बयानका क्रममा भनेका छन् ।
उनले गैरकानूनी ढंगबाट ऋण लिइएको जानकारी आफूलाई नभएको बताएका छन् । आफू गोर्खा मिडियामा हुँदासम्म कम्पनी नलिएको लामिछानेले दाबी गरे । ‘बैंक तथा वित्तीय संस्थाबाट ऋण लिने कुनै कार्य म कम्पनीमा रहँदासम्म भए गरेको छैन सहकारीको रकम अपचलन गर्नमा मेरो कुनै किसिमको मिलेमतो संलग्नता छैन’, उनले भनेका छन् ।
रविले सहकारीको एक रुपैयाँ रकम पनि आफू नखाएको बताएका छन् । संसदीय छानबिन समितिको प्रतिवेदनमा संलग्नता नरहेको पुष्टि भएको उनले बताए । उनले भने, ‘सहकारीको रकम मेरो पेटमा एक रुपैयाँ पनि परेको छैन । सहकारीको रकम अपचलन गर्नमा मेरो संलग्नता नभएको कुरा संसदीय छानबिन विशेष समितिले पेश गरेको प्रतिवेदनमा समेत स्पष्ट रूपमा उजागर भई सकेको अवस्था छ ।’
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित ३१ जनाविरुद्ध तीन वटा कसुरमा मुद्दा दायर भएको छ ।लामिछानेलाई सूर्यदर्शन सहकारी ठगीमा ३ करोड ३७ लाख ६५ हजार रुपैयाँ बिगो कायम गरिएको छ । सम्पत्ति शुद्धीकरणको कसुरमा झण्डै २८ करोड बिगो कायम गरिएको छ । उक्त बिगो भराउन र उनीहरूलाई कैद सजाय गर्न पनि माग गरिएको छ । जिल्ला सरकारी वकिल कार्यालयले आइतबार दायर गरेको अभियोग पत्रमा लामिछानेविरुद्ध व्यक्तिगत र सामूहिक गरी उक्त बिगो भराउन माग गरिएको हो ।
यसैबीच नेपाल प्रहरीका पूर्व डीआईजी छविलाल बन्जाडे जोशीले अन्य प्रतिवादीहरूलाई समेत पोलेर बयान दिएका छन्।
अभियोग पत्र साथ अदालतमा पेश गरिएको बयानमा उनले सहकारीको रकम गोर्खा मिडियामा लगेर अपचलन गरिएको विषयमा जीबी भन्ने गितेन्द्र बाबु राई र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेकै योजना भएको बताएका छन्।
सहकारीबाट रकम ल्याउँदा पनि उनीसहित तीन जनाले नै केवाईसी फारम भरेको र सम्पूर्ण कारोबार रवि र जीबीलाई थाहा हुने बताएका छन्।
यस्तो छ छविको कयान
म २०७७ सालमा नेचर हर्बस इन्टरनेसनल प्रालिमा १० प्रतिशत सेयर लिई डाइरेक्टर रहेकोमा सो सेयर गितेन्द्र बाबु राई मार्फत रामबहादुर खनाललाई हस्तान्तरण गरेँ।
कूल ५ करोड रुपैयाँको चुक्ता पुँजी राखी म र गितेन्द्र बाबु राईको ५०/५० प्रतिशत सेयर लगानी देखाई गोर्खा मिडिया नेटवर्क प्रालिको सेयरहोल्डर र सञ्चालक सदस्यको रुपमा करिब १ वर्ष पछि अलग भएको हुँ।
गितेन्द्र बाबु राई, रवि लामिछाने र मैले आवश्यक कागजातहरू पेश गरी केवाईसी समेत भरेर हामी तीनजना मध्ये कुनै एकको हस्ताक्षरबाट खाता सञ्चालन हुनेगरी ग्लोबल आईएमई बैंकमा ००४०१०१००००५७७ नम्बरको खाता खोल्यौँ।
खाताबाट भएको सम्पूर्ण कारोबारको सम्बन्धमा जानकारी गितेन्द्र बाबु राई र रवि लामिछानेलाई थाहा होला।
टीभी सञ्चालनमा आएपछि आवश्यक रकम जुटाउने, सामान तथा कर्मचारी र पत्रकारहरूको छनौट, नियुक्ती, तलबको मापन लगायतको सम्पूर्ण कार्य निजहरूबाटै भएको हो।
सूर्यदर्शन लगायत कुनै पनि सहकारी संस्थाहरूबाट गोर्खा मिडियाको खातामा जम्मा भएको रकम खर्च गर्ने कार्य रवि लामिछानेसँग सम्बन्धित हुन्थ्यो र निजकै हस्ताक्षरबाट चेक काटिन्थ्यो।
गोर्खा मिडिया नेटवर्क प्रालिको खातामा सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट मिति २०७७।१२।०३ देखि मिति २०७८।१०।०६ गतेसम्म जम्मा ५ करोड ५८ लाख ९ हजार २७१ रुपैयाँ ७६ पैसा आएको भन्ने कुरा अहिले थाहा पाएको हुँ। को कसले के कसरी रकम ल्याए मलाई थाहा भएन।
नेचर हर्वस इन्टरनेसनल प्राईभेट लिमिटेडले मेरो पत्नी पद्मा बन्जाडे जोशीको नाममा रहेको घर आर्थिक वर्ष २०७६/०७७ बाट मासिक निश्चित रकम लिने गरी सम्झौता बमोजिम भाडामा लिएको हो।
राम बहादुर खनाल प्रहरी कर्मचारी रहेको कारण निजसँग म प्रहरी सेवामा रहँदाको क्रममा चिनजान परिचय भएको बाहेक अन्य केही छैन। म नेचर हर्ब्स इन्टरनेसनल प्राइभेट लिमिटेडको सेयर सदस्य भएपछि सोही कम्पनीको प्रतिनिधित्व गरी नेपाल डाइरेट सेलिङ एसोसियसनको अध्यक्ष भए बापत मासिक रुपमा लिने रकम तथा तथा बा २३ च ३१३१ नम्बरको पजेरो स्पोर्ट गाडी छोरा रोचक जोशीको नाउँमा ९५ लाख ८५ हजार ६१४ रुपैयाँ आन्तरिक लेखा परीक्षक मिलाउन देखाएको र उक्त रकममा लाग्ने १३ प्रतिशत भ्याट सहित जोडेर एक करोड ८ लाख ३१ हजार ७४३ रुपैयाँमा मिति २०७९।१२।१७ गते सो गाडी खरिद गरेको हुँ।
प्रतिकृया दिनुहोस