• २०८१ पौष ८ सोमबार
  • Monday, 23 December, 2024

आजको मौसमः घट्यो काठमाडौंको तापक्रम, बढ्यो जाडो

काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। साथै आज साँझबाट सुदूरपश्चिम तथा कर्णाली प्रदेशमा पश्चिमी न्यून चापिय प्रणालीको प्रभाव विकसित हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

यतिबेला (सोमबार बिहान) कोसी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागको मौसम आंशिक बदली छ भने देशका बाँकी भूभागमा मौसम मुख्यतया सफा छ। साथै तराई लगायत पहाडी भूभागका केही स्थानमा हुस्सु र कुहिरो लागिरहेको मौसम पूर्वानुमान महाशाखाले सोमबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ। 

आज सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानमा हल्का वर्षाको संभावना छ। साथै कोसी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थान तथा सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्का हिमपातको संभावना रहेको छ। 

आज बिहानको समयमा तराई तथा उपत्यका क्षेत्रका केही स्थानमा हुस्सु रकुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, स्वास्थ्य, कृषि, यातायात तथा हवाई उड्डयनमा क्षणिक र आंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले जनाएको छ।

काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम केही दिनयता लगातार घटिरहेको छ। 

यस क्रममा आज (सोमबार) बिहान ५:४५ बजेको मापनमा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ४.३ डिग्री सेल्सियस देखिएको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानांगले जानकारी दिए। 

आइतबार उपत्यकाको न्यूनतम तापक्रम ४.५ डिग्री सेल्सियस थियो। त्यसो त आजको आधिकारिक न्यूनतम तापक्रम अहिले बिहान ८:४५ बजे मापन हुन्छ, त्यसबेला थप घट्ने सम्भावना हुन्छ। 

मौसमविद् प्रधानांगका अनुसार आज काठमाडौँ उपत्यकाको मौसम मुख्यतया सफा रहने सम्भावना छ। यसको अर्थ दिउँसो घाम लाग्नेछ। 

न्यूनतम तापक्रम घटेसँगै काठमाडौँ उपत्यकामा आज बिहान चिसो बढेको महसुस भएको छ। 

यही पुस ३ गते काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियसमा उक्लिएको थियो। 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर